coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

परिवर्तनका पदचाप

हाम्रो समाजमा परिवर्तनका निरन्तर प्रयास चलिरहेका छन्। हिजो जसरी सोचिन्थ्यो, आज त्यो भन्दा भिन्न विचार प्रवाह भइरहेको छ। छोरीले बाबुआमाको काजकिरिया गर्नु हिजोका दिनमा अनौठो लाग्थ्यो भने आज त्यो नयाँ हुन छाडिसकेको छ। कुन काम छोराले गर्ने कुन छोरीले भनी विगतमा जस्तो छुट्याउने परम्परा विस्तारै कम हुँदैछ। पेसा/व्यवसाय पनि कुनै व्यक्ति वा समुदायविशेषका रहेनन्। अब आफूलाई रुचि लाग्ने काम जसले गरे पनि हुने भएको छ। जबर्जस्ती गरिने क्रान्ति अर्थात् ‘रिभोल्युसन’ भन्दा पनि विस्तारै भइरहेको उद्भव अर्थात् ‘इभोल्युसन’ ले समाजलाई क्रमशः अगाडि लगिरहेकै हुन्छ। २००७ सालको क्रान्तिलाई नेपालको आधुनिकीकरणतर्फ प्रवेशविन्दु मानिन्छ। यस हिसाबले झण्डै ७० वर्षमा हाम्रो समाजमा ठूलो कायाकल्प भएको छ।

बितेका ७० वर्षमा हाम्रो समाज अत्यन्तै गतिशील भएको छ। २००७ सालयताका प्रत्येक दशकमा कुनै न कुनै राजनीतिक परिवर्तन भएको छ। ती राजनीतिक परिवर्तनबाहेक पनि समाजको सोच्ने ढर्रामा पनि आमूल परिवर्तन आएको देखिन्छ। छोरीलाई पढाउने सिलसिलामा तीस र चालीसको दशकमा पनि धेरै परिवर्तन भएन। छोरालाई स्कुल पठाइयो, छोरीलाई घरैमा राखियो। त्यसैगरी पछि छोरीलाई स्कुल पठाउन थालेपछि पनि विभेदका केही शृंखला रहिरहेका छन्। छोरालाई निजी क्षेत्रको राम्रो स्कुल छोरीलाई सरकारी स्कुल पठाएका घटना पनि भएकै हुन्। विस्तारै छोरीलाई छोरासरह मान्ने, तिनको यथोचित शिक्षा र लालनपालन गर्ने चलन सुरु भएको छ।  

हाम्रै अघिल्लो पुस्ताले छोरीमात्र हुँदा चित्त नबुझाएको पनि देखिएको हो। त्यही भएर छोराको आश गर्दागर्दै थुप्रै सन्तान जन्माएका घटना बर्गेल्ती छन्। आजका परिवारले अब छोरीमात्रै हुँदा पनि हीनतावोध गर्नु नपर्ने अवस्था आइसकेको छ। छोरीहरू सबै क्षेत्रमा उम्दा भइरहेका छन्। राजनीतिक क्षेत्रमा छोरीहरू बिस्तारै स्थापित हुने क्रम सुरु भएको छ। तर अझै तिनले निर्णायक ठाउँमा पुग्ने हैसियत बनाइसकेका छैनन्। थोरै त्यस ठाउँमा पुगे पनि त्यो नै देशमा महिलाको समग्र स्थिति होइन। छोरीहरू सबै ठाउँमा स्थापित हुन थाले भने स्वाभाविकरूपमा समाजले नयाँ मानक बनाउन थाल्छ।  

गोरखा नगरपालिका–१३, देउरालीका तीन नराल दिदीबहिनी क्रमशः अर्चना, अर्पना र आशिका यतिबेला आमाका किरिया बसेका छन्। उनीहरूकी आमा इन्दिरादेवी नरालको कोरोना संक्रमणबाट निधन भएपछि उनीहरू आफैँ किरिया बस्दा कपालसमेत मुण्डन गरेर छोरासरह अन्तिम संस्कारमा सरिक भएका छन्। यो एक बिम्ब हो। यो एउटा यस्तो शक्तिशाली तस्बिर हो जसले अहिलेको कोभिड–१९ संक्रमणलाई देखाउँछ। सिंगै परिवार यसबाट आक्रान्त भएका छन्। आमको निधनले यी छोरीहरूलाई टुहुरो बनाएको छ। परिवार र समाजमा बसेपछि आउने यो जिम्मेवारी धान्न उनीहरूले थालेको यो अभियानले छोरा नभइहुन्न भन्ने कैयन् अन्य व्यक्तिलाई प्रेरणाको काम गर्नेछ।  

