५ आश्विन २०७८ मंगलबार
सम्पादकीय

पानी, पानी जताजतै पानी

हरेक वर्ष वर्षायाममा देखिने दृश्य र बन्ने समाचार यो पटक पनि दोहोरिएका छन्। अन्य वर्षको तुलनामा यो वर्ष अत्यधिक वर्षा हुने अनुमान पहिल्यै गरिएको हो। त्यसको प्रभाव देशभर देखिन थालेको छ।  त्यसो त, वर्षायामा बाढी, पहिरो, चट्याङ, हावाहुरी जस्ता प्राकृतिक विपद्का घटना हरेक वर्ष दोहोरिन्छन्। यस्ता प्राकृतिक घटनाका कारण नेपालले बर्सेनि ठूलो जनधनको क्षति बेहोर्ने गर्छ। यस्ता विपद्का घटना हाम्रा लागि नियमित आकस्मिकता बनेका छन्। जस्तै बाढी/पहिरो आए पनि व्यवस्थापन गर्नै नसक्ने तहको होइन। अझ यसलाई समयमै व्यवस्थापन थाल्ने हो भने अहिले जति क्षति भइरहेको छ, त्यो भन्दा बढ्दैन, घट्छ। आखिर ठुल्ठूला आँधी आउने मुलुकले पनि जीविका गरेका छन् र तिनले यसका निम्ति स्थायी उपायसमेत अवलम्बन गर्दै आएका छन्।  

दूरदराजका खोला र नदीमा मात्र होइन, बाढीको कहर यसपटक राजधानी काठमाडाैंमै देखिएको छ। पछिल्ला दुई सातायता राजधानी काठमाडौँका खोला बढेर बस्तीमा पस्ने क्रम जारी छ। शुक्रबार रातको वर्षासँगै आएको बाढीले धोबीखोला आसपासको बस्ती प्रभावित बने। खोला बढेपछि आसपासमा घर डुबानमा परेका थिए भने सडकमा आवागमनसमेत ठप्प हुन पुगेको थियो।  पसलहरू र तरकारी बजारमा समेत बाढी पस्दा लाखौँ मूल्य बराबरका सामान नष्ट भएका छन्।  धोबीखोला करिडोरमा बाढीका कारण जम्मा भएको हिलो हटाउन डोजर नै लगाउनुपरेको थियो। धोबीखोलामात्र होइन, वर्षाका कारण राजधानीका अन्य नदी तथा खोलाको सतह भरिएर बाढी आसपासका बस्तीमा पस्ने गर्छ। गत साताको सुरुमा वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमती आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेका थिए। अविरल वर्षाले अनामनागर, न्युप्लाजा, घट्टेकुलो, बिजुलीबजार, बबरमहलसहित मुलुकको प्रमुख प्रशासनिक निकायका सिंहदरबार आसपासको क्षेत्र जलमग्न बनेको थियो।  

वर्षाका बेला राजधानीका विभिन्न खोला र नदीको तटमा अव्यवस्थित हिसाबले बसोबास गर्दै आएका सुकुमबासी बस्ती सधैँ जोखिममा छन्। विशेष गरी थापाथली, सिनामंगल, कालीमाटी हुँदै बग्ने वाग्मती नदी किनारका सुकुमबासी बस्ती उच्च जोखिममा देखिन्छन्। राजधानी उपत्यकामा रहेका ४ दर्जन सुकुमबासी अर्थात अव्यवस्थित बस्तीमध्ये दुई दर्जन बस्ती नदी तथा खोला किनारमा रहेकाले पनि मानवीय जोखिमको सम्भावना सधंँ अत्यधिक छ। यी बस्तीको व्यवस्थापन गर्न विभिन्न प्रयास भए पनि खास प्रगति हुन सकेको छैन। विभिन्न विकल्पमध्ये यी बस्तीलाई अन्यत्र सार्ने अथवा बस्ती भएकै स्थानमा उपयुक्त हिसाबले बस्ती निर्माण गर्ने रहेका छन्। यस्ता अव्यवस्थित बस्ती व्यवस्थापनको विषय राजनीतिक बन्ने गरेको छ र सबै राजनीतिक दल एकमत नहुँदा यो विषय जटिल बन्ने गरेको छ। अर्काेतिर यी बस्तीमा वर्षाैँदेखि बस्दै आएका समुदाय संगठित हिसाबले आफ्ना हक÷अधिकार र बासस्थान सुनिश्चतताका लागि लागिपरेका छन्। उनीहरू पनि बर्सेनि हुने बाढीजन्य जोखिम र बासस्थानजन्य असुरक्षाबाट बाहिर निस्कन चाहन्छन्। सबै सरोकारवालाबीच हुने आपसी छलफलले समस्याको निकास निस्कन सक्छ।

