३ कार्तिक २०७८ बुधबार
सम्पादकीय

सिकाइमै समस्या

देशको भविष्य आजका विद्यार्थीको सिकाइमा निर्भर गर्छ। आफ्नो उमेरअनुसार सिकाइ उपलब्धि हासिल भए मात्र तिनले अपेक्षित परिणाम दिन सक्छन्। शिक्षामा देश र अविभावकले गरेको लगानी बालबालिकाको सिकाइमा देखिएन भने त्यो ‘बालुवामा पानी’ हुन जान्छ। कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गर्दा यसमा निकै ठूलो अन्तर देखिएको छ। यो उपलब्धि निकै चिन्ताजनक देखिएको छ। खासगरी अंग्रेजी, विज्ञान, गणितजस्ता विषयमा तिनको कमजोर सिकाइले मुलुकको भविष्यमै नकारात्मक प्रभाव पार्छ। यसले एकसाथ मुलुक, अभिभावक र सम्बन्धित बालबालिका सबैमाथि नकारात्मक प्रभाव पर्छ। आफूले सानो कक्षामा राम्ररी सिक्न नपाएको वा नसकेको गुनासो बालबालिकाले पछि गएर गर्ने ठाउँ रहन्छ।

विशेषगरी सरकारी भनेर चिनिएका सार्वजनिक विद्यालय भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले निजी क्षेत्रका विद्यालयभन्दा बढ्ता सम्पन्न छन्। तर, सिकाइ उपलब्धिलाई तुलना गर्ने हो भने सार्वजनिक विद्यालयका विद्यार्थी कमजोर अवस्थामा रहेका छन्। आफ्नो कक्षाअनुसार जे सिक्नुपर्छ भनेर पाठ्यक्रम तय गरिएको छ, त्यो तिनले हासिल गर्न सकेका छैनन्। यो स्थिति आउनुमा विशेषगरी सार्वजनिक विद्यालय सञ्चालनमा जिम्मेवार निकाय दोषी छन्। यस्ता विद्यालयलाई सरकारले पारिश्रमिकको व्यवस्था गरेको छ। सार्वजनिक स्कुलका भवन र पूर्वाधार पनि केही वर्षयता निकै सुधारिएका छन्। पालिका सरकारहरूले सार्वजनिक स्कुललाई नियमित रूपमा सहयोग उपलब्ध गराउँदै आएका छन्।  

यति हुँदाहुँदै पनि सार्वजनिक विद्यालयका विद्यार्थीको प्रगति नदेखिनु आफैँमा चिन्ताको विषय हो। सार्वजनिक स्कुल राजनीतिक रूपमा पनि बढ्ता प्रताडीत छन्। विभिन्न राजनीतिक दलसँगको आबद्धताका कारण शिक्षकले गुणस्तरका लागि गर्नुपर्ने मेहनतबाट उन्मुक्ति दिएको छ। स्कुलको अवस्था राम्रो भएर मात्र पुग्दैन, यसको ‘सफ्टवेयर’ भनेको सिकाइ उपलब्धिलाई अधिकतम बनाउन सक्ने क्षमता हो। अहिलेको जस्तो कमजोर अवस्थाबाट योग्य विद्यार्थी तयार पार्दै भविष्यका नागरिक तयार पार्न सकिँदैन। विद्यालयलाई राम्ररी व्यवस्थापन गरिएको छैन। सार्वजनिक विद्यालयको यो कमजोर प्रस्तुति मुलुकका निम्ति महँगो पर्ने निश्चित छ। राज्य ढुकुटीबाट बर्सेनि गरिएको खर्चको कुनै उपलब्धि देखिएको छैन। स्रोत, साधन र समयको यो दुरुपयोग चिन्ताको विषय हो।  

दुई वर्षदेखि शिक्षा क्षेत्र कोभिड– १९ का कारण बन्दाबन्दीको सिकार भएको छ। यो अवधिमा सुविधासम्पन्न स्थान र निजी क्षेत्रका स्कुलमा पढ्ने विद्यार्थीले अनलाइन शिक्षाका माध्यमबाट समेत आफूलाई दीक्षित तुल्याउँदै आएका छन्। देशका दूरदजार गाउँमा रहेका स्कुलका विद्यार्थीले अनलाइन शिक्षा लिन सक्ने अवस्था छैन। महँगो कम्प्युटर र राम्रो गतिको इन्टरनेटका साथै दक्ष शिक्षक पाउन नसक्ने सार्वजनिक विद्यालयका विद्यार्थीले अन्य सुविधासम्पन्न ठाउँ, स्कुल र आर्थिक रूपमा सबल परिवारका शिक्षार्थीसरह आफूलाई उभ्याउन सक्ने स्थिति छैन। कोरोनाकाल अघिसम्म भौतिक रूपमा उपस्थित भएर पढ्न पाउँदा सार्वजनिक विद्यालयका विद्यार्थीलाई समेत सहज अवस्था थियो। त्यो अवस्थामा पनि तिनले राम्ररी सिक्न पाएका थिएनन्। अब त झनै सुविधासम्पन्न र विपन्न विद्यार्थीबीचको खाडल गहिरो हुने निश्चित छ।  

