८ वैशाख २०८१ शनिबार
सम्पादकीय

सेयरमा सतर्कता

विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ। गत वर्ष अर्थतन्त्रको विस्तार करिव २ प्रतिशतले ऋणात्मक बनेको थियो। चालु आर्थिक वर्षको अवस्था पनि राम्रो छैन। ऋणात्मक नभए सन्तोष मान्नुपर्ने अवस्था छ। यही दुई वर्षे अवधिमा नेपालको सेयर कारोबार भने झण्डै तीन गुणा बढेको छ। पहिलो लहरको कोभिड महामारी सुरु हुने बेला (२०७६ चैत) मा सेयर कारोबारको मापक विन्दु नेप्से परिसूचक ११ सय २० वरिपरि थियो। अहिले नेप्से ३ हजारको आकडा छोएर गत बिहीबार २९४४.७८ विन्दुमा आएको छ। विगतमा दुई चार अर्ब रुपियाँको सेयर कारोबार हुन मुस्किल पर्ने गरेकामा अहिले १०–१५ अर्ब रुपियाँको दैनिक कारोबार हुने गरेको छ। एकै वर्ष २०७७ मा नेप्से १४ सय ६३ विन्दुले बढेको छ भने बजार पुँजीकरण १६ खर्बबाट ३७ खर्ब ५८ अर्ब रुपियाँ पुगेको छ। यो मुलुककै कुल गार्हस्थ्य उत्पादन जिडिपी नजिक हो। अहिले नयाँ वर्ष २०७८ लागेपछि पनि नेप्से वृद्धि कायमै छ। कोभिडपछि मुलुकको अर्थतन्त्र, उद्योग/व्यवसायलगायत सबै तहसनहस हुँदा सेयर कारोबार भने दैनिकजसो बढिरहेको छ। सामान्यतया मुलुकको अर्थतन्त्र, उद्योग/व्यवसाय उकालो लाग्दामात्र सेयर कारोबार माथि जानुपर्ने हो। तर यहाँ ठीक उल्टो भएको छ। अर्थतन्त्र र उद्योग/व्यवसाय धराशायी हुँदा सेयर बुलिस ट्रेन्डमा छ।

सेयर कारोबार बढेसँगै दोस्रो बजारमा अनेकन विकृति पनि सुरु भएका छन्। पछिल्लो समय बजारमा विभिन्नखालका चलखेल गरिएका गुनासा नियमनकारी संस्था धितोपत्र बोर्डमा आइरहेका छन्।

कोभिड महामारी सुरु भएपछि अर्थतन्त्रका अधिकांश सूचक कमजोर भएसँगै नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको लाभांश क्षमता घटेको छ। नेप्सेमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा घटेको छ। आर्थिक वर्ष २०७६/०७७ मा औसत १३ प्रतिशत लाभांश वितरण गरेका ‘क’ वर्गका वाणिज्य बैंकको नाफा चालु आर्थिक वर्ष ७ प्रतिशत वरपर रहने प्रक्षेपण छ। औद्योगिक, होटल, जलविद्युत्लगायतका समूहमा पर्ने कम्पनीहरूको अवस्था पनि राम्रो छैन। बिमालगायतका केही समूहको अवस्था भने सन्तोषजनक देखिएको छ। नेप्सेमा सूचीकृत अधिकांश समूहका कम्पनीको अवस्था नराम्रो हुँदा पनि सेयर बजार भने हरेक दिन ‘भ्यागुते उफ्राइ’ शैलीमा अघि बढिरहेको छ। अझ अचम्म मान्नुपर्ने विषय के छ भने लामो समयसम्म एक सुको लाभांश दिन नसकेका र अझै केही वर्ष दिन सक्ने आधार नभएका कम्पनीका सेयर मूल्य पनि तीव्ररूपले बढेका छन्।  

सेयरमा सरोकार राख्नेहरू अर्थतन्त्र र उद्योग÷व्यवसाय नाजुक भएका बेला पनि बजार बढ्नुमा अनेकौँ कारण देख्छन्। बजारमा अहिले पर्याप्त तरलता छ। विगतको लकडाउन र अहिलेको निषेधाज्ञाका कारण अधिकांश उद्योग र व्यापार बन्द भएपछि अधिकांश व्यवसायी घरमै छन्। उनीहरूसँग पैसा छ तर लगानी गर्ने क्षेत्र छैन। यस्ता व्यवसायीमध्ये धेरै अहिले सेयर बजारमा आएका छन्। यहीबेला सरकारले सेयर धितोमा राखेर दिने कर्जाको ब्याज दर पनि कम गरेको छ। औसतमा १० प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा पाएपछि लगानीकर्ताहरूलाई यसैमा खेलेर नाफा निकाल्न सहज बनेको छ। घरमै बसेर सेयर कारोबार गर्न अहिले प्रविधिले पनि सजिलो बनाएको छ। एउटा मोबाइलको भरमा जोसुकैले सेयर खरिद बिक्री गर्न सकिने भएको छ। अहिले अनलाइन कारोबार गर्ने लगानीकर्ता साँढे ६ लाख भन्दा बढी पुगेका छन्। दैनिक हुने कुल कारोबारमध्ये ८० प्रतिशत भन्दा बढी अनलाइनमार्फत हुँदै आएको छ। यो भन्दा पनि बढी प्रत्येक दिनजसो सेयर बजार बढेको र प्रायः सबैले नाफा गरेको देखिएपछि नयाँ लगानीकर्ता आकर्षित भइरहेका अवस्था छ। सेयर बजारको यस्तो वातावरणमा मौकामा चौका हान्ने खेलाडीहरूले गर्दा पनि बजार थप बढेको छ। सरकारले सेयर कारोबारमा केही सस्थालाई लगानी गर्न अनुमति दिएको छ। बजारमा संस्थागत लगानीकर्ता ठूलो रकम लिएर प्रवेश गरेपछि यसले माग बढाउन थप सहयोग गरेको छ।

