२८ श्रावण २०७७ बुधबार
सम्पादकीय

ज्ञान मन्दिरको गति

स्कुल ज्ञानका मन्दिर मात्र होइनन् नैतिकताका किल्ला पनि हुन्। स्कुलमा केवल कितावमात्र पढाइन्छ भन्ने सोच्नु आफ्नो भूमिकालाई सीमित गर्नु हो। प्रत्येक व्यक्तिको जीवनमा आफूले स्कुलमा गएर सिकेको ज्ञानको महत्ता हुन्छ। यसैलाई ‘स्कुलिङ’ भनेर पनि चिन्ने गरिन्छ। कुनै विश्वविद्यालयमा पढिरहेका बेलासमेत प्रायः विद्यार्थीले स्कुल जाने भनिरहेका हुन्छन्। त्यसैले हामीकहाँ जस्तो स्कुल भनेको १२ कक्षासम्म पढ्न जानुमात्र होइन। स्कुल जानु भनेको निरन्तर आफ्नो शिक्षाका निम्ति उच्च कक्षासम्म जानु हो। अध्ययन÷अनुसन्धान आदि÷इत्यादि कर्म सबै स्कुलका काम हुन्। राम्रो सिप सिक्नु, नैतिक चरित्र उच्च बनाउनु र तद्नुकूल जिम्मेवार नागरिक बन्नु स्कुल क्रियाकलाप हुन्।

कोरोना विषाणु प्रकोपले थला पारेको क्षेत्र शिक्षा पनि हो। धेरैको कल्पनामा स्कुल नगई अनलाइनबाट मात्रै शिक्षा पूरा हुन्छ भन्ने थिएन। ‘अनक्याम्पस’ शिक्षा कोरोना विषाणुका कारण सम्भव नभएपछि यतिबेला ‘अनलाइन’ बाट समेत सिक्ने÷सिकाउने काम भइरहेको छ। यो नियमित सिकाइमा परेको प्रभाव भयो। यसपटक कक्षा १० को पढाइ पूरा गरेका विद्यार्थीको अन्तिम परीक्षा एसइइ गराउन सम्भव भएन। त्यसका निम्ति सरकारले आन्तरिक परिक्षाको अंकलाई नै मान्यता दिने भएको छ। यस्तो अंक दिने जिम्मेवारी अहिले सम्बन्धित स्कुलले पाएका छन्। वास्तवमा तिनलाई यसअघि आन्तरिक परीक्षामा दिइएको अंकलाई आधार मान्ने हो भने खासै फरक पर्ने थिएन। कुनै अत्यन्तै मेधावी विद्यार्थी छन् भने तिनका निम्ति विशेष ध्यान दिन अन्य मूल्यांकन विधिसमेत उपलब्ध छन्।  

नैतिकता र शिक्षा दुवै दिनुपर्ने स्कुलहरू यहीँ चुकेका देखिएको छ। यतिबेला आफूले अंक दिन पाइने भएपछि पूर्णाङ्कभन्दा बढी अंक दिएर तिनले भाँडभैलो गरेको देखिएको छ। आफूले अंक दिने भएपछि सम्बन्धित विद्यार्थीले आर्जन गरेकोभन्दा बढी देखिनुहुँदैन। कुनै कक्षाको प्राप्ताङ्क भनेको आर्जित (अर्नड) हो। विद्यार्थीले आफूले आर्जन गरेको नभई दयामायाले दिएको भनेको जीवनभरिका निम्ति शिर झुक्ने विषय हो। कहिले अभिभावकले आफ्ना सन्तानलाई बढी अंक दिलाउन दबाब दिने, कहिले सम्बन्धित स्कुलले आफूकहाँ विद्यार्थी तानिरहन बढी अंक दिने दुवै प्रवृत्ति हाम्रो शिक्षाका निम्ति घातक हुन्।  

