२८ असार २०७७ आइतबार
सम्पादकीय

गणतन्त्रको गति

एउटा मुलुकका निम्ति १२ वर्ष छोटो हुन सक्छ। व्यक्तिका निम्ति यो ठूलो समय हो। यतिका वर्षमा १ कक्षा पढ्न थालेको विद्यार्थीले १२ कक्षा टुंग्याउँछ। त्यसमा पनि प्रत्येक दशकैपिच्छे परिवर्तनका पदचाप सुन्दै आएका नागरिकका निम्ति यी प्रतीक्षाका वर्ष हुन्। यी वर्षमा अपेक्षित परिणाम प्राप्त नहुँदा तिनले आफूलाई निराश ठान्छन्। वास्तवमा हाम्रो मुलुकमा स्थापित गणतन्त्र १३ औँ वर्षमा प्रवेश गरेको छ। शासन सत्तामा भएका व्यक्तिका निम्ति यो परिवर्तन निकै अग्लो लाग्न सक्छ। प्रजा नागरिक हुन पाएको यो समय निःसन्देह सबैका निम्ति महत्वपूर्ण छ। तथापि, यसले आमजीवनमा आमूल परिवर्तनको अपेक्षासमेत पूरा गर्नुपर्छ। आमअपेक्षा पूरा नहुने परिस्थितिले शासन व्यवस्थाप्रति वितृष्णा पैदा गर्छ।  

हाम्रो लोकतान्त्रिक गणतन्त्रप्रति आमनागरिकको स्वामित्व देखिनै पाएको छैन। मुलुकको आर्थिक स्थिति सुदृढ नभई र नागरिक जीवनको गुणस्तर नबढी जस्तै परिवर्तनले पनि यथेष्ठ स्वामित्व ग्रहण गर्ने मौका पाउँदैन। स्वतन्त्रता प्राप्त भए पनि दैनिक जीवन सहज नभई कसैले पनि यसलाई आत्मसात गर्न सक्दैनन्। केही सीमित नेताले शासन सत्ताको उच्चतम सम्मान ग्रहण गर्ने, टुँडिखेलमा उभिएर दिवस मनाउने र आकास–पाताल जोडेर भाषण गर्न पाउने अवस्था मात्रै होइन, मुलुकले खोजेको छ– व्यक्तिको जीवनस्तरमा सुधार, शिक्षामा सुदृढीकरण, स्वास्थ्य सेवा आदि। यिनै पक्षबाट मुलुकको लोकतान्त्रिक गणतन्त्रको मापन हुन्छ। नागरिक जीवनस्तर उठाएर सेवा/सुविधा लिँदा कसैले केही भन्दैन। आमनागरिकको जीवन कठिनाइमा बितिरहने हो भने त्यसले असन्तुष्टिबाहेक अरू केही प्राप्त हुँदैन।  

यसपटक गणतन्त्रको मूल्यांकन गर्ने बेलामा धेरैथरी विश्लेषकले सकारात्मक टिप्पणी गरेका देखिएन। सामाजिक सञ्जालभरि बिहीबार व्यक्त भएका टिप्पणीको अध्ययन आफैँमा गणतन्त्रका कर्ताहरूका निम्ति ऐना हुन्। त्यति मात्र होइन, अखबारहरूमा प्रकाशित टिप्पणीमा समेत बुद्धिजीवीहरूले जनताको अवस्था नफेरिएकामा चिन्ता व्यक्त गरेका छन्। यसै पनि हाम्रो गणतन्त्र आमनागरिकले खुसियाली मनाउने स्तरमा पुग्नै पाएन। हाम्रो राजनीतिक नेतृत्व बिस्तारै आमनागरिक भन्दा धेरै टाढा पुगिसकेको छ। यसपटक कोरोना भाइरस महामारीको बन्दाबन्दीकै क्रममा गणतन्त्र दिवस मनाइएको छ। यसअघिका वर्षहरूमा पनि यस्तै निराशा प्रकट हुने गरेको हो।  

गणतन्त्रको मापन राज्यको समग्र वस्तुस्थितिका आधारमा हुन्छ। के यहाँ सबै नागरिकले आफूलाई बराबरी महसुस गर्न पाएका छन् ? के वास्तविक अर्थमै नागरिकको हैसियत यहाँ बढेको छ ? गणतन्त्रको पूर्वसन्ध्यामा प्रेमलाई विवाहमा रूपान्तरण गर्न खोज्दा पश्चिम रुकुममा बगेको दलितको रगतले यहाँ कुनै समताको सन्देश दिन सकेको छैन। प्रत्येकपटक यहाँ अन्तर्जातीय विवाह गर्न खोज्दा वा गरिसकेपछि दलितमाथि हिंसा भएको छ। तिनीहरू मारिएका छन्, बेपत्ता पारिएका छन्। यतिबेला प्रश्न उठिरहेका छन्– यो गणतन्त्रमा हामीले न्याय पाउन फेरि कस्तो बलिदान गर्नुपर्ने हो ?  

गणतान्त्रिक शासन व्यवस्थाका निर्णय गुणवत्तामा आधारित हुनुपर्छ। प्रतिस्पर्धाको अवसर सबैलाई समान हुनुपर्छ। लोकतन्त्रका नाममा अहिले पनि सत्ता संरक्षित केही व्यक्तिले आफूलाई ‘अरूभन्दा बढी बराबरी’ को स्थितिमा राख्ने गरेका छन्। यो पारदर्शितामा आधारित शासन व्यवस्था पनि हो। निर्वाचन जितेर सरकारमा पुग्नुको अर्थ आमनागरिकप्रतिको जवाफदेहीलाई निरन्तर आत्मसात गर्नु हो। पारदर्शिताको मामिलामा सरकार कमजोर हुँदै जान थालेको छ। आमआलोचना र टिप्पणी हुने विषय लुकाइन थालेको छ। मन्त्रिपरिषद्का निर्णय खटाएर दिने गरिएको छ। त्यतिमात्र होइन, सरकारी सेवा र वस्तु खरिदमा अनियमितताको विषवृक्ष झाँगिएको छ। सरकार र सरकारको तहमा हुने भनिएका खरिदमा समेत भ्रष्टाचार मौलाएका कथा÷व्यथा यसबीच अनेकन सार्वजनिक भएका छन्।  

कोरोना विषाणुले हाम्रो जनजीवन आक्रान्त पारेका बेला पनि हाम्रो गणतन्त्रको यथार्थ धेरैलाई अनुभव भएको छ। राज्यसत्तामा हुने व्यक्तिहरूको सेवा÷सुविधामा कुनै कटौती भएको छैन। तर अन्य व्यक्तिले आफ्नो पेशा र व्यवसाय अगाडि बढाउन नसक्ने अवस्थामा समेत सरकारका तर्फबाट कुनै आडभरोसा भएको छैन। यो पंक्ति लेख्दै गर्दा कोरोना विषाणुविरुद्धको बन्दाबन्दीमा मुलुक बसेको ६६ दिन भइसकेको छ। यसबाट उम्कन राज्यका तर्फबाट भएका प्रयासले सबैलाई निराश तुल्याएको छ। दैनिक रोजीरोटीका निम्ति काम गर्ने व्यक्तिले समेत राज्यका तर्फबाट यथोचित सहयोग पाउन सकेनन्। कोरोना विषाणु संक्रमणको परीक्षणका निम्ति ल्याउनुपर्ने उपकरण र औषधिको आपूर्तिसमेत समयमा हुन सकेन। त्यसको आपूर्तिका क्रममा समेत अनियमितताका कथा सार्वजनिक भएको सबैले देखेका छन्। यसबाट पनि राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको छ।  

कोरोना विषाणु संक्रमणमा व्यक्तिभन्दा राज्यको भूमिका बढी हुन्छ। यस्तो बेलामा राज्यको जुन प्रभावकारिता देखिनुपर्ने थियो, त्यो देखिएन। कोरोना विषाणुको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ। यसबाट हजार जना भन्दा बढी संक्रमित भई उपचारमा छन्। विशेषगरी भारतबाट दैनिक ठूलो संख्यामा व्यक्तिहरू स्वदेश फर्किरहेका छन्। तिनलाई स्वदेश फर्काउने क्रममा देखिएको अलमलको स्थितिले समेत हाम्रो प्रणालीगत त्रुटि सार्वजनिक भइसकेको छ। अझ आफ्नो थातथलोसम्म पुग्ने बेलासम्म सर्वसाधारणले भोगेका दुःखको कुनै हिसाब छैन। आमनागरिकले यतिबेला सरकारसँग अनेकन प्रश्न गरिरहेका छन्।

यस्तो विषम स्थितिमा मनाइएको गणतन्त्र दिवसमा सरकारको तर्फबाट आफ्ना कमजोरीको राम्ररी अध्ययन गरी त्यसमा सुधारको प्रयास गर्नुपर्छ। हामीलाई जनताले मत दिएकै छन्, हामीले जसो गरे पनि हुन्छ भन्ने मानसिकता हट्नुपर्छ। गणतन्त्र दिवसले लोकतान्त्रिक चेतना अभिवृद्धि गर्न सक्नुपर्छ। गणतन्त्रलाई खास व्यक्ति वा दलविशेषको रजगजको माध्यम होइन, आमनागरिकको जीवन परिवर्तनको आधार बनाउने प्रेरणा सबैलाई मिलोस्। 

प्रकाशित: १६ जेष्ठ २०७७ ०८:१६ शुक्रबार

Download Nagarik App
Download Nagarik App