सेयर कारोबार बढेसँगै दोस्रो बजारमा अनेकन विकृति पनि सुरु भएका छन्। पछिल्लो समय बजारमा विभिन्नखालका चलखेल गरिएका गुनासा नियमनकारी संस्था धितोपत्र बोर्डमा आइरहेका छन्। बोर्ड आफैँले कृत्रिमरूपमा बजार बढाउने र सूचना चुहाएर कारोबार गर्ने जस्ता कार्य भइरहेको स्वीकार गरेको छ।। बोर्डले गत साता विज्ञप्ति निकालेर सेयर बजारमा यस्ता गतिविधि हुने गरेको बताएको छ। यसबारे अध्ययन सुरु गरेको भन्दै बोर्डले लगानीकर्तालाई सजगता अपनाउन आग्रह गरेको छ। अहिलेसम्म सेयरमा चलखेल गर्नेलाई ठूलो कारबाही भएको इतिहास छैन। धितोपत्र बजारसम्बन्धी ऐन, २०६३ ले कृत्रिमरूपले बजार बढाउन भूमिका खेल्नेलाई २ लाख रुपियाँ जरिवाना र २ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ। अहिलेसम्म अवैध काम गर्नेलाई स्पष्टीकरण सोध्नेबाहेक बोर्ड र नेप्सेले कानुनी अधिकार प्रयोग गरेको देखिएको छैन। सेयर कारोबारलाई सहजीकरण र नियमन गर्ने यी दुई निकायले मिलेर काम नगर्दासम्म बजारमा हुने अवैध कारोबार रोक्न सकिँदैन। तर दुवै निकायबीच समन्वय र सहयोगी भूमिकाको अभाव देखिएको छ। अहिलेसम्म एकले अर्कालाई आरोप लगाएर पन्छिँदै आएका छन्। हालै बोर्डले नेप्सेले असहयोग गरेको आरोप लगाएको थियो भने नेप्सेले अवैध कारोबार गर्नेलाई कारबाही गर्ने अधिकार बोर्डलाई मात्र भएको भनेको थियो। नियमनकारी संस्थाले सेयर बढ्दा जोखिम छ भन्ने विज्ञप्ति निकालेरमात्र आफ्नो कर्तव्य पूरा भएको ठानिरहेका छन्। चलखेल गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउन दरो अनुसन्धान हुन जरुरी छ। फितलो अनुसन्धानले बजारमा चलखेल भएको ठहर गर्न सक्ने छैन। बोर्डको अहिलेसम्मको कामगराइ हेर्दा चलखेल रोक्न एकातिर उसको चासो कम देखिन्छ भने दरो अनुसन्धान गर्न क्षमता पुग्ने पनि देखिँदैन।

त्यसैले बजारमा जे÷जस्ता चलखेल हुन्छन् त्यसबाट बच्ने जिम्मेवारी लगानीकर्ता आफ्नै हो। सरकारले कुनै पनि वयस्क व्यक्तिले गर्ने लगानीलाई नबुझेर गरेको मान्दैन र लगानी नगर भन्ने अधिकार पनि राख्दैन। सरकारले लगानीकर्ताले जानीबुझी लगानी गरेको मान्छ। त्यसैले सेयरमा लगानी गर्न सरकारले रोक्न सक्दैन। लगानी गर्दा जोखिम सेयर कारोबारमा मात्र होइन, सबै क्षेत्रमा हुन्छ। फरक के हो भने जोखिमको भार क्षेत्र हेरेर तल–माथि हुन सक्छ। नेप्सेमा सूचीकृत कम्पनीको सम्पूर्ण धरातल हेर्दा परिसूचक १५ सयमाथि पुगेपछि बजार जोखिममा प्रवेश गरिसकेको छ। त्यसैले चनाखो लगानीकर्ताले देशको आर्थिक परिदृष्य, सूचीकृत संस्थाको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य–आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपातलगायतका विषयलाई विश्लेषण गरेरमात्र लगानी गर्छ। चनाखो नहुने व्यक्तिले हल्लाको पछाडि गएर लगानी गर्ने प्रचलन छ। अन्तमा त्यही डुब्छ जो हल्लाको पछाडि दौडन्छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०२:५५ आइतबार

Download Nagarik App
Download Nagarik App