२३ फाल्गुन २०७७ आइतबार
सम्पादकीय

वन्यजन्तुलाई बाटो

मानव र वन्यजन्तुबीच पछिल्लो समय बढ्दै गएको द्वन्द्वका घटनाले दुवैतर्फ भइरहेको क्षति  चिन्ताको विषय हो । विशेषगरी जंगली क्षेत्रमा पूर्वाधार निर्माण भएसँगै वन्यजन्तु बस्तीतर्फ पस्ने क्रममा मानिस र बस्तीमा क्षति पुर्‍याउने गरेका छन् भने त्यही कारण वन्यजन्तु मानिसको आक्रमणमा पर्न थालेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षण तथा आसपासका क्षेत्रमा रहेका जंगली हात्तीले मानवीय क्षति गरेसँगै हात्ती मर्ने क्रम बढ्नुलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ । पछिल्लो एक महिनायता कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा बसोबास गर्ने मकुना हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुईवटा हात्ती पनि मृत अवस्थामा भेटिए । हात्तीले बस्तीमा पुगी आक्रमण गरेपछि मानिसले पनि हात्तीलाई निसाना बनाएर भालासँगै अन्य धारिलो हतियार टाढाबाट प्रहार गर्ने क्रम बढेको हो । पुस २४ गते राति सप्तरीमा आरक्ष क्षेत्रकै करिब २२ वर्षको एउटा दाह्रे हात्तीको स्थानीयले बाली जोगाउन लगाएको बिजुलीको करेन्ट लागेर मृत्यु भएको आरक्ष प्रशासनले जनाएको छ । गाउँमा प्रवेश गरेको हात्तीलाई स्थानीयले लखेटेर करेन्ट लगाएको ठाउँमा पुर्‍याएपछि मृत्यु भएको हो । यसअघि मंसिर ६ गते राति पनि बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरूप नगरपालिका क्षेत्रमा एउटा जंगली हात्तीको मृत्यु भएको थियो । यसरी महिना दिनमा दुईवटा हात्तीको मृत्यु भएपछि कोसी टप्पु र आसपासको क्षेत्रमा अब १५ वटा मात्र हात्ती बाँकी छन् । र, यसरी बाँकी रहेका हात्ती जोगाउनु आफैँमा चुनौतीपूर्ण छ । 

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र यस्ता पूर्वाधारहरू निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना निर्माणमा ध्यान दिन आवश्यक छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेर अन्डरपास र ओभरपास जस्ता संरचना निर्माण गर्न उत्तिकै आवश्यक छ । त्यसो गर्न सकियो भने वन्यजन्तु क्षति न्यूनीकरण गर्न सकिन्छ भने उनीहरूबाट हुन सक्ने संभावित मानवीय क्षति पनि कम गर्न सकिन्छ । 

बस्तीमा प्रवेश गर्नेबित्तिकै स्थानीयले निसाना बनाउने भएका कारण पनि हात्ती जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको हो । यो अवस्थामा हात्तीलाई बस्तीमा प्रवेश गर्नबाट रोकी आरक्ष क्षेत्रमै अल्मल्याउनु उचित हुन्छ । सुनसरी, सप्तरी र उदयपुर गरी १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा बनाइएको छ । तर सप्तरी र उदयपुर क्षेत्रमा भने त्यस्तो घेराबेरा बनाउन बाँकी छ । अहिलेसम्म कोसीपूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा निर्माण गरिएको हो । आरक्षको सबैतिर त्यस्तै किसिमको घेराबेरा निर्माण गर्ने हो भने हात्ती मानव बस्तीमा प्रवेश गर्ने कार्य रोकिन्छ । त्यसो भयो भने हात्ती मानवीय निसानामा पर्ने थिएनन् भने आरक्षण आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारको बसोबासलाई पनि सुरक्षित राख्न सकिने थियो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र होइन, अन्य आरक्ष क्षेत्रमा पनि यसै हिसाबले मानव र वन्यजन्तु द्वन्द्व निराकरण गर्न आवश्यक छ । त्यसो गर्न सकियो भने अहिले  नेपालमा रहेका २ सयदेखि २ सय २५ हाराहारीमा रहेका जंगली हात्तीको संरक्षण गर्न सकिन्छ । अन्यथा, अहिलेकै हिसाबले जंगली हात्तीहरू मानवीय निसानामा पर्दै गए भने यो संख्या सकिन समय लाग्दैन ।  

