८ वैशाख २०८१ शनिबार
सम्पादकीय

मृत्यु फगत तथ्यांक नबनोस्

कोरोना भाइरसको नेपालमा प्रभाव कम रहेको चर्चा चलिरहेकै बेला यसबाट पहिलो मृत्यु भएको छ । यसका पहिला संक्रमित फेला परेको चार महिनामा यस्तो दुःखद घटना भएको हो । धुलिखेल अस्पतालमा एक सुत्केरीको अकाल मृत्युले सर्वत्र चिन्ता र डर छाएको छ । कोरोना भाइरस महामारी रोक्न गरिएको लकडाउन (बन्दाबन्दी) आठौँ सातासम्म आर्थिकरूपमा समेत यसको नकारात्मक प्रभाव महसुस गर्नुपरेको छ । अहिलेसम्म मानवीय क्षति नभएका कारण हामीलाई आशा गर्ने ठाउँ रहेकामा त्यो पनि हामीबाट खोसिएको छ । सिन्धुपाल्चोकको बाह्रविसे–९ की स्थायी बासिन्दा ती महिलाको गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भयो । त्यो मृत्यु कोरोना भाइरसका कारण हो÷होइन भन्ने एकीन गर्न शनिबारसम्म लागेको हो ।  

नेपालमा कोरोना भाइरसका कारण भएको यो पहिलो मरणले धेरै पक्ष उद्घाटित गरेको छ । स्वास्थ्य सेवा प्रणाली कोरोना अपहरणमा पर्दा अरु महत्वपूर्ण र असाध्य रोगको उपचारमा स्वास्थ्य केन्द्र तथा सम्बन्धित निकाय उदासीन देखिएका छन् । बालबालिकाका लागि  खोपका अत्यावश्यक कार्यक्रम ठप्प जस्तै छन् । मातृ सुरक्षाका कार्यक्रम पनि ओझेलमा छन् । अन्य रोगको उपचार गर्न जाने बिरामीलाई पनि सरकारी तथा निजी अस्पतालहरूले भर्ना लिन अस्वीकार गरिरहेका अवस्था छ । अन्य रोगको उपचारमा सम्बद्ध निकाय तथा स्वास्थ्य केन्द्रको यथोचित ध्यान दिन सकेका छैनन् । यसले अन्य रोगका कारण हुने मृत्यु बढाउने चिन्ता थपिएको छ । भएका सम्पूर्ण अस्पताल र स्वास्थ्य संरचनाको ध्यान कोरोना भाइरसमा मात्र हुनुपर्छ भन्ने अवधारणा रह्यो । भइरहेकै संरचनाभन्दा कोरोना भाइरस संक्रमणको उपचारमा पृथक संरचनाको आवश्यकता महसुस गरेर चीनले छुट्टै अस्पताल बनाएको हो । त्यसबाट मात्रै पाठ सिक्न सकेको भए पनि सबैलाई कोरोना भाइरस संक्रमणमा उपचार गराउन लगाउनु आवश्यक थिएन । यसो गर्न सकेको भए यी महिलालाई कोरोना भाइरस संक्रमण हुन पाउने थिएन कि ?  

हुन त ती २९ वर्षिया महिलालाई भाइरसको संक्रमण कहाँ र कसरी भयो अझै प्रस्ट भएको छैन । तर उनका परिवार सदस्यले शिक्षण अस्पतालमा प्रसूति गराउने क्रममा संक्रमण भएको हुन सक्ने शंका गरेका छन् । त्यसो हो भने मृतक परिवारले सिन्धुपाल्चोकमा रहेका स्थानीय स्वास्थ्य केन्द्र तथा अस्पतालमा बच्चा जन्माउन  चाहेको भए र उनीहरूलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपलब्ध सेवाप्रति विश्वास भएको भए राजधानीसम्म आउनु पर्दैनथ्यो र त्यो संक्रमण टर्न सक्थ्यो । हाम्रा स्वास्थ्य सेवा राजधानी र सहरकेन्द्रित हुँदाको महँगो मूल्य अहिले चुकाउनु परिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई स्थानीय तहमा पु¥याउनुको विकल्प छैन । सरकारका नीति तथा कार्यक्रमको प्राथमिकता यसैमा केन्द्रित हुनुपर्छ । यसले अकालमा ज्यान गुमाउनुपर्ने अनिष्ट रोक्न सक्छ ।  

