२३ फाल्गुन २०७७ आइतबार
सम्पादकीय

संस्कारहीन राजनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि अहिले दुवै समूहका नेताले एक अर्कालाई लगाएका आरोपले सामान्य मर्यादाको तह नाघेको देखिन्छ । पार्टी विभाजनपछि आफनो पक्षमा नेता/कार्यकर्ता तान्नु स्वमभाविक भए पनि शीर्ष नेताहरू जुन स्तरमा ओर्लिएर एक अर्कालाई गालीको वर्षा गरिरहेका छन्, त्यो घृणाको राजनीति हो । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल यस्तो आरोप/प्रत्यारोपमा अगाडि देखिएका छन् । पार्टीको शीर्ष तहमा रहेका यी तीन नेता नै गालीगलौजमा उत्रिएपछि अन्य नेता/कार्यकर्ताले त्यही अनुशरण गर्नुलाई अन्यथा मान्न सकिँदैन । नेतृत्वले जे सिकाउँछ, अन्य नेता तथा कार्यकर्ताले पनि गर्ने त्यही हुन् । त्यसैले विभाजनपछि अहिले मुलुकका विभिन्न स्थानमा भइरहेका दुवै पक्षका सार्वजनिक कार्यक्रमहरूमा गालीगलौजले मात्रै स्थान पाउन थालेको छ । राजनीतिक दलका नेता/कार्यकर्ताले अरूलाई गाली गर्नुभन्दा आफ्ना अजेन्डा जनतालाई बुझाउनुपर्छ । तर, अहिले नेकपाका यी दुवै समूहका अजेन्डा नै एक अर्काप्रति गालीगलौज गर्नुमै सीमित छन् ।  

तत्कालीन माओवादीको ‘जनयुद्ध’ समयमा ओली र दाहाल एक अर्काप्रति कटु आलोचक थिए भने माओवादी शान्ति प्रक्रियामा आएपछि पनि यी दुईको सम्बन्ध सहज थिएन । माओवादी र उसको तत्कालीन अवस्थाको हिंसात्मक राजनीतिप्रति ओली कटु आलोचक थिए । तर २०७४ सालको चुनावअघि यी दुई नेता चुनावी गठबन्धन मात्र होइन्, पार्टी एकीकरणकै लागि सहमत भए जुन धेरैका लागि आश्चर्यको विषय थियो । बरु, एकीकरणको सवाललाई लिएर तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको केही असन्तुष्टि थियो । तीन वर्ष नपुग्दै अहिले ओली र दाहाल पुरानै अवस्थामा एक अर्काविरुद्ध उत्रिएका छन् । कुनैबेला नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै साताव्यापी आमहडतालको नेतृत्व गरेका दाहाल र नेपाल एकै ठाउँमा उभिएका छन् । त्यति मात्र होइन, हरेक कार्यक्रममा दाहाल–नेपाल एक अर्काको प्रशंसामा समय खर्चिँदैछन् । राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन भन्ने तत्कालीन एमालेका नेता मदन भण्डारीको भनाइलाई विगतका यिनै घटनाले समेत स्पष्ट पारेको छ । अहिले ओली र नेपाल–दाहाल एक अर्कालाई आगामी राजनीतिमा स्थायी शत्रुझैँ चित्रण गरिरहेका छन् ।  

अहिले ओली र दाहाल–नेपाल समूहले मुख्यतः अदालतको फैसला आफ्नो पक्षमा पार्न होस् वा निर्वाचन आयोगको निर्णय आफूअनुकूल बनाउन वा नेता/कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन एक अर्काप्रति प्रहार गरिरहेका देखिन्छ । यी निर्णयमा गालीगलौजभन्दा तर्क प्रधान हुनुपर्छ । प्रमाण, सिद्धान्त र विचारले नै अदालत, निर्वाचन आयोग र कार्यकर्ताको मन जित्ने हो । दुवै पक्षले एक अर्कालाई अदालतदेखि निर्वाचन आयोगसम्मलाई धम्क्याएको आरोप लगाउँदै आएका छन् । सारमा दुवै पक्षले यी निकायलाई सही निर्णयमा पुग्न सघाएको देखिएन । कार्यकारी प्रमुखका रूपमा रहेका ओलीले पहिल्यै फैसला सुनाउँदै यी निकायलाई मनोवैज्ञानिक दबाब दिइरहेका छन् भने दाहाल–नेपाल पक्षले पनि सडक आन्दोलनमार्फत प्रतिनिधिसभा पुनस्र्थापना गर्ने घोषणा गर्दै छन् । अझ दाहालले अहिलेको आन्दोलन ‘शाकाहारी’ भएकाले अब यस किसिमको आन्दोलनले काम नगर्ने भन्दै मुठभेडको अवस्थातर्फ उक्साइरहेका छन् । यता ओलीले हरेक दिनजसो सार्वजनिक कार्यक्रममा व्यक्त गरेका विचार पनि द्वन्द्व निम्त्याउनेखालका छन् । यसरी प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति नै द्वन्द्व निम्त्याउने वातावरण निर्माण गर्नमा उद्यत हुनु कुनै हिसाबले जायज हुन सक्दैन । स्थिति भड्काउने भन्दा पनि विवेकसम्मत कार्य गरेर सबैको मन जित्न ओली, दाहाल र नेपाल लाग्नु उचित हुन्छ । दल एउटा साधन मात्र हो । राजनीतिक संस्कार त्यसको इन्धन । त्यसैले त्यसलाई सही बाटो लगाउने काम संस्कारले गर्छ ।  

