१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

कतार विश्व कप

विश्वमा नै विश्व कप फुटबललाई एउटा पर्व जस्तै मनाउने गरिन्छ। यसका प्रतिस्पर्धालाई समर्थकहरू उत्साहपूर्वक हेर्ने गर्छन्। अहिले सोही पर्व मध्यपूर्वी एसियाको सानो देश कतारमा भइरहेको छ। कतार पहिलोपटक विश्व कप आयोजना गर्ने खाडी मुलुक हो भने तेस्रो एसियाली राष्ट्र। त्यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्व कप आयोजना गरेका थिए। दुई दशकपछि फेरि एसियाली भूमिमा विश्व खेलकुदकै ठूलो आयोजना हुँदैछ। मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

यो पर्व विश्वभरझैं नेपालमा पनि लागिरहेको छ। मंसिर ४ गते नै नेपालमा आमनिर्वाचन थियो। निर्वाचन भएकाले विश्व कपतर्फ त्यति ध्यान नजाने आकलन भए पनि भोट हाल्नेबित्तिकै अधिकांश युवा विश्व कपमा रमाउन थाले। नयाँ संसद् चयन भइरहँदा विश्व कपको माहोलले युवाहरूलाई छुट्टै ऊर्जा थपिदियो। होटल रेस्टुरेन्टका ठूला पर्दामा विश्व कप हेर्न मानिसको घुइँचो लाग्यो। खेल पोशाक कम्पनीको व्यापारमा पनि उत्साह थपिदियो। साथै टिभी बिक्रेता र इन्टरनेट सेवाप्रदायकले पनि ग्राहक तान्ने अनेकौँ ‘अफर’ ल्याएर विश्व कपको माहोल बढाउन काम गरे। आर्थिक रूपमा थोरै मात्रामा भए पनि केही व्यवसायलाई यो विश्व कपले उत्साह थपिदिएको छ। मत राखेको केही दिनमा धमाधम नतिजा आए। त्यसबीच हार्नेले जित्नेलाई भेटेर बधाई दिँदा खेल भावना र मर्म जस्तै अवलम्बन गरेका दृश्य नेपाली राजनीतिमा पनि देखियो। हारमा विभिन्न आरोप र बहाना बन्ने गरेको गलत प्रवृत्ति पनि हट्दै गएको यसले देखाएको छ। यसबीच गुल्मी–१ बाट प्रतिनिधिसभाको चुनावमा पराजय बेहोरेका एमाले नेता प्रदीप ज्ञवालीले विजेता चन्द्र भण्डारीलाई बधाई दिँदै भने-‘२-२’ भयो। ‘चन्द्र भण्डारीजीलाई बधाई छ। अहिले विश्व कप फुटबलको माहोल चलिरहेको छ। त्यसैले हाम्रो २–२ भयो, ’ज्ञवालीले कांग्रेस नेतालाई बधाई दिँदै भनेका थिए। २०५६ सालको संसदीय निर्वाचनदेखि भण्डारी र ज्ञवाली एकापसका प्रतिद्वन्द्वी थिए। जहाँ यी दुई समान २/२ पटक जितेका छन्। ज्ञवालीले सोही कुरा इंगित गरेका हुन्। यसले के स्पष्ट गर्छ भने पाँच वर्षको संसदीय यात्राका लागि नतिजाको पर्खाइमा रहेका राजनीतिज्ञलाई पनि विश्व कप फुटबलको माहोलले छोएको छ।

विश्वकै शक्तिशाली देश अमेरिकाको दाबेदारी पछाडि पार्दै कतारले १२ वर्षअगाडि नै विश्व कप आयोजना जिम्मेवारी पाएको थियो। त्यस समयदेखि नै यो विश्व कप आयोजनालाई लिएर विभिन्न टीकाटिप्पणी हुँदै आएका छन्। कतारले विश्वकपको आयोजना गर्ने जिम्मेवारी पाउँदा त्यहाँको जनसंख्या १५ लाख पनि थिएन। त्यसैले त्यहाँको जनशक्तिले कसरी त्यत्रो ठूलो आयोजनाको तयारी गर्न सक्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेका थिए। विश्व कप आयोजना गर्दा एउटा नियम थियो, सबै सहरले विश्व कप आयोजना गर्नुपर्दथ्यो। जुन कतारमा सम्भव थिएन। किनकि उसको क्षेत्रफल मात्र ११ हजार ५७१ वर्गकिलोमिटर छ। अर्को जटिल प्रश्न थियो, कतारको प्रचण्ड गर्मी खेलाडीले सामना गर्न सक्लान्? यी सबै प्रश्न युरोपेली र अमेरिकी मिडियाको थियो। स्वाभाविकरूपमा अन्य देशको पनि। तर यी सबै प्रश्न र आकलन विपरीत भए। कतारले एक दशकमा सफलता प्राप्त गर्‍यो र आठवटा उच्चस्तरीय रंगशाला बनायो। तर ती सबै दोहामा नै थिए जुन विश्व कप आयोजनाको मापदण्ड विपरीत रह्यो।

यो बीचमा उसले धेरै आलोचना खेप्नुपर्‍यो। चरम मानव अधिकार उल्लंघन, चिहानमाथि फुटबल आयोजना र आयोजनाको अधिकार हत्याउन अर्बौँको भ्रष्टाचारका आरोप कतारमाथि लागे। कतारलाई जतिसक्दो चाँडