८ वैशाख २०८१ शनिबार
सम्पादकीय

त्रासद मानसिकता

कोरोना विषाणुले हाम्रो दैनिक जीवनका बहुआयामिक पक्षलाई आक्रान्त तुल्याएको छ। हुँदाहुँदा यो अहिले हाम्रो मानसिक स्वास्थ्यका निम्ति समेत गम्भीर चुनौती बनिसकेको छ। यस विषाणुसँग लड्न सुरु गरिएको बन्दाबन्दीपछि आम नागरिकको मानसिक स्वास्थ्यमा परेको नकारात्मक असर समाजमा देखिँदैछ। व्यक्तिमा बेचैनी बढेको छ। यही स्थिति बढ्दै जाँदा आफैंलाई हिंसा गर्ने अवस्थामा समेत धेरै व्यक्ति पुगेका छन्। केही समययता बढ्दै गएका आत्महत्याका घटनाले यसैलाई इंगित गर्छ। बन्दाबन्दीका कारण धेरैले आफ्नो रोजीरोटी गुमाएका छन्। आर्थिक स्थिति कमजोर हुँदै जाँदाको पीडा सहन सजिलो छैन। कोरोना विषाणु संक्रमणपछि व्यक्तिले एकान्तमा बस्दा एक्लोपन महसुस गरेको देखिएको छ। त्यसरी बस्दाका असुविधाले पनि व्यक्तिलाई आत्महत्यासम्मको स्थितिमा पु¥याएको छ। क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका घटना यस्तै मानसिकताका उपज हुन्।  

स्वाभाविक रूपमा मानव जीवन समस्याले भरिएको छ। तर, जिम्मेवार मानिसले समस्याको समाधान निकाल्दै अगाडि बढ्ने सोच बनाउँछन्। आफ्नो मन बुझाउन आफू मात्र होइन, अन्य धेरैको यस्तै अवस्था हो भन्ने ढंगले सोच्न सक्छन्। केही मानिसले भने सबै कुराको अन्त्य भइसकेकाले ‘आत्महत्या नै सबै समस्याको समाधान हो’झैं व्यवहार गरिरहेका हुन्छन्। कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुने संख्या ३४ छ। सोमबारसम्म कुल संक्रमित १५ हजार नौ सय ६४ मध्ये ६ हजार आठ सय ११ जना निको भइसकेका छन्। निको भएको ठूलो संख्याले संक्रमित हुनासाथ आत्तिनुपर्दैन भन्ने सन्देश दिन्छ। कोरोना निको भएका व्यक्तिले पनि ‘उच्च मनोबल’ राख्नुपर्ने सन्देश दिएका छन्।  

कोरोनाबाट मृत्यु हुनेको तुलनामा आत्महत्याबाट हुनेको संख्या बढी देखिएको छ। गत चैत ११ मा बन्दाबन्दी सुरु भएयता एक हजार एक सय पाँच व्यक्तिले आत्महत्या गरिसकेका छन्। यो भयावह तथ्यांकका आधारमा तत्कालै मानसिक स्वास्थ्य क्षेत्रमा केही गरिहाल्नुपर्ने र न्यून आय भएका वर्गका व्यक्ति, घरपरिवारमै बस्नुपर्नेहरू आदिका बारेमा समेत ध्यान पु-याउनुपर्ने देखिएको छ। आफूमा कुनै नकारात्मक अवस्था आउँदैछ भने त्यसमा उपचार खोज्नुपर्छ। वास्तवमा हामीकहाँ मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको देखिँदैन। यो स्थिति अहिले मात्र होइन, तत्कालीन माओवादीले चलाएको दशवर्षे ‘जनयुद्ध’का क्रममा भएको क्षतिले पनि मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको हो। त्यसको असर अहिलेसम्म कैयौं व्यक्तिमा परेको छ। २०७२ को भूकम्पको मारमा पर्दा समेत जनधनको ठूलो क्षति भएको छ। त्यसले पनि सबैलाई कुनै न कुनै रूपमा असर पारेको छ।

सोमबारसम्म कुल संक्रमित १५ हजार नौ सय ६४ मध्ये ६ हजार आठ सय ११ जना निको भइसकेका छन्। निको भएको ठूलो संख्याले संक्रमित हुनासाथ आत्तिनुपर्दैन भन्ने सन्देश दिन्छ। कोरोना निको भएका व्यक्तिले पनि ‘उच्च मनोबल’ राख्नुपर्ने सन्देश दिएका छन्।