गत साता मात्र युनिसेफले कोभिड–१९ ले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप कमजोर पारेकाले र नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा आगामी ६ महिनासम्म ४ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो । युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक जाँ गगले विज्ञप्ती जारी गर्दै यो महामारीको समयमा आमा, गर्भवती तथा बालबालिको सुरक्षा अत्यन्त महत्वपूर्ण रहेको बताएकी थिइन् । दक्षिण एसियाली राष्ट्रहरूले मातृ तथा बाल मृत्यु रोकथाम गर्न विगत दशकमा हासिल गरेका उपलब्धिको गति घटाउन नहुने सुझावसमेत युनिसेफको छ । यसमा सर्वपक्षीय सहकार्यको आवश्यकतामा समेत उसले जोड दिएको छ । नेपालले मातृ मृत्यु दर पछिल्ला वर्षमा उल्लेख्यरूपमा घटाउन सकेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ ले प्रतिलाख जीवित शिशु जन्मिँदा २३९ आमाको मृत्यु हुने गरेको छ । सन् २०११ मा यो संख्या २५८ थियो । सरकारले सन् २०२१ मा यो मातृ मृत्यु दर घटाएर मात्र ९९ मा सीमित पार्न चाहेको छ ।  

कोरोना भाइरस संक्रमणको अत्यधिक जोखिममा ६५ वर्षभन्दा माथिको जनसंख्या पहिल्यै फोक्सो तथा मुटु रोग, मधुमेह, मिर्गाैलासम्बन्धी रोगले ग्रस्त छ । यसमा नर्सिङ होम तथा अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका, एचआइभी संक्रमित र अत्यधिक मोटोपना भएकाहरू छन् । पछिल्ला दिनमा गर्भवतीहरू कोभिड–१९ को जोखिमको हिसावले अगाडि छन् । एकातिर उनीहरू बन्दाबन्दीका कारण स्वास्थ्य केन्द्रसम्म पुग्न सकेका छैनन भने अर्काेतिर स्थानीय अस्पताल तथा स्वास्थ केन्द्रले अन्य बिरामीलाई हेर्न चाहेका छैनन् । स्वास्थ्य केन्द्रमा नलगी घरमै सुत्केरी हुँदा जोखिम अत्यधिक छ । यसरी अपरिहार्य जनस्वास्थ्य सेवाको समस्या विकराल बन्दै गएको छ ।  

यसैगरी महामारीका कारण ज्यान गुमाउनेहरूलाई राज्यले कुनै प्रकारको आर्थिक सहायता घोषणा गरेको छैन । उनीहरू सामान्य अवस्थामा मृत्युवरण गरेका होइनन्, यो असामान्य घटना हो । त्यसैले सरकारले कोभिड–१९ का कारण मृत्यु हुनेका परिवारलाई तत्काल राहत र आर्थिक सहयोगको प्याकेजको घोषणा गर्नुपर्छ । महामारीका कारण मृत्यु हुनेका परिवारजनलाई पीडाको कुनै मूल्य हुँदैन । तैपनि राहतको व्यवस्था गर्दा राज्यप्रतिको सम्मान बढ्छ । आखिर पीडित अवस्थामा राज्य नै एउटा सहायक हुने रहेछ भन्नै पर्छ । सिन्धुपाल्चोककी ती महिलाको परिवार सामान्य आर्थिक अवस्थाको देखिन्छ । काठमाडौँको गोंगबुमा तरकारी पसल गरेर बसेका मृतकका पति, ११ वर्षका छोरा र १० दिन मात्र पुगेको नवजात शिशुका लागि यो असामयिक मृत्यु ठूलो वज्रपात हो । यो परिवारलाई राज्यको सहयोगी हात आवश्यक छ र यस्तो मृत्युलाई फगत तथ्यांकका रूपमा हेर्नुहुँदैन । सम्बन्धित परिवार र समाजका लागि यसको अर्थ त्यो भन्दा बढी हुनुपर्छ ।  

कोरोना भाइरसका कारण हाम्रा समग्र स्वास्थ्य संरचना, सरकारी संयन्त्र, नागरिक समाज र सिंगो समाजको यथार्थ प्रकट भइरहेको छ । हिजो जसरी सोचिन्थ्यो र आवश्यकताअनुसार संवोधन गरिन्थ्यो, त्यो अवस्था अव छैन । हो, मृत्यु हाम्रो जीवनसँगै अभिन्नरुपमा जोडिएको छ । तैपनि अहिलेको अवस्थामा भएको मृत्यु असामान्य हो । राम्ररी परिवार र शुभेच्छुकसमेत भेला भएर सद्गत गर्नेसम्मको अवस्थामा पनि कोरोना भाइरस महामारीका कारण सम्भव छैन । यो अवस्थालाई ध्यानमा राखेर भविश्यका संरचना निर्माण र राज्यको भूमिकाका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बेला आइसकेको छ । अहिले राम्ररी सोचेर काम गर्न सकिएन भने आम नागरिकलाई यथोचित सेवा पु-यान सकिने छैन ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०५:०७ सोमबार

Download Nagarik App
Download Nagarik App