वास्तवमा जाँच लिने प्रबन्ध गर्नुपर्ने थियो। कोरोना विषाणुका कारण त्यो सम्भव भएन। तैपनि सम्बन्धित विद्यार्थीलाई आफू कोरोनाका कारण स्वतः उत्तीर्ण भएको नपर्ने गरी व्यवस्था मिलाउनुपर्ने हो। त्यसका निम्ति यसअघि तिनले पाएको आन्तरिक परीक्षाको अंक नै यसका निम्ति आधार हुनुपर्छ। यसै पनि कक्षा दश स्कुल शिक्षाको अन्तिम बोर्ड परीक्षा लिनुपर्ने स्थितिमा छैन। विगतको एसएलसी नामक ‘फलामे ढोका’ लाई हामीले एसइइमार्फत् विस्थापित गरिसकेका छौँ यसकारण अहिले १० कक्षाको जाँच पनि केवल स्कुलकै एउटा सोपान चढेकोमात्र हो। यसलाई ठूलो हौवा बनाएर केही निजी स्कुललाई व्यवसाय गर्ने माध्यम विगतमा बनाइएको हो।  

एसएलसीमा राम्रो अंक पाउने नाममा ती स्कुलले गरेको विगत कमाइ हामी सबैका अगाडि छ। निजी क्षेत्रका स्कुलले शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने गरी जनशक्ति उत्पादन गरेका छन्। यो राम्रो पक्ष हो। सार्वजनिक शिक्षा ध्वस्त बनाउन सरकारी निकायदेखि निजी क्षेत्रको व्यवसायसमेत उत्तिकै जिम्मेवार छ। निजी क्षेत्रमा पहुँच भएका सीमित व्यक्तिमात्र पुग्छन्। सार्वजनिक स्कुल पनि निजी क्षेत्र जत्तिकै प्रतिस्पर्धात्मक बनाइएको भए स्थिति भिन्न हुने थियो। त्यसले हाम्रा नागरिकको स्तर राम्रो हुन्थ्यो, तिनको प्रतिस्पर्धात्मक क्षमतासमेत उच्च हुन्थ्यो। सरदर किसिमको पढाइ भएका कारण सबै क्षेत्रमा अहिले सामान्य किसिमको मात्र काम हुन सकेको छ। उत्कृष्ट उत्पादनबाट मात्रै आजको दुनियाँको प्रतिस्पर्धामा खरो उत्रन सम्भव हुन्छ।  

एसइइका विद्यार्थीलाई विद्यालयले गम्भीर लापरबाही गरी पूर्णाङ्कभन्दा बढी रकम दिनुलाई सामान्य घटनाका रूपमा मात्र चित्रण गर्न सकिँदैन। यसले हाम्रो मानसिकतालाई समेत उजागर गरेको छ। क्षमताभन्दा बढी अंक दिनु वा सम्बन्धित विद्यार्थीको मेहनतभन्दा बढी प्रतिफल दिनु भनेको उसलाई भविष्यमा बिगार्नु हो। त्यसले उच्च नैतिकतायुक्त नागरिक समाज उत्पादन गर्न सक्दैन। अहिले हामीले चौतर्फीरूपमा देख्ने गरेको नैतिकताको ह्रास यसै कारण भएको हो। मौका पाउनासाथ इमानदारी गुमाउन तयार हुने जमात यस्तै तरिकाबाट तयार हुने हो। विद्यार्थीलाई आफूले स्कुलमा सिकेको नैतिकताको पाठले जिन्दगीभर सक्रिय हुन मद्दत गर्नेछ।

अतः यो कोरोना कहरमा एसइइको जाँच दिन नपाएका विद्यार्थीलाई भविष्यमा लज्जित नहुने अवस्थामा राख्नु स्कुल र अभिभावक दुवैथरीको कर्तव्य हो। यो अंकको खासै ठूलो अर्थ छैन। जो साँच्चिकै बढी अंक पाएर आफूले रोजेको विषय अध्ययन गर्न चाहन्छन्, तिनका निम्ति यसअघि आन्तरिक परीक्षामा आएका अंक पर्याप्त हुन्छ। आफ्नो हातमा रहेका बेला नियम नैतिकताको ख्यालै नगरी जथाभावी अंक दिने हो भने सम्बन्धित स्कुलको विश्वसनीयतासमेत कमजोर हुनेछ। ज्ञानको थलो विद्यार्थीका निम्ति जीवनपर्यन्त सशक्त प्रभाव पार्ने हुनुपर्छ। खुसामदबाट प्राप्त अंकले सम्बन्धित विद्यार्थीको भविष्य सुन्दर हुने छैन। स्कुलहरूले कतैबाट औँला ठड्याउन नसक्ने अवस्था सिर्जना गर्नुपर्छ।

प्रकाशित: ३१ असार २०७७ १०:४० बुधबार

Download Nagarik App
Download Nagarik App