जनआन्दोलन २०६२/०६३ ताका तत्कालीन शासनविरुद्ध आगो ओकल्ने कवि अर्जुन पराजुलीले फेरि एकपटक आमनागरिकको पीडा ओकलेका छन्। कोरोना भाइरसले आक्रान्त पारेको यो समयमा आमनागरिकले एक सिलिन्डर ग्यासका निम्ति तड्पिनु परेको छ। सरकारको अकर्मण्यतामाथि व्यंग्य गर्दै उनले लेखेका छन्–सरकार मलाई एक सिलिन्डर अक्सिजन दे !
नागरिक कविबाट आएको यो चोटिलो कविता यथार्थमा वर्तमानको आवाज हो। अप्ठ्यारो अवस्थामा सरकार नै नागरिकको एक मात्र सहारा हुन्छ। उसैले आमनागरिकको समस्या समाधान गर्ने भनेर जिम्मेवारी लिएको हुन्छ। त्यसैकारण नागरिक त्यस्तो सरकारलाई कर बुझाउँछन् र उसले बनाएको कानुन मान्छन्। विडम्बना, अहिले आमनागरिकको आवाज बोलिदिने कोही छैन।
अझै पनि मुलुकमा कामचलाउ हैसियतको केपी शर्मा ओलीको सरकार छ। प्रतिनिधिसभामा उनले विश्वासको मत लिन नसकेपछि कामचलाउ हैसियतमा सरकार पुगेको हो। तैपनि सरकार भनेको निरन्तरता हो। नयाँ सरकार जसको बने पनि त्यतिबेलासम्म यही सरकारको जिम्मेवारी हुन्छ। कोरोना भाइरस महामारीको यो दुष्चक्रका निम्ति भने ओली सरकार पूरापुर जिम्मेवार छ। स्वास्थ्य स्थितिका कारण मुलुक यतिबेला रुग्ण बनेको छ। यो सरकारले आमनागरिकको स्वास्थ्यलाई आश्वस्त पार्न योबीच काम गर्नै सकेन।
हुन त ओलीले सोमबार पनि प्रतिनिधिसभाबाट स्वास्थ्य क्षेत्रमा गरिएका प्रगतिको फेहरिस्त सुनाएका हुन्। त्यति मात्र होइन, कोरोना परीक्षणदेखि रोकथाम र उपचारका निम्ति सरकारले गरेका काम उनले यस्ता मञ्च पाउनासाथ उल्लेख गर्ने गरेका छन्। नयाँ वर्ष होस् वा अन्य कुनै पर्व उनले यसबारे बताएकै छन्। एक वर्षमा हामी कति कठिन अवस्थामा पुगिसक्यौँ भन्ने कुरा हाम्रो स्मृतिलाई एकपटक हेर्दा पनि थाहा पाउन सकिन्छ।
गत वर्ष ३० वैशाख (मे १२, २०२०) का दिन देशमा कोरोना संक्रमित संख्या १ सय ३४ पुगेको थियो। वैशाख २९ का दिन एकैचोटि २४ जना नयाँ संक्रमित फेला परेपछि यो संख्या यति धेरै पुगेको भनेर अखबारको प्रमुख समाचार बनेको स्थितिबाट आज मुलुक निकै टाढा आइपुगेको छ। बुधबार अर्थात् वैशाख २९ गते नागरिकको प्रमुख समाचार नै संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको उल्लेख छ। संक्रमित संख्या अहिले एकै दिनमा करिब साढे नौ हजारमा संक्रमण देखिएको छ। संक्रमण दर ४४.८ प्रतिशत रहेको छ। कोरोना भाइरस संक्रमण खतरनाक छ। अझ अहिले देखिएको दोस्रो र तेस्रो उत्परिवर्तन घातक रहेको छ। यसले मृत्यु र संक्रमण संख्या तीव्र गतिमा बढाइरहेको छ।
अहिले जे भइरहेको छ, त्यो अपेक्षित थियो। यस किसिमको उच्च संकट आउन सक्छ भन्ने चेतावनी देशभित्र र बाहिरका विज्ञले दिएकै हुन्। त्यसमा पनि हाम्रै छिमेकी भारतका महाराष्ट्र र दिल्लीमा संकट देखिइसक्दा पनि हामीले यसलाई वास्ता गरेनौँ। कोरोनाको अर्को लहर आउन लाग्दा यहाँ भने सरकार स्कुल र कलेज खोल्न व्यस्त थियो। शिक्षा क्षेत्रका सञ्चालकहरूलाई भर्ना शुल्क र अन्य आम्दानी चाहिएको थियो, सरकारले त्यसलाई पूरा गरिदियो। त्यसैगरी राजनीतिक दलहरूको कोरोना संकट समाधानमा किञ्चित रुचि रहेको देखिएन। सरकार आफैँ ठूला