coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

विचलित वर्तमान

विश्वका दुई धु्रवका उस्तै/उस्तै प्रकृतिका दुई घटनालाई लिएर यतिबेला नेपाली समाजसमेत उद्वेलित भएको छ। उता अमेरिकाको मिन्नेसोटामा प्रहरीले घाँटी थिचेर मारेका काला जातिका अमेरिकी नागरिक जर्ज फ्लोएडको घटनाले सिंगो अमेरिका आन्दोलित छ। यता नेपालको दुर्गम पहाडी जिल्ला रुकुम पश्चिममा जाजरकोटी युवा नवराज विश्वकर्मासहित छ जना युवाको हत्याले यहाँ मानवतालाई गिज्याइरहेको छ। संसारलाई लोकतन्त्रको पाठ पढाउने अमेरिकामा प्रहरीले आफ्नो हिरासतमा लिएका व्यक्तिलाई ‘आइ क्यान्ट ब्रिद’ (म सास फेर्न सक्दिन) भन्दाभन्दै थिचेर मारेको घटनाले त्यहाँ विद्यमान संरचनागत समस्या उजागर भएको छ। हामीकहाँ आफूले प्रेम गरेकी केटीसँग विवाहका निम्ति गएको युवा साथीहरूसहित आक्रमणमा परी जीवन गुमाउन बाध्य हुन्छन्। हामीकहाँ पनि संरचनागत समस्या रहेको प्रस्ट हुन्छ। अमेरिकामा कालालाई हेर्ने गोराहरूको चश्मा बदलिएको छैन। हामीकहाँ पनि दलित, मधेसी, महिला र गरिबसँग गरिने व्यवहारमा सुधार आएको छैन। प्रत्येकपटक कुनै घटना हुन्छ, त्यसलाई लिएर केही दिन आवाज उठ्छ। फेरि अर्कोपटक त्यस्तै व्यवहार दोहोरिन्छ।  

रुकुम घटनालाई तोडमरोड गर्ने प्रयास भइरहेको छ। बन्दाबन्दीको बेलामा आएका व्यक्तिका कारण स्थानीयले आफूलाई जोगाउन खोज्दा यस्तो घटना भएको भन्ने प्रतिवेदन सरकारी छानविनकर्ताले दिएका छन्। यसको अर्थ हो– यो घटनालाई कुनै सुनियोजित भन्दा भवितव्यका रूपमा चित्रण गर्ने र अपराधमा उन्मुक्ति दिने। कतिपय व्यक्तिका निम्ति यो घटना काठमाडौँमा चित्रित भएको जस्तो होइन भन्ने पनि लागेको छ। यो घटना कोरोना विषाणुविरुद्धको संक्रमणका बेला भइरहेको बन्दाबन्दीबीच भएको छ। तथापि, यो घटना हुनुमा बन्दाबन्दी कुनै अर्थमा कारक हुन सक्दैन। यस पछाडि हाम्रो समाजमा जर्खरिएर बसेको जातिवादी सोच मुख्य कारक हो। त्यसले मानिस–मानिसबीच भेद गर्छ। प्रेममा पनि भावना होइन, कथित उच्च जातिको खोजी गर्छ। नवराज विश्वकर्मा यही सिलसिलाका पछिल्ला शृंखला मात्र हुन्। नवराजभन्दा अघि पनि यस्ता घटना भएका छन्। नवराजभन्दा पछि पनि यी घटना भइरहेका छन्। सर्लाहीका एक युवालाई प्रेमिकाले बोलाएर गएपछि तिनका परिवारले संवेदनशील अंगमा चुरोटले पोल्ने र यातना दिनेसम्मको घटना भर्खरै भएको छ। झापाका एक किशोरलाई दलित समुदायकै भएका कारण अर्को कथित उपल्लो जातिकी छोरीसँग सम्बन्ध राखेकै आधारमा ‘बलात्कार’ मुद्दा लगाइएको छ। उमेर नपुगेका युवा÷युवतीबीच भएको विवाह बदर गर्न सकिन्छ। अन्य केही अपराध भए त्यसमा पनि कारबाही हुन सक्छ। दुवै पक्षबीच राजीखुसी भएको व्यवहारलाई अन्यथा चित्रण गरी फसाउने अहिलेको संरचनामाथि पनि विचार हुनु आवश्यक छ।  