सुकुमबासीमात्र होइन, राजधानीका नदी तथा खोलाको प्राकृतिक बहाब रोक्ने गरी अधिकांश स्थानमा विभिन्न संरचना बनेका छन्। मानवीय स्वार्थका लागि नदी र खोलाले चर्चेको जग्गा अतिक्रमण गरेर साँघुरो पार्दा पानीको प्रवाह बस्तीमा पस्न बाध्य बनेको हो। खोला तथा नदी किनारको जग्गालाई निजी पार्न नसक्दा कतिपय स्थानमा शैक्षिक संस्था तथा धार्मिक संस्थाको नाममा यस्ता जग्गा चर्चेको देखिएको छ। यसरी घुमाउरो पाराले सार्वजनिक जग्गा नाफामूलक संस्थालाई दिनु सर्वथा अनुचित हो। राजनीतिक शक्ति र प्रभावका आधारमा यसरी प्राकृतिक र सार्वजनिक सम्पत्ति दोहन गर्दा अन्ततः प्राकृतिक प्रकोपको जोखिम बढेको छ र विभिन्न विपद्का घटना भएका छन्। वाग्मती नदीवरपरको क्षेत्रलाई व्यवस्थापन गर्न केही प्रयास भएका छन्। वागद्वारदेखि चोभारसम्मको २४ किलोमिटर लामो वाग्मती नदीको संरक्षण र व्यवस्थापनका प्रयासलाई अझ व्यवस्थित र विस्तृत पार्न जरुरी छ। वाग्मती नदीमा मिसिने राजधानीको विभिन्न स्थानबाट आएका खोलाको उपयुक्त संरक्षण र व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण विषय हो।  

राजधानी उपत्यकाको सहरीकरण तीव्ररूपमा विस्तार हुने क्रममा छ। अव्यवस्थित सहरीकरणको सबै भन्दा ठूलो सिकार यिनै नदी तथा खोला बनेका छन्। यी खोला तथा नदीमा मानवजन्य मलमूत्र प्रशोधनबिना सिधै पठाउने गरिएको छ। ५०–६० वर्षअघिसम्म सफा पानी बग्ने यी अधिकांश खोला अब प्रदूषित र मृतजस्तै बनेका छन्। अर्काेतिर उपत्यकामा वर्षाको पानी यिनै खोला र नदीमार्फत निकास पाउने गरेका थिए। तर खोला र नदीको बहाब क्षेत्र साँघुरो बनाइँदा समस्या झन चर्केको छ। पछिल्ला सातामा देखिएको समस्या यही कारणले सिर्जना भएको हो।  

अबको बाटो भनेको उपत्यकामा रहेका खोला तथा नदीले निम्त्याउन सक्ने जोखिमको पहिचान हो। वैज्ञानिक हिसाबले अध्ययन गरेर समाधानका लागि उपायहरू अवलम्बन गर्न सकिन्छ। सहरभित्रका खोला तथा खहरे पनि उत्ताउलिन थाल्नुको अर्थ यहाँको जमिनले आकासबाट परेको पानी राम्ररी सोस्न नपाएका कारणले पनि हो। राजधानी काठमाडौँ र अन्य ठूला सहरहरू विस्तारै कंक्रिटको जंगल बनेका छन्। यस कारण आकाशको पानी जमिनमा नसोसी सिधै खोला वा ढलमार्फत पठाउने गरिएको छ। यो पानी थेग्न नसक्ने किसिमका संरचना बनेका रहेछन् भन्ने पनि यसले देखाएको छ। अव्यवस्थित सहरीकरणका कारण हुने समस्याको समयमै पहिचान हुँदा धनजनको सुरक्षा हुन सक्छ। त्यसैले यो बहुआयामिक तथा बहुपक्षीय समस्याको समाधान गर्न केन्द्र सरकार, स्थानीय सरकार, नागरिक समाज तथा सर्वसाधारणको हातेमालो आवश्यक छ। यसका निम्ति बेलैमा पहल थाल्नु जरुरी छ। अन्यथा, यो समस्या भविष्यमा थप भयाबह बन्नेछ।

प्रकाशित: ११ श्रावण २०७८ १०:३९ सोमबार

Download Nagarik App
Download Nagarik App