नेकपाका दुई समूहका नेताहरूको गालीगलौज धेरै व्यक्तिगत तहमा झरेको छ । उनीहरूले ५० वर्षअघिको कुरासमेत उप्काउन थालेका छन् । एकले अर्काेलाई कम्युनिस्टमा हुनपर्ने गुण नभएको मात्र होइन अभिव्यक्त गर्दा लाज लाग्ने तुच्छ शब्द प्रयोग गरिरहेका छन् । यस किसिमको आरोप लगाउँदा विगतमा त्यही व्यक्तिका लागि गरेका प्रशंसा, दिएको साथ सबै भुलेका छन् । ओली र नेपालले एउटै पार्टीमा पाँच दशकदेखि निरन्तर सहकार्य गर्दै आएका हुन् । अहिले त्यो सहकार्य भुलेर एकअर्कालाई लगाएका आरोपले मर्यादाको सीमा नाघेका छन् । उनीहरूका यस किसिमका क्रियाकलापले जनता र कार्यकर्ताबीच उदांगो पारिदिएको छ । विगतमा आफ्नै पार्टीलाई १५ वर्ष नेतृत्व गरेका नेपाललाई ओलीले अहिले ‘प्रचण्डको मामुली कार्यकर्ता’ भनिरहेका छन् । यता नेपालले पनि ओलीलाई ‘कम्युनिस्टमा हुनुपर्ने कुनै विशेषता नभएको व्यक्ति’ भनेर आरोप लगाइरहेका छन् । तर, यी दुवै नेताले एक अर्कालाई यस्तो दोषारोपण गर्दा आफ्नै विगतलाई गिज्याइरहेको देखिन्छ । यस्तो आरोप लगाउँदा ओलीले नेपालकै नेतृत्वमा विगतमा १५ वर्ष पार्टीमा बसेको र नेपालले पार्टी नेतृत्वका लागि ओलीबाटै पराजित भएको र पछि प्रधानमन्त्रीका रूपमा आफैँले ओलीलाई प्रस्ताव गरेको तथ्य बिर्सन हुँदैन ।  

फेरि नेताहरूले राजनीतिमा प्रतिस्पर्धी दलबीच आलोचना भए पनि सहकार्यको स्थान यथावत् हुन्छ । त्यसैले नेताहरूले एक अर्काको आलोचना गर्दा आगामी दिनमा सहकार्य हुन सक्ने र गर्नुपर्ने संभावनालाई भुल्नुहुँदैन । अहिले ओली र दाहाल–नेपाल एक अर्काप्रति गरेको विष वमनले आगामी दिनमा उनीहरूलाई सहकार्य नै गर्न नसकिने गरी टाढा हुत्याउँदैछ । त्यो अवस्थामा फेरि कुनै परचक्रीले यिनलाई मिलाइदिनुपर्ने अवस्था आउन सक्छ । एक अर्काप्रति तुच्छ गालीगलौज गरेर उनीहरूले आफ्ना कार्यकर्ता, जनता र समाजलाई कस्तो संस्कार सिकाइरहेका छन् भन्ने कुरामा प्रधानमन्त्री ओलीदेखि नेता दाहाल–नेपाल प्रस्ट हुनैपर्छ । त्यसैले व्यक्तिगत गालीगलौज होइन, अजेन्डाका आधारमा एक अर्काे पक्षको राजनीतिक प्रतिवाद गरे हुन्छ । त्यसले मात्र तिनका नेता तथा कार्यकर्ता र आमनागरिकलाई विषयवस्तुमा जानकार गराउन सक्छ । विश्वसनीय आधारमा मात्र राजनीतिले सही मार्ग लिन्छ अन्यथा हामी अस्थिरतातर्फ उन्मुख हुनेछौँ ।

प्रकाशित: ६ माघ २०७७ १०:३८ मंगलबार

Download Nagarik App
Download Nagarik App