coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

नेपाल नायक पृथ्वीनारायण

हरेक वर्षको पुस २७ गते पृथ्वीनारायण शाहको स्मरण एवं सम्मानमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । पृथ्वीनारायणले छरिएर रहेका बाइसे/चौबीसे राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको रूपमा उनलाई स्मरण गर्ने गरिएको हो । त्यसैले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा पनि लिने गरिन्छ । अझ पछिल्ला वर्षहरूमा नेपाली सेनाले आधुनिक नेपाल निर्माणका क्रममा पृथ्वीनारायण शाहले विजय अभियानका लागि प्रयोग गरेका मार्गमा पदयात्रा अभियान नै थालेको छ । र, यो वर्ष पनि सेनाले २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भनी मंगलबारदेखि नै गोरखा दरबारबाट एकीकरण पदयात्रा सुरु गरिसकेको छ । 

गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौँ जंगी अड्डा आएर पुस २७ मा यो पदयात्रा सम्पन्न हुनेछ । पदयात्रामा राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पाँचवटा एकाइको निशान झण्डा संलग्न छ । पदयात्राका क्रममा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, अन्तक्र्रिया तथा प्रवचन कार्यक्रम समावेश गरिएकाले कार्यक्रममा नेपाली सेनालगायत स्थानीय, सरकारी, गैरसरकारी निकाय र सर्वसाधारणको समेत सहभागिता रहँदै आएको छ । नेपाली इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम गरिएको हो । त्यसो त गणतन्त्र स्थापनापछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिने बिदा कटौती गरे पनि अहिले सार्वजनिक क्षेत्रबाट यो दिवसलाई सरकारी मान्यता दिनुपर्ने आवाज उठ्न थालेको छ । इतिहास मेट्न हुँदैन, जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका कारण यस किसिमको आवाज उठेको हो जसलाई अन्यथा लिन हुँदैन ।  

पृथ्वीनारायण शाहलाई एउटा राजाका रूपमा मात्रै देख्ने जुन मानसिकता गणतन्त्र स्थापनापछि देखियो, त्यसले केही समस्या ल्याएको पक्कै हो । त्यसमाथि उनका पछिल्ला सन्ततिले राज्यव्यवस्था सञ्चालनका क्रममा जे÷जस्ता कमीकमजोरी गरे, त्यसको दोष पितापुर्खासम्म थोपरेर इतिहासलाई अवमूल्यन गर्ने काम पनि भएकै हो । गणतन्त्र स्थापनाको सुरुवाती वर्षहरूमा यस किसिमको उन्माद देखिए पनि विस्तारै त्यो क्रम सेलाउँदै गएको देखिन्छ । र, इतिहासको जगेर्ना, संरक्षण र सम्मान गर्नुपर्छ भन्ने बहस पछिल्ला वर्षहरूमा व्यापकरूपमा हुन थालेको छ । यसै क्रममा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाउनुपर्ने आवाज उठ्न थालेको हो ।

 पृथ्वी जयन्तीको उपलक्ष्यमा पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, पृथ्वीनारायण शाह र उनका दिव्य उपदेशलाई स्कुल र कलेजमा अध्यापन गराउनुपर्ने, गोरखा दरवारमा उनको जीवनी र नेपाल एकीकरणका झल्को दिने गरी संग्रहालय स्थापना गर्नुपर्नेलगायत माग विभिन्न क्षेत्रका व्यक्तिहरूले अघि सारेका छन् । अहिले हामी नेपाली हुनुमा गर्व गर्छाैँ, त्यसमा पृथ्वीनारायणको एकीकरणको योगदान छ । त्यसैले पनि आधुनिक नेपाल निर्माण गर्ने नायकलाई सम्मान दिने कुरा जुनसुकै व्यवस्थामा पनि हुनुपर्छ । त्यसमाथि लोकतान्त्रिक शासन व्यवस्थामा त सबै किसिमका विचार, वाद र सिद्धान्तले स्थान र सम्मान पाउँछन् नै । त्यसैले पनि पृथ्वीनारायण शाहको विषय कुन विचार र सिद्धान्त राख्ने समूहले उठाइरहेको छ भन्ने मुख्य विषय होइन, त्यस्ता राष्ट्रनायकलाई सम्मान गर्नु सबैको कर्तव्य हो ।  

कतिपयले पृथ्वीनारायण शाहको विजययात्रालाई एकीकरण नभई गोरखा राज्यको विस्तार मात्र हो भन्ने गरेको पनि पाइन्छ । तत्कालीन अवस्थामा विशाल चीन साम्राज्य र बढ्दो ब्रिटिस भारतको साम्राज्यको बीचमा रहेको नेपाल राज्य जोगाउनु नै पृथ्वीनारायणको मूल सिद्धान्त भएको देखिन्छ । नेपाल राज्य जोगाउने क्रममा उनले गरेका कतिपय कदमको अहिले आएर विरोध भएको पनि देखिन्छ । तर, त्यसलाई तात्कालिक अवस्थाको बाध्यताका रूपमा व्याख्या गर्नेहरू पनि उत्तिकै छन् । पृथ्वीनारायण शाहलाई नायक भन्नेहरू जति छन्, प्रतिनायक भन्नेहरूको संख्या पनि नभएको होइन । जे होस् तात्कालिक अवस्थामा पृथ्वीनारायण शाहले जे÷जस्ता कार्य गरे, त्यसैका आधारमा उनको विषयमा व्याख्या हुने गरेको हो । यो विषयमा जतिसुकै बहस गरे पनि अहिलेको आधुनिक नेपाल निर्माणको श्रेयचाहिँ पृथ्वीनारायण शाहलाई नै जान्छ ।

  मुख्य कुरा पृथ्वीनारायण शाहले त्यतिखेर जे÷जस्ता धारणा राखेका थिए, आज तीन शतकपछि पनि ती विषय उत्तिकै सान्दर्भिक छन् । पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाको तरुल भनी छिमेकको सम्बन्धलाई जुन हिसाबले व्याख्या गरेका थिए, त्यो आज पनि उत्तिकै सान्दर्भिक छ । त्यति मात्र होइन, चाहे भ्रष्टाचारसँग सम्बन्धित विषयमा होस् वा आफ्ना विरोधीसँग प्रतिस्पर्धा गर्ने सवालमा नै किन नहोस्, पृथ्वीनारायण शाहले उतिबेला जे भनेका थिए आज पनि ती विचार मननीय छन् । त्यसैले अहिलेको अवस्थामा पृथ्वीनारायण शाहलाई पूर्वाग्रहको दृष्टिकोणले हेर्ने होइन, नेपाली हुनुको शान र गौरवका साथै त्यसमा पृथ्वीनारायण शाहले पु¥याएको योगदान ऐतिहासिक दृष्टिकोणले हेर्नु उपयुक्त हुन्छ । र, त्यसैका आधारमा उनलाई स्मरण गर्ने गरौँ । 

प्रकाशित: २७ पुस २०७७ ०२:०० सोमबार

Download Nagarik App
Download Nagarik App