अहिले अनेकन क्षेत्रमा सोचाइको सम्पन्नताका निम्ति प्रयास भइरहेका छन्। कुनैबेला गर्भावस्थालाई समाजमा लज्जाका दृष्टिले हेर्ने गरेकामा अहिले यसलाई एउटा सिर्जना र महान् कार्यका रूपमा प्रस्तुत गर्ने चलन सुरु भएको छ। गर्भावस्थाका पेटको तस्बिर सार्वजनिक गरेर यसलाई एउटा अभियानका रूपमा चित्रण हुँदैछ। केही व्यक्तिले यसलाई पचाउन सकेको देखिँदैन। नयाँ नयाँ चलन चल्दै जानुपर्छ। पुराना काम नलाग्ने परम्परा छन् भने तिनलाई त्याग्दै जानु पनि पर्छ। सन्तान उत्पादन जस्तो अत्यन्तै पवित्र कर्मको सराहना हुनु र यो कामलाई एउटा उत्सवका रूपमा ग्रहण गर्नु उचित हुन्छ। कुनैबेला हाम्रो समाजमा सतिप्रथा पनि थियो। समाज त्यसैमा बसिरहेन। त्यसलाई हटाउनुपर्ने आवश्यकता महसुस भयो। त्यो हट्यो। आज कसैले त्यो प्रथा चाहियो भनेर खोजे पनि स्थापित हुन सम्भव छैन।  

आधुनिक समाजले ग्रहण गरेका कैयन् पक्षले यतिबेला हाम्रो जीवन सहज तुल्याएका छन्। अध्ययन–अनुसन्धान हुँदै गएको छ। त्यसले स्वास्थ्य, खानपिन, रहनसहन, यातायात, सम्बन्ध अनेकानेक पक्षमा यसले प्रभाव पारिरहेको छ। अहिले कोरोना विषाणु महामारीकै सन्दर्भमा हेर्ने हो भने पनि एक वर्षभित्र खोपको विकास गरेर लगाउन सक्ने स्थिति पुगेको छ। त्यसैले हिजोसम्म सिकेको सिप र ज्ञानको दायरा अर्को ठाउँमा पुगेको छ। हिजोका सम्बन्ध र विश्वासमा नयाँ आयाम आएको छ। त्यसलाई प्रविधिले पनि मद्दत गरेको छ। यस्तो अनुपम समयमा बाँचिरहेका हामीले समाजका प्रत्येक धुकधुकी र पलमा आइरहेका परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ।

अतः हाम्रो समाजमा अझै कैयन् कुप्रथा चलिरहेका छन्, त्यसबाट प्रत्येक नागरिकले आफूलाई जानकार बनाउनुपर्छ। अनि बिस्तारै त्यसबाट आफूलाई अलग गर्नु उचित हुन्छ। सबैको जीवन सहज होस् भन्ने सोच समाजमा स्थापित हुनुपर्छ। आफ्नो अधिकारको कुरा गर्दा अरूप्रति त्यत्तिकै सजग पनि हुनुपर्छ। अझै पनि महिलाले आफूलाई पूर्णरूपमा स्वतन्त्र महसुस गर्न सकिरहेका छैनन्। उनीहरूले आफूलाई जति सहज अवस्थामा पाउँछन्, त्यति नै हाम्रो समाजको विकास क्रम पनि अगाडि बढ्छ। यही पक्ष अन्य सीमान्त नागरिकहरूको हकमा पनि हुन्छ। एउटा सुसंस्कृत समाज त्यही हो जो सबैका निम्ति बाँच्न सहज हुन्छ। हामीले उद्भव र विकासलाई आत्मसात गरेका छौँ भने हाम्रो जीवन पनि त्यसैतर्फ अग्रसर होस्।

प्रकाशित: १४ श्रावण २०७८ ०१:३१ बिहीबार

Download Nagarik App
Download Nagarik App