टिच फर नेपाल नामक संस्थाले गाउँका स्कुलमा दुई वर्षका निम्ति शिक्षकको व्यवस्था गर्दा सिकाइको वातावरण फेरिएको देखिएको छ। त्यस आधारमा पनि शिक्षकलाई तालिम दिने र सिकाइ उपलब्धि बढाउनेतिर ध्यान दिनुपर्ने देखिन्छ।

सिकाइ उपलब्धिका हिसाबले एक दशकमा भएको प्रगति अत्यन्तै झिनो देखिन्छ। खासमा २०४६ सालअघिको शिक्षा र त्यसपछिको शिक्षाको स्तरमा समेत खासै परिवर्तन भएको देखिँदैन। गाउँमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको कमी छ। गाउँका स्कुलको यो अवस्था नबदलिएको वर्षौं भइसकेको छ। शिक्षा क्षेत्रमा सरकारी लगानी गरेको भए पनि उपलब्धि देखिएको छैन। विद्यालयमा योग्य शिक्षक ल्याउन सक्ने हो भने शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने सबैले बुझ्नुपर्ने हो। राम्रो शिक्षक हुँदा विद्यार्थीको सिकाइ उपलब्धि फरक हुन्छ भन्ने महसुस बेलाबेला गरिएका व्यवस्थापनबाट समेत पुष्टि भएको छ। टिच फर नेपाल नामक संस्थाले गाउँका स्कुलमा दुई वर्षका निम्ति शिक्षकको व्यवस्था गर्दा सिकाइको वातावरण फेरिएको देखिएको छ। त्यस आधारमा पनि शिक्षकलाई तालिम दिने र सिकाइ उपलब्धि बढाउनेतिर ध्यान दिनुपर्ने देखिन्छ।  

कोरोना विषाणु संक्रमण आउनुअघि स्कुलमा प्रत्यक्ष पठनपाठन भएका बेला शिक्षा मन्त्रालयकै शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी क्षेत्रका विद्यार्थी, प्रधानाध्यापक र शिक्षकमाथि गरेको अध्ययनका आधारमा कक्षा १० का आधाभन्दा बढी विद्यार्थीको सिकाइ निकै कमजोर पाइएको छ। उनीहरूले पाठ्यक्रममा भएका विषयको न्यूनतम सिकाइ समेत हासिल नगर्नु लाजमर्दो पक्ष हो। यसका निम्ति शिक्षा नीति कार्यान्वयनमा रहेका व्यक्तिहरूले जिम्मेवारीबोध गर्नु उचित हुन्छ। विज्ञान, अंग्रेजी, गणित र नेपालीमा क्रमशः १८, ३०, ३१ र ३९ प्रतिशतले मात्रै अपेक्षित सिकाइ हासिल गरेको पाइएको छ। विज्ञान विषयमा विद्यार्थी सबैभन्दा कमजोर पाइएको छ।  

यसको अर्थ हो– विज्ञान शिक्षामा पारंगत नहुँदा अध्ययन/अनुसन्धानमा आधारित भएर काम गर्ने प्रवृत्ति स्वाभाविक रूपमा कम हुन्छ। विज्ञानमा विश्वास भएको समाज स्थापित गर्न पनि यसको जग बलियो बनाउनुपर्छ। त्यसका लागि विद्यार्थीको सिकाइको वातावरण बदलिनुपर्छ। विद्यार्थीलाई यस्ता विषयमा कसरी रुचि जगाउने भन्ने हो। अध्ययन सुरुचिपूर्ण नबनाई विद्यार्थीलाई त्यसतर्फ आकर्षित गर्न सकिँदैन। अध्ययन सुरुचिपूर्ण बनाउन योग्य शिक्षक हुनु आवश्यक हुन्छ। तिनले मात्र विद्यालयको शैक्षिक वातावरण भिन्न बनाउन सक्छन्। स्कुलमा योग्य शिक्षक आकर्षित गर्न त्यहाँको वातावरण त्यही अनुसार फेरिनु उचित हुन्छ।  

२२ हजार विद्यार्थी, एक हजार आठ सय प्रधानाध्यापक र तीन हजार ६ सय शिक्षकमाथि गरिएको यो अनुसन्धानले हाम्रो कमजोर सिकाइ प्रणालीलाई उजागर गरेको छ। शिक्षाको यो दारुण तस्बिर परिवर्तन नगर्ने हो भने हाम्रा आगामी दिन सहज हुने छैनन्। देशले प्रगति गर्नका निम्ति अब्बल जनशक्ति आवश्यक हुन्छ। अन्यथा, हामी वर्षौंसम्म खाडी मुलुकका निम्ति अदक्ष कामदार पठाएर रेमिट्यान्समा निर्भर हुने मुलुकमै सीमित हुने निश्चित छ।

प्रकाशित: ८ भाद्र २०७८ ०९:५५ मंगलबार

Download Nagarik App
Download Nagarik App