हाम्रो मुलुकमा राजनीतिक परिवर्तनका निम्ति भएका आन्दोलनमा सक्रिय भएका र पछि आफूले अपेक्षा गरेअनुसार परिवर्तन अनुभव गर्न नसकेकामा समेत नकारात्मक प्रभाव परेको छ। मुलुकको राजनीति बिग्रँदा होस् वा अपेक्षा गरेअनुसार नागरिक जीवनस्तरमा सुधार आउन नसक्दा होस्, व्यक्तिको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्छ। वास्तवमा अचेल आमरूपमा सामाजिक सञ्जाल अवलोकन गर्दा धेरै व्यक्तिमा नकारात्मक भावनाको विकास भएको देखिन्छ। सकारात्मक दृष्टिकोण बनाउन नसक्ने अवस्था धेरैमा आइपरेको देखिन्छ। सूचना प्रविधिको विकासले मानिसलाई अरुको प्रगति मात्र देख्ने र इष्र्या वा डाह गर्नुपर्ने अवस्थामा समेत पु-याएको छ। अरुले यति राम्रो गरेका छन्, मैले केही गर्न सकिनँ भन्ने भाव विकास भइरहेको छ। विगतमा पनि हामीकहाँ गरिबी र पछौटेपन नभएको होइन। तर, व्यक्तिलाई कुनै न कुनै रूपमा आश्वस्त तुल्याउने गरी यहाँका धार्मिक संघ–संस्था, सामाजिक बनोट र आम रूपमा सहयोगी चरित्रले मद्दत गरेको हो। हामीलाई अझै पनि हंसमुख व्यक्तिका रूपमा संसारले चिन्ने गर्छ। नेपालीले जस्तै अप्ठेरो अवस्थालाई सामना गर्छन् भन्ने देखिन्छ। नेपालीको भूकम्पलाई सामना गरेको अवस्थालाई लिएर धेरै विदेशी सञ्चारमाध्यममा प्रशंसाका सामग्री प्रकाशित समेत भएका हुन्। तर, भूकम्पभन्दा कोरोना विषाणु विरुद्धको अहिलेको बन्दाबन्दीले धेरैलाई अप्ठेरोमा पारेको देखिएको छ। त्यसैले अहिले नागरिकमा देखिएको निराशा र त्रास हटाउन तत्काल पहल आवश्यक छ।  

पछिल्ला अध्ययनले नेपालको कुल जनसंख्याको २० प्रतिशतमा बेचैनी, डर, निराशाजस्ता कुनै न कुनै प्रकारका मनोसामाजिक समस्या रहेको देखाएको छ। यस हिसाबले हेर्दा करिब तीन करोड जनसंख्यामध्ये ६० लाखमा यस्तो समस्या रहेको देखिन्छ। त्यसकारण पनि यो ठूलो जनसंख्यालाई सम्बोधन गर्ने गरी सरकारको कार्यक्रम बन्नुपर्छ। मानसिक स्वास्थ्य राम्रो हुन नसक्दा त्यसले समग्रमा प्रभाव पार्न सक्छ। मुलुकको सर्वतोमुखी विकासका निम्ति पनि मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ। मानसिक स्वास्थ्य कम प्राथमिकतामा छ भन्ने यसका निम्ति तोकिएका अस्पताल र स्वास्थ्य संरचनाको कमीबाट पनि देखिन्छ। मानसिक अवस्थाबारे चिकित्सकको परामर्शमा जानुलाई समेत एउटा असामान्य अवस्थाको रूपमा लिने गरेको पाइन्छ। उपचारबाट पुनः सामान्य अवस्थामा पुग्न सकिन्छ भन्ने चेतना कमै छ। वास्तवमा यति ठूलो संख्यामा आम नागरिकले आत्महत्या गरिरहेको पक्षलाई बेवास्ता गर्न सकिँदैन। यसलाई बढावा दिने पक्षबारे गहिरो अध्ययन गरी निराकरणका निम्ति ध्यान दिनु अहिलेको आवश्यकता हो। 

प्रकाशित: २३ असार २०७७ ०५:०६ मंगलबार

Download Nagarik App
Download Nagarik App