१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

दसैँ घरमै मनाऔँ

नेपालीको प्रमुख चाड दसैँ नजिकिँदै गर्दा कोरोना भाइरस संक्रमणको दर पनि बढ्न थालेकाले यसले सबैतिर चिन्ता बढाएको छ। कामका लागि विभिन्न स्थानमा पुगेकाहरू दसैँमा आफ्नो थातथलो फर्किने गर्छन्।आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने र इष्टमित्र भेटघाट गर्ने त दसैँको विशेषता नै हो। यसरी आफ्नो थातथलो फर्किँदा होस् वा आफन्त, इष्टमित्रकहाँ जाने कुराले नै किन नहोस्, अन्य समयमा भन्दा यो बेला अत्यधिक मात्रामा मानिसको आवतजावत हुने गर्छ।दसैँका बेला किनमेलका कारण बजारमा भीडभाड हुने गर्छ भने विभिन्न सार्वजनिक स्थानमा पूजापाठका लागि होस् वा अन्य भेटघाट र मनोरञ्जनका लागि पनि उत्तिकै भीडभाड हुने गर्छ।

दसैँमा हुने यस किसिमका आवागमन, भेटघाट र भीडभाडले कोरोना संक्रमणको दरलाई अझै फैलाउने खतरा रहन्छ।त्यसमाथि अहिले काठमाडौँ कोरोना संक्रमणको हटस्पटका रूपमा देखिएको छ भने अध्ययन र कामको खोजीमा उपत्यकाबाहिरबाट यहाँ आएकाहरू दसैँको समयमा आफ्नो थातथलो फर्किँदै छन्।सर्वसाधारणको यस किसिमको आवागमनले पनि कोरोनाको महामारी देशैभर फैलिने खतरालाई बढाइदिएको छ।अझ दसैँमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका÷ज्येष्ठ नागरिकहरूसमक्ष जाने भएकाले कोरोनाबाट जोखिम रहेको यो वर्ग थप जोखिममा पर्ने संभावनालाई नकार्न सकिँदैन।त्यसैले पनि यो वर्षको दसैँमा अनावश्यक हिँडडुल र भीडभाड गर्नुभन्दा पनि आआफ्नै घरभित्र बसेर मनाउनु उचित देखिन्छ।

त्यसो त जनस्वास्थ्यविद्देखि विभिन्न क्षेत्रका व्यक्तिले पनि यसपटकको दसैँमा अनावश्यक हिँडडुल नगर्न र आफ्नै घरमा बसेर मनाउन अपिल गरिरहेका छन्।कतिपय स्थानमा त यसपटकको दसैँमा आफन्त/इष्टमित्रलाई दसैँमा नबोलाउने भनी समुदायस्तरबाटै निर्णयसमेत भइसकेका छन्।कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हाँस्य कलाकार हरिवंश आचार्यले होम आइसोलेसनबाटै ‘कोरोना भाइरसलाई सामान्यरूपमा लिन नहुने’ बताउँदै यसपटक घरमा परिवारका सदस्यबाहेक आफन्तहरूबाट टीका नलगाउने र टीका लगाउन आफ्नोमा पनि नआउन आग्रह गरे।संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ‘कोरोना महामारीजन्य विषम परिस्थितिका कारण यसपटकको दसैँमा छोरी/ज्वाइँ, नातिनातिना टीका लगाउन नआउनुहोला, तपाईँहरूलाई हाम्रो आशीर्वाद छँदैछ।

हामी पनि अग्रजसँग टीका थाप्न आउनेछैनौँ।तपाईँहरूको आशीर्वाद पनि हामीलाई छँदैछ।यसपटक क्षमा गरिदिनुहोला।टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नुहोला’ भनी सामाजिक सञ्जालबाटै अपिल गरे।यी त केही उदाहरण मात्र हुन्, जनस्वास्थ्यविज्ञदेखि सचेत नागरिकसम्म सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नै घरमा बसी दसैँ मनाउन आग्रह गरिरहेका छन्, जसलाई समाजका सबै तह/तप्काले सकारात्मक रूपमा लिँदै व्यावहारिक रूपमा कार्यान्वयन गर्न पनि उत्तिकै जरुरी छ।

दसैँमा टीका थाप्न आउने/जाने आफन्त तथा नाताकुटुम्बबाटै संक्रमण फैलने सम्भावना भएकाले पनि गाउँ, टोल, नगरले मात्र नभई व्यक्तिले नै आफन्तलाई टीका लाउन नआउनू भन्न थालेका हुन्।यसरी आफन्तलाई टीका थाप्न नआउनू भन्दा नमज्जा लाग्ने विषय हो।तैपनि अहिलेको परिस्थितिअनुसार आफू, घर/परिवार, समाज र मुलुकलाई संक्रमणबाट सुरक्षित बनाउने हो भने योभन्दा उत्तम उपाय पनि अरू केही छैन।

कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकले ‘यो दसैँमा मावली पनि नजाने, छोरी/ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने’ निर्णय गरिसक्यो।त्यसैअनुसार गाउँका सबैले आआफ्ना आफन्तलाई फोनै गरेर यसपटक टीका थाप्न नआउनू भन्ने सन्देश पठाइसके।हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका कोतघरमा लगाइने सामूहिक टीका पनि यसपटक नलगाउने निर्णय भइसक्यो।घान्द्रुक र ठिनीका समुदायले गरेको यो निर्णय केही उदाहरण मात्रै हुन्। धेरैतिर समुदाय आफैँ  सचेत भएर यस्तै किसिमका निर्णय भइरहेका छन् जुन आफँैमा सराहनीय छ।यस किसिमका निर्णयले कम्तीमा संक्रमण थप फैलिन नदिन अवश्य पनि मद्दत गर्नेछ।

त्यसैले यसपटक हरेक समुदाय/नागरिकले आफैँ सचेत भएर दसैँमा सामूहिक टीका नलगाउने, पिङ नराख्ने, नाचगान एवं भोजभतेरलगायतका कार्यक्रम रद्द गर्न जरुरी छ।कोरोना कुनै व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन, त्यसैले पनि यसलाई थप फैलिन नदिन सिंगो समाजले नै अग्रसरता देखाउन जरुरी छ।मुख्य कुरा यसपटक जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन सकियो भने कोरोना महामारी थप फैलिने थिएन।

त्यसका लागि हरेक नागरिक सचेत हुनैपर्छ।त्यसो त परम्परा र रीतिरिवाजलाई त्यत्तिकै थाती राख्न नसकिने तर्क पनि कतिपयले गर्ने गरेका छन्।यसमा सबैले बुझ्नुपर्ने कुरा के हो भने हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छन्, त्यहीँ बसेर दसैँको परम्परा अघि बढाउनुपर्छ।यो महामारीबाट सुरक्षित हुन सकिए दसैँ त अर्काे वर्ष पनि मनाउन सकिन्छ।तर अहिले हेलचेक्र्याइँ गर्दा संक्रमणको जोखिम बढ्ने मात्रै होइन, ज्यानै जान पनि सक्छ।त्यसैले पनि यस वर्षको दसैँको शुभकामना भनेकै ‘घरमै बसौँ, आफू र समाज सबैलाई सुरक्षित राखौँ’ भन्ने हो।त्यसैले यस वर्षको दसैँलाई आफ्नै घरमा मात्र सीमित राखौँ र सुरक्षित बनौँ÷बनाऔँ।हाम्रो तर्फबाट पनि दसैँको यही मंगलमय शुभकामना ।

प्रकाशित: ७ कार्तिक २०७७ ०१:४४ शुक्रबार

Download Nagarik App
Download Nagarik App