हात्ती मात्र होइन, अन्य वन्यजन्तु पनि यसरी नै मानवीय सिकार हुने गरेका छन् । विशेषगरी निकुञ्ज क्षेत्रभित्र सडकलगायतका पूर्वाधार निर्माण गर्दा वन्यजन्तु संरक्षणको सवालमा ख्याल नगरी त्यसैअनुरूप संरचना नबनाउँदा यस किसिमको समस्या देखिएको हो । निकुञ्जको एउटा स्थानबाट अर्काे स्थानमा जाँदा सडक पार गर्नुपर्ने अवस्था छ । वन्यजन्तुहरूलाई हिँडडुल गर्न पर्याप्त अन्डरपास नबनाइएका कारण वन्यजन्तु सडकबाटै पार गर्ने गर्छन् । त्यस क्रममा सवारी साधनले ठक्कर दिँदा तिनको मृत्यु हुने गरेको छ । पुस १८ गते पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट १० वर्षे पाटेबाघको मृत्यु भएको घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ । बाघले बाटो पार गर्दा दुर्घटना भएको हो । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको केही दिन नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भयो । यस किसिमका घटना निकुञ्ज क्षेत्रका साथै घना जंगल भएको स्थानका सडकमा बारम्बार हुने गर्छन् जुन चिन्ताको विषय हो । तर वन्यजन्तु विज्ञको भनाइ विचारणीय छ, ‘वन्यजन्तुले मान्छेको होइन, मान्छेले वन्यजन्तुको बाटो काट्दा यस्तो समस्या देखिएको हो ।’ सदियौँदेखि वन्यजन्तु हिँड्दै आएको बाटोमा राजमार्ग बनाउनु र त्यस्तो संरचना बनाउँदा वन्यजन्तुमैत्री नहुनुले पनि यस किसिमको समस्या बारम्बार देखिएको हो ।    

देशका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट दुवैतर्फ हुने क्षति बर्सेनि बढ्दै गइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७६/७७ मा मात्र हात्तीको आक्रमणबाट १३ को मृत्यु, २१ सख्त घाइते र ९ जना सामान्य घाइते भएका छन् भने गैँडाको आक्रमणबाट ४ को मृत्यु, १२ सख्त घाइते र ५ सामान्य घाइते भए । बाघको आक्रमणबाट ८ को मृत्यु, ४ सख्त घाइते भए । भालु, चितुवा, बँदेल, अर्नालगायत वन्यजन्तुको आक्रमणबाट एक वर्षमा मात्र मानवीय तथा भौतिक क्षतिका ८ हजार १ सय ६४ घटना भएको उल्लेख छ । एक वर्षभित्र  पर्सा राष्ट्रिय निकुञ्जमा मात्र सडक दुर्घटनामा १५ वन्यजन्तुको मृत्यु भएको छ भने बर्दिया राष्ट्रिय निकुञ्जमा सडक दुर्घटनामा ३५ वन्यजन्तु, बाँके राष्ट्रिय निकुञ्जमा ४८ र चितवन राष्ट्रिय निकुञ्जमा १ वन्यजन्तुको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको केही ठाउँमा अन्डरपास राखिएकाले दुर्घटना घटेको विज्ञहरूको भनाइ छ । त्यसैले पनि राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र यस्ता पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना निर्माणमा ध्यान दिन आवश्यक छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेर अन्डरपास र ओभरपास जस्ता संरचना निर्माण गर्न उत्तिकै आवश्यक छ । त्यसो गर्न सकियो भने वन्यजन्तु क्षति न्यूनीकरण गर्न सकिन्छ भने उनीहरूबाट हुन सक्ने संभावित मानवीय क्षति पनि कम गर्न सकिन्छ ।

प्रकाशित: २८ पुस २०७७ ०९:४२ मंगलबार

Download Nagarik App
Download Nagarik App