७ वैशाख २०८१ शुक्रबार
सम्पादकीय

बाइडेन विजयको अर्थ

अमेरिकी निर्वाचनमा आफ्नो पराजयपछि सत्ता हस्तान्तरण प्रक्रियामा अवरोध गर्दै आएका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः असफल भए । ४६औँ राष्ट्रपति जो बाइडेनले बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । बाइडेनले सत्ता सम्हालेसँगै ट्रम्पको समयमा भएका गलत निर्णय उल्ट्याउने प्रक्रिया समेत थालिसकेका छन् । विशेषगरी ट्रम्प आफ्नो कार्यकालमा जलवायु परिवर्तनसम्बन्धी अजेन्डादेखि आप्रवासी र अल्पसंख्यक समुदायसँग जोडिएका सवालमा अनुदार थिए । त्यसैअनुसार ट्रम्पले आफ्नो चारवर्षे कार्यकालमा निर्णय पनि गरेका थिए । अहिले बाइडेनले ट्रम्पका ती निर्णय कार्यकारी आदेशमार्फत उल्ट्याउने प्रक्रिया सुरु गरेका हुन् ।

राजनीति र परराष्ट्र मामिलामा अनुभवी बाइडेनले पक्कै पनि आन्तरिक र बाह्य रूपमा देखिएका चुनौतीको सामना गर्न सक्षम हुनेछन् । त्यसैले पनि बाइडेनले जिम्मेवारी सम्हालेलगत्तै समग्र विश्वको ध्यान उनले लिने निर्णयप्रति आकृष्ट भएको छ । बाइडेनको विजयलाई विश्वले उदारवादी लोकतान्त्रिक धारको विजयका रूपमा लिएको छ ।  

ट्रम्पले कोभिड–१९ लाई पनि हल्का रूपमा लिएका थिए, जसको मूल्य अमेरिकाले अहिले चुक्ता गरिरहेको छ । बाइडेनले कोभिड–१९ र यसले निम्त्याएको संकटलाई आफ्नो प्राथमिकतामा राखेका छन् । त्यसैले उनले पहिलो कार्यकारी आदेश नै यससम्बन्धी जारी गरेका छन्, जसमा सबै अमेरिकीलाई मास्क लगाउन अनिवार्य गरिदिएका छन् । त्यसो त उनले आफू निर्वाचित भएसँगै अमेरिकी जनतालाई कम्तीमा सय दिन मास्क लगाइदिन अपिल गरेका थिए । त्यसैअनुसार सत्ता सम्हालेलगत्तै उनले सर्वप्रथम आफ्नो ध्यान कोभिड–१९ नियन्त्रणमा केन्द्रित गर्न लागेको सन्देश दिएका छन् । बाइडेनको यो निर्णयले उच्च पदमा जिम्मेवार व्यक्ति पुगेपछि कति फरक पार्छ भन्ने फेरि एकपटक पुष्टि भएको छ ।  

बाइडेनले सत्ता सम्हालेसँगै आफ्ना अन्य केही प्राथमिकता पनि घोषणा गरेका छन्, जसअनुसार आर्थिक संकट र जलवायु संकटबाट उत्पन्न समस्याको सम्बोधन गर्ने रहेको छ । उनले जलवायु परिवर्तनले निम्त्याएका संकटलाई धेरै महत्व दिएका छन् । पहिलो दिनमै उनले अमेरिकालाई पुनः पेरिस जलवायु सम्झौतामा समावेश गराएका छन् । उनले राष्ट्रपति निर्वाचन अभियानका क्रममा पनि आफ्नो एउटा प्रमुख अजेन्डा यसैलाई बनाएका थिए । यसअघि अमेरिका पेरिस जलवायु सम्झौतामा समावेश भए पनि ट्रम्प आएपछि यसबाट अलग गरेका थिए भने अहिले बाइडेनले जलवायु परिवर्तन र यसले निम्त्याउने संकटलाई सम्बोधन गर्ने मामिलामा अमेरिकाको पुरानै लयलाई समातेका हुन् । जलवायु परिवर्तनको सवालमा मात्रै होइन, यसअघि ट्रम्पले लिएका निर्णय उल्ट्याउन बाइडेनले पहिलो दिनै १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । शपथ ग्रहण समारोहमा विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदान समेत पूर्ववत फर्काउने घोषणा गरेका छन् । यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको सहायता रकम रोकिदिएका थिए । यसबाट विगतमा ट्रम्पले विच्छेद गरेका कतिपय अमेरिकी परम्परा र अजेन्डालाई पुरानै लयमा फर्काउन बाइडेन हतारिएका देखिन्छन् । अर्थात् उनले आफ्नो कार्यकालको सुरुवातदेखि नै परिवर्तनको सन्देश दिन चाहिरहेका छन् । महामारीका कारण खस्किएको अर्थ व्यवस्था उकास्न तत्कालै विशेष कदम चाल्नुपर्ने उनले बताएका छन् भने त्यसलाई तत्कालै कार्यान्वयनमा लैजाने छनक समेत दिइसकेका छन् ।  

मुख्य कुरा यसअघिका राष्ट्रपति ट्रम्पले जसरी लोकतन्त्रका आधारभूत मान्यतामा आक्रमण गरेर अमेरिकी समाजलाई विभाजित बनाएका छन्, त्यसलाई जोड्नु र पुरानै लयमा फर्काउनु बाइडेनका लागि चुनौतीको विषय छ । अमेरिकाको लोकतान्त्रिक प्रणाली बलियो भएकै कारण ट्रम्प तानाशाहको रूपमा उदाउन सकेनन् । तर, उनले अमेरिकी समाजलाई नराम्ररी ध्रुवीकृत गराइदिएका छन् । उनले अमेरिकी लोकतन्त्रले स्थापित गरेको राजनीतिक संस्कारलाई क्षतविक्षत पारेका छन् । लोकतन्त्रको आत्माको रूपमा रहेको निर्वाचन प्रक्रियाको धज्जी उडाएका छन् । विश्वभरले उच्चतम् र उदाहरणीय अभ्यासको रूपमा हेर्ने अमेरिकाको लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गराएका छन् । यी सबै मूल्य–मान्यतालाई पुरानै ट्र्याकमा फर्काउनु पनि बाइडेनका लागि चुनौती देखिएको छ ।  

बाइडेनले निर्वाचनका क्रममा आप्रवासन, अल्पसंख्यकको अजेन्डादेखि समावेशी लोकतन्त्र लगायत विषय उठाएका थिए भने त्यसलाई सम्बोधन गर्ने कार्य सुरुवात गरिसकेका छन् । बाइडेनले आफ्नो मन्त्रिपरिषद्मा सबै पक्षलाई समेटेर इन्द्रेणीजस्तो बनाएका छन् । ट्रम्पको उदय ‘अमेरिकालाई फेरि महान् बनाउने’ भन्ने पपुलिस्ट अजेन्डाका कारण भएको र यसपटकको निर्वाचनमा पनि त्यही अजेन्डालाई अघि सारेका थिए । राष्ट्रपति निर्वाचित हुन आवश्यक इलेक्ट्रोल कलेज पुर्‍याउन नसके पनि ट्रम्पले पपुलर मत चाहिँ बाइडेनकै हाराहारीमा ल्याएको तथ्यलाई पनि बिर्सन हुँदैन । त्यसैले ट्रम्पले निर्वाचन हारे पनि अमेरिकामा लामो समयसम्म रहने ट्रम्पिजम् बाइडेनका लागि चुनौतीको विषय हो । बाइडेनको मुख्य चुनौती भनेकै अमेरिकामा पछिल्लो समय देखिएको अनुदार र ध्रुवीकृत अमेरिकी समाजलाई उदारवादी धारमा फर्काउनु हो । चीनबाट फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा चीनविरोधी मत बलियो छ । अझ ट्रम्पले त्यो भावनालाई आफूतिर तान्न चीनप्रति आक्रामक अभिव्यक्ति दिएर अमेरिका–चीनबीचको दूरी बढाइदिएका छन् । त्यसैले पनि चीनसँगको सम्बन्ध सुधार गर्दै व्यापारलगायत विषयलाई सामान्यीकरण गर्नु बाइडेनको आगामी कार्यभारको रूपमा देखिएको छ । राजनीति र परराष्ट्र मामिलामा अनुभवी बाइडेनले पक्कै पनि आन्तरिक र बाह्य रूपमा देखिएका चुनौतीको सामना गर्न सक्षम हुनेछन् । त्यसैले पनि बाइडेनले जिम्मेवारी सम्हालेलगत्तै समग्र विश्वको ध्यान उनले लिने निर्णयप्रति आकृष्ट भएको छ । बाइडेनको विजयलाई विश्वले उदारवादी लोकतान्त्रिक धारको विजयका रूपमा लिएको छ । उदारवादी लोकतन्त्रभित्र उदाउन खोजेका ‘छोटे ट्रम्प’हरूका बेलगाम आकांक्षालाई पनि यसले ठीक ठाउँमा राख्ने अपेक्षा गर्न सकिन्छ । यसकारण बाइडेन विजयको अर्थ हामीलाई छ ।

प्रकाशित: ९ माघ २०७७ ०३:०४ शुक्रबार

Download Nagarik App
Download Nagarik App