र्याली, सभा, सम्मेलन र उद्घाटनमा केन्द्रित भयो। सरकारसँगै दलहरूको पनि त्यस्तै रवैया रह्यो। सत्तारुढ दलभित्रैको एउटा समूहले ठूलो र्याली गरेपछि आफूले पनि गर्नुपरेको स्पष्टोक्ति प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आफूले विश्वासको मत लिने बेलैमा दिएका पनि हुन्। तर त्यो प्रतिस्पर्धा यतिबेला घातक सिद्ध भएको छ। स्कुल/कलेजबाट घर–घरमा पुगेको कोरोनाले अहिले मुलुकको स्वास्थ्य क्षेत्रलाई अत्यन्तै कठिन स्थितिमा पुर्याएको छ।
वास्तवमा कोरोनाको अघिल्लो चरणका बेला हाम्रो मुलुकको शासक वर्गले खासै अनुभूति गर्नुपरेको थिएन। एक हिसाबले समाजको तल्लो वर्ग बढी मात्रामा त्यसबाट प्रताडित भएको हो। त्यो बेलाको स्थिति हेर्ने हो भने राजनीतिक शासक वर्गले त्यसलाई निकटबाट अनुभूति गर्नै परेन। त्यसमा पनि ज्यादै सानो संख्या मात्र संक्रमित भयो। जतिबेला बेलायती प्रधानमन्त्री वा अमेरिकी राष्ट्रपति आफैँ कोरोनाबाट संक्रमित भएका थिए, त्यो बेला हामीलाई खासै नछोएकै हो। हाम्रा केही मन्त्री र सांसद मात्र यसको प्रभावमा परेका थिए। यसपटक भने संसद्मै संक्रमित सांसदले समेत मतदानको व्यवस्था गर्नुपर्ने गरी ठूलो संख्या देखिनु आफैँमा यसको विस्तार भइरहेको लक्षण हो।
कोरोना संक्रमणका कारण परिवार सदस्यले उपचार नपाएको र स्वास्थ्य सामग्री अभाव भएको वेदनापूर्ण आवाज सामाजिक सञ्जालमा देखिन्छ। अहिले सामाजिक सञ्जाल खोल्दा मृत्यु भएका र बिरामी परेका खबरले भरिएका छन्। यसले प्रत्येक घरभित्र पीडाको गहिरो घाउ छोडिरहेको छ। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अस्पताल नपाएर बुहारी निर्मला वैद्यको कोभिडका कारण निधन भएको जानकारी सामाजिक सञ्जालमार्फत् मंगलबार दिएका छन्। त्यो तहका नेताको समेत कुनै पहुँच पुग्न सक्दैन भने सर्वसाधारणको अवस्था के भएको होला ? स्वास्थ्य सेवा नपाएरै ज्यान जान सक्ने रहेछ भन्ने यसपटक कोभिड–१९ का कारण पुष्टि भएको छ।
स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन सकिएन भने त्यो देशका नागरिकले अनाहकमा दुःख पाउँछन्। सरकार फेरि यस्तो संकटलाई कसरी सहज बनाउने भन्नेमा सक्रिय हुनै सकेन। समय बिग्रिसकेपछि मात्र त्यता लाग्छ। कोभिडका निम्ति मात्रै केही अस्ताल बनाउनुपर्छ भनेर विगतमा निरन्तर आग्रह हुँदा कहिल्यै तयारी गरिएन। अहिले आएर बल्ल वीर, शिक्षण र पाटन अस्पतालाई कोभिड अस्पताल बनाउने काम भएको छ। तर सरकारले अक्सिजन ग्यासमा कोटा निर्धारण गरेका कारण अस्पतालले उपचार गराउन नसक्ने भन्दै हात झिकिरहेका छन्। यतिबेला नागरिकले कस्तो विषम स्थिति भोग्नुपरेको छ भन्ने जानकारी वर्षौँ वर्षसम्म कवि अर्जुन पराजुलीको यो कविताले दिइरहनेछ–
सरकार !
तेरो पानीजहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट–सिटी लैजा
समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घर–घरमा ल्याएको ग्यास लैजा
मेरा बाको औँठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा
सरकार !
यी सबैको बदलामा तैँले
मलाई एक सिलिन्डर अक्सिजन दे !
प्रकाशित: ३० वैशाख २०७८ ०३:०४ बिहीबार