कुनै पनि समाजको अग्रगमनका निम्ति निरन्तर विकास आवश्यक हुन्छ। निरन्तर सुधार हुन सकेन भने त्यसले उग्र रूप लिन सक्छ। अमेरिकी प्रहरीले जर्ज फ्लोएडजस्ता कैयन् काला समुदायका व्यक्तिको यसरी हत्या गरेका शृंखला छन्। यदाकदा झुक्किएर नभई योजनाबद्धरूपमा गरिने यस्ता व्यवहारका कारण ती दोहोरिइरहेका छन्। आज जुन प्रहरी त्यो अपराधका निम्ति कारबाहीमा परेका छन्, तिनले विगतमा गरेका यस्तै अपराधका निम्ति बेलैमा सजाय भएको भए निहत्था व्यक्तिहरूमाथि अन्याय हुने थिएन। हाम्रो समाजमा पनि कानुनले अन्तर्जातीय प्रेमलाई अस्वीकार गरेको छैन। कानुनले वर्जित नगरेको कार्य गरेबापत आज ज्यान गइरहेको छ। ज्यान जाने मात्र होइन, वैवाहिक सम्बन्धमा रहेका व्यक्तिहरू र समाजको झण्डै १५ प्रतिशत हिस्सा बोकेको दलित समुदायले पाइलापाइलामा विभेदको सिकार हुनुपरेको छ। हाम्रो तराई क्षेत्रमा रहेका दाजुभाइ दिदीबहिनीले राज्यबाट हुने प्रत्येक व्यवहारमा त्यस्तै विभेद महसुस गर्नुपरेको छ। उनीहरूले राज्यबाट लिने सेवा/सुविधामा जहिल्यै अनाहकको संघर्ष गर्नुपर्छ। तिनको नागरिकतामाथि जहिल्यै शंकाको दृष्टिबाट हेरिन्छ। यसले अन्ततः समग्र राज्य व्यवस्थाविरुद्ध ठूलो जमातको विश्वास गुम्ने देखिन्छ। वास्तवमा अहिले हामीकहाँ जस्ता समस्या मुखर भइरहेका छन्, तिनलाई बेलैमा संबोधन नगर्ने हो भने थेगिनसक्नु वेगको विद्रोहको आँधी आउनेछ। मुलुकी राजनीतिको अग्रस्थानमा रहेका दलका नेता तथा कार्यकर्तालाई लाग्न सक्छ– परिवर्तन हामीबाट मात्र सम्भव छ, अरू उठ्न सक्दैनन्।  

अमेरिकाको जर्ज फ्लोएड घटनालाई एउटा मानकका रूपमा लिनु उचित हुन्छ। त्यो हामीकहाँ पनि एउटा सम्भावनाका रूपमा उदय भएको छ। लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सबैको अधिकार स्थापित भएन भने त्यो कुनै न कुनै रूपमा हाम्रासामु प्रकट हुन्छ। तत्कालीन पञ्चायती शासकले सोचेका पनि थिएनन् पाकिस्तानमा जुल्फीकर अली भुट्टोलाई फाँसी दिँदा नेपालमा आन्दोलनको ज्वारभाटा उठ्नेछ। यहाँ त्यसले दूरगामी प्रभाव पा-यो। हाम्रो अहिलेको परिवर्तनका निम्ति त्यो घटना पनि कुनै न कुनै रूपमा कारक थियो। यहाँका मानिस उठ्न त्यसले अवश्य मद्दत ग-यो। अतः रुकुम घटनालाई अहिलेको सरकारले गम्भीरपूर्वक सम्बोधन गर्न सक्नुपर्छ। त्यतिमात्र होइन, भोलि फेरि प्रेमका नाममा अर्को कुनै जोडीले सुली चढ्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ।  

लोकतान्त्रिक शासन व्यवस्थामा अहिले वर्गको मात्र कुरा छैन, जातको प्रसंग पनि त्यत्तिकै सशक्तरूपमा उठेर आएको छ। कथित माथिल्लो वर्ग र जातिका मानिसलाई हिजोका शासकलाई जस्तै लाग्ने गरेको छ– के हाम्रा जनता दूध भात पनि खान पाउँदैनन् ? तिनलाई के थाहा यहाँ भोकभोकै मानिस बाँचेका छन्। कोरोना विषाणुका कारण अझ यो खाडल अरू गहिरो हुँदैछ। त्यतिमात्र होइन, भेदभावपूर्ण व्यवहारलाई यसले अरू बढावा दिनेछ। हिजोसम्म साँच्चै शारीरिक दूरी कायम गर्न खोज्नेहरूलाई आज झन् यसले ‘सामाजिक दूरी’ का नाममा मौका दिने देखिँदैछ। अतः समयका पदचाप सुनौँ। विभेदका पर्खाल भत्काऔँ। यथार्थमै समतामूलक समाज सिर्जना गरौँ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०२:३१ सोमबार

Download Nagarik App
Download Nagarik App