मुलुकको पूर्वी भूभाग चिया खेतीका लागि ऊर्वर भूमि हो। यो क्षेत्रमा अर्गानिक चिया उत्पादन गर्न सके विदेशी मुलुकहरूमा निर्यात गरेर अर्बौँ डलर आम्दानी गर्न सकिने संभावना छ। उद्योगी/व्यवसायी र चिया मजदूरबीच सधैँ हुने झैझगडा र सरकारी योजना एवं अनुगमन अभावमा चिया निर्यातको संभावना त्यसै तुहिएर गएको छ। अर्बौँ अमेरिकी डलर बराबर चिया निर्यात गर्न सकिनेमा अहिले करोडमा सीमित हुन पुगेको छ। छिमेकी मुलुक भारतले हाम्रै जस्तो हावापानीमा उत्पादन गरेको चियालाई ब्रान्डिङ गरी संसारभर पुराएको छ। हामी भने सधैँ एक पक्षले अर्कोलाई दोष दिएर दिन गुजारिरहेका छौँ।
छिमेकी मुलुकले चिया निर्यातबाट अर्बौँ डलर आर्जन गरिहेका बेला यहाँ भने अनेकौँ विवाद आइरहेका छन्। किसानले हरियो चियापत्तीको मूल्य नपाएका कारण लगानी उठ्न नसकेको गुनासो गरिरहेका छन्। चिया उद्योगी हरियो पत्ती राम्रो नभएका कारण गुणस्तरीय चिया बनाउन नसकेको भन्दै किसानलाई मूल्य दिन नसकेको जवाफ फर्काउने गरेका छन्। सरकारी निकायले अनुगमन नगर्दा मर्कामा परेको दुवै पक्षको साझा गुनासो छ। एकले अर्काको टाउकामा ‘दोष’ थोपर्दा चियाबाट हुने आम्दानी चुकिरहेकामा भने कसैलाई वास्ता छैन।
विदेश निर्यातको संंभावना देखेरै हुन सक्छ, बेलाबेलामा सरकारी पक्षले चियाका समस्या समाधान गर्ने प्रयास पनि गर्दै आएको छ। सूर्याेदय नगरपालिकाले तीन वर्षअघि उद्योगी, किसान, चियासम्बद्ध सरकारी निकायका प्रतिनिधिलगायतको सहमतिमा हरियो चियाको न्यूनतम समर्थन मूल्य लागु गरेको थियो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डसमेतको सहकार्यमा अध्ययन गर्दा किसानले १ किलो हरियो पत्ती उत्पादन गर्न ३८ रूपैयाँ लगानी गर्नुपरेको देखिएपछि यसैका आधारमा २ रूपैयाँमात्रै आम्दानी राखेर न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रूपैयाँ तोकिएको थियो। यसअनुसार किसानले हरियो पत्तीको मूल्य प्रतिकिलो ४० रूपैयाँ पाउनुपर्ने हो। तर अहिले सूर्याेदय नगरकै धेरैजसो किसानले प्रतिकिलो २० देखि ३० रूपैयाँमात्र पाइरहेका छन्। केही उद्योगले कानुन मिचेर हरियो चियाको मूल्य आफैँ पनि तोक्ने विगतकै समस्या दोहोरिएको छ।
हरियो पत्तीको विवादमा उद्योगीलाई मात्र दोष दिन पनि मिल्दैन। किसानले पनि हरियो पत्तीमा मिसावट गर्ने आरोप लाग्दै आएको छ। सामान्यतया, चियाको गुणस्तरीय पत्ती २ पात र १ सुइरोको मात्र हुन्छ। तर सूर्योदय नगरपालिकाकै अनुगमनमा किसानले ८ वटा पात भएको चिया पत्ती पनि ल्याएको फेला परेको छ। खासगरी उच्च गुणस्तरको तयारी चिया उत्पादन हुने बेला हरियो पत्ती थोरै हुन्छ र मूल्यमा तल–माथि पनि गरिँदैन। तर, जब असार–साउनमा किसानको बगानमा धेरै पत्ती पलाउँछ, त्यतिबेला मूल्यको विवाद सुरु गर्ने परम्परा बनेको छ। चैत÷वैशाखदेखि सुरु हुने चियाको सिजनमा हुने विवाद असोज कात्तिकसम्म चल्छ।
त्यतिमात्र होइन, नगरपालिकले उद्योगी, किसान र हरियो पत्ती संकलकलगायतले गुणस्तरीय चिया उत्पादनका लागि पूरा गर्नुपर्ने सर्तसमेतमा सहमति गराइ कार्यविधि बनाएको थियो। तर कसैले पनि इमानदारीसाथ सर्त पालना गरेको देखिएन। किसानले कम्तीमा ४० प्रतिशत सुइरो भएको हरियो पत्तीमात्र उद्योगीलाई बेच्नुपर्छ। किसानले गुणस्तर कायम नगर्दा मूल्यमा उद्योगीले च्याप्ने गरेका छन्।
हरियो पत्ती गुणस्तरीय नहुँदा तयारी चियामा पनि गुणस्तर कायम हुन सकेको छैन। किसान र उद्योगी दुवै पक्ष चुक्दा फाइदा कसैले पनि उठाउन सकेका छैनन्। किसानले उत्पादन लागत उठाउन सकेका छैनन्। गुणस्तरीय चिया उत्पादन नहुँदा उद्योगीले पनि राम्रो मूल्य पाउन सक्दैनन्। उच्च गुणस्तरको तयारी चिया उत्पादन भए उच्च मूल्यमै युरोपेली र अमेरिकी मुलुकसम्म पुग्न सक्छ। गुणस्तर कम भएको चिया सस्तो मूल्यमा भारत र नेपालमै बिक्री गर्नुपर्ने बाध्यता छ।
गुणस्तरीय चिया उत्पादन गर्ने उद्योगहरूले अहिले पनि विदेशी बजार पाइरहेका छन्। यो क्षेत्रका केही उद्योगले उत्पादन गरेको उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स तयारी चिया अमेरिका, जर्मनीलगायत विश्वका दर्जन भन्दा बढी मुलुकमा पुगिरहेको छ। यसले गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजार सजिलै पाउन सकिन्छ भन्ने देखाएको छ। चिया उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्न र चियाकै माध्यमबाट विश्वमा नेपाललाई चिनाउन सकिन्छ भन्ने पनि छ।
चिया मजदूरमाथिको शोषण, हरियो पत्तीको मूल्य विवाद, गुणस्तरीय उत्पादनलगायत पूर्वी क्षेत्रको चिया खेतीमा एउटा होइन, धेरै समस्या जेलिएका छन्। सबै भन्दा पेचिलो समस्या अर्गानिक र ननअर्गानिक चिया उत्पादन र निर्यातको हो। विदेशी व्यापारीहरू अर्गानिक चिया खरिद गर्नका लागि पूर्वी क्षेत्रमा आफैँ आउने गरेका छन्। उनीहरूलाई विश्वासमा लिन सके मात्र पनि चिया निर्यातको ढोका सजिलै खोल्न सकिन्छ। तर चिया उद्योगीहरूले चाँडै नाफा कमाउनका लागि ननअर्गानिक चियालाई पनि अर्गानिकको नाम दिएर निर्यात गर्दा समस्या आउने गरेको छ। विदेशीहरूलाई एक पटक विश्वासघात गरे फेरि उनीहरूको मन जित्न सकिँदैन भन्ने व्यवसायीहरूले बुझे पनि त्यसअनुसार काम गर्न सकेका छैनन्। क्षणिक लाभका लागि गुणस्तरमा सम्झौता हुने गरेको छ।
विगतमा नेपाली गलैँचा, पस्मिना र तयारी पोसाकमा पनि केही व्यवसायीले गुणस्तरमा गरेको खेलाँची सबै व्यवसायीका लागि भारी बनेको थियो। विगतमा यस्ता वस्तु निर्यातबाट व्यवसायीले करोडौँ डलर आम्दानी गरेकामा अहिले खुम्चिएर बस्न बाध्य हुनुपरेको छ। लामो समय व्यापार गरी निरन्तर मुनाफा कमाउने हो भने क्षणिक लाभतर्फ उन्मुख हुनुहुँदैन। क्षणिक लाभलाई मात्र हेर्ने हो भने चिया निर्यातको सवालमा पनि गलैँचा र पस्मिनाकै कथा र व्यथा दोहोरिनेछ। त्यसैले राम्रो गर्ने र नगर्ने जिम्मेवारी व्यापारीकै हातमा छ। राम्रो गरे व्यापारीका साथै राज्यले पनि चियाबाट लाभ उठाउने मौका पाउनेछ।
प्रकाशित: ४ भाद्र २०७८ ०४:०८ शुक्रबार