६ वैशाख २०८१ बिहीबार
सम्पादकीय

खोपमा पनि खेलाँची

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने अनिश्चितताको अवस्था देखिएको छ । त्यसले हाम्रा सरकारी निकायहरूको असफलता मात्र देखाएको छ । जतिखेर कोरोना भाइरसविरुद्धको खोप परीक्षण हुँदै थियो, त्यतिखेर सरकारी अधिकारीहरूले छिमेकी मुलुक भारतमा खोप सुरु भएसँगै आफूहरूले पनि पाउने दाबी गर्दै आएका हुन् । तर अहिले भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको तथा भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभासिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ । र, अबका केही दिनमै भारतले खोपको व्यापक अभियान सञ्चालन गर्ने भएको छ । यो अवस्थामा नेपालले भने खोप उत्पादक कम्पनीहरूसँग कुराकानी गर्न थालेको छ । भारतका लागि राजदूत नीलाम्बर आचार्यले त्यहाँको खोप निर्माता सेरम इन्स्टिच्युट र बायोटेकसँग खोप खरिदका विषयमा प्रारम्भिक कुराकानी गरेका हुन् । जबकि दक्षिण एसियाकै अर्काे राष्ट्र बंगलादेशले सेरम इन्स्टिच्युटले बनाएको ३ करोड मात्रा खोप खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ भने फेब्रुअरीको सुरुमा खोपको पहिलो खेप ढाका पुग्ने संभावना छ । बंगलादेशले खोप खरिदका लागि जुन किसिमको सक्रियता देखायो, त्यति गर्न नेपालले पनि नसक्ने थिएन । तर, हाम्रा सरकारी निकाय भने जनस्वास्थ्यको सवालमा संवेदनशील देखिएनन् जसले गर्दा छिमेकी मुलुक सबैतिर कोरोना भाइरसविरुद्धको खोप अभियान चल्दा पनि हामी भने टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ । सरकारका लागि यो राष्ट्रिय लज्जाको विषय हुनुपर्ने हो ।

नेपालका सरकारी निकायहरू जनस्वास्थ्यको सवालमा संवेदनशील देखिएनन् जसले गर्दा छिमेकी मुलुकहरू सबैतिर कोरोना भाइरसविरुद्धको खोपको अभियान नै चल्दा पनि हामी भने टुलुटलु हेरेर बस्नुपर्ने अवस्था आएको छ । सरकारका लागि यो राष्ट्रिय लज्जाको विषय हुनुपर्ने हो ।   

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी साता भारत भ्रमण गर्ने तय भएको छ भने भ्रमणको अजेन्डा कोरोना भाइरसविरुद्धको खोपसमेत भएको जनाइएको छ । यसअघि पटक–पटक तय भए पनि मुलुकको आन्तरिक राजनीतिमा देखिएको संकटका कारण परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण स्थगित हुँदै आएको थियो । भारतका परराष्ट्र सचिव हर्षवद्र्धन श्रींगलाले नोभेम्बरमा गरेको नेपाल भ्रमणका क्रममा भारतले खोप उपलब्ध गराउने बताएका थिए । त्यसलगत्तै नेपालबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुने र त्यसमा खोपको विषयमा कुराकानी हुने अपेक्षा गरिएको थियो । शायद, त्यतिखेर भ्रमण भएको भए खोपको मामिलामा भारतबाट हुन सक्ने संभावित सहयोगको विषय प्रष्ट हुने थियो । परराष्ट्र मन्त्रालयले भने भारत सरकारसमक्ष उसले खरिद गर्ने हरेक खोपमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने मात्रा पनि संलग्न गरेर खरिदमा सहजीकरण गर्न अनुरोध गरेको छ । र, अहिले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका क्रममा यो विषयमा कुराकानी हुनेछ भने यसमा भारत सकारात्मक हुने अपेक्षा गरिएको छ । कथंकदाचित भारतले यसरी २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे पनि त्यसका लागि समय लाग्न सक्छ । त्यसका साथै जनसंख्याको बाँकी हिस्सालाई आवश्यक पर्ने खोपको विषयमा पनि उत्तिकै अन्योल छ ।  

विश्व स्वास्थ्य संगठन, गाभी र सेपीको सहकार्यमा स्थापना गरिएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध हुने जनाइएको छ । यसमा नेपालको अनुरोधअनुरूप भारतीय सरकारले थप २० प्रतिशतलाई आवश्यक खोप उपलब्ध गराए देशको कुल जनसंख्याको ४० प्रतिशतले खोप प्राप्त गर्ने अवस्था रहन्छ । त्यसपछि बाँकी जनसंख्याका लागि सिधै खोप निर्माता कम्पनीहरूसँग खरिद गर्नुपर्ने हुन्छ । यही अवस्थालाई ध्यानमा राख्दै सरकारले हालै सेरम इन्स्टिच्युटलाई पनि आफू खोप खरिद गर्न इच्छुक रहेको पत्र पठाएको छ भने उता भारतमा राजदूत आचार्यले त्यस कम्पनीसँगको कुराकानी अघि बढाएका हुन् । यता चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफर्मद्वारा विकास गरिएको खोपलाई चीन सरकारले हालै अनुमोदन गरेको छ । अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले कम्तीमा २० लाख मात्रा खरिद गरे मात्र नेपाललाई खोप उपलब्ध गराउन सकिने बताएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ । नेपालले खोप खरिदका लागि बनाएको निर्देशिकामा मागेको मात्रामा उपलब्ध गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा जुन देशमा उत्पादन भएको हो, त्यही देशमा समेत प्रयोग भएको हुनुपर्ने जस्ता आधारहरू तय गरेको छ । यी आधारले नेपालका लागि सेरम इन्स्टिच्युटको खोप बढी सान्दर्भिक भएकाले पनि त्यतातिरको कुराकानीलाई विशेष जोड दिएको देखिन्छ । त्यससँगै चिनियाँ खोप सिनोफर्म र अमेरिकी उत्पादक कम्पनी मोर्डनाको खोप पनि अग्रपंक्तिमा रहेको छ । यो अवस्थामा सरकारले खोप उपलब्ध गराउने मामिलामा विगतदेखि नै बहुविकल्प खुला गरेर जुन सक्रियता देखाउनुपर्ने हो, त्यसमा कमजोरी भएकै हो । अब कम्तीमा विगतका ती गल्तीबाट सिक्दै छिटो भन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी काम थाल्न जरुरी छ । मुख्य कुरा अबका दिनमा परिणाम नै देखिने गरी काम गर्न आवश्यक छ । कोरोना विषाणु संक्रमणको थालनीदेखि अहिले खोप आपूर्ति गर्नेबेलासम्म एकै ढंगको अन्योल रहिरहने र सुधार नआउने अवस्थाबाट मुक्त हुनुपर्छ ।

प्रकाशित: २६ पुस २०७७ ०४:४५ आइतबार

Download Nagarik App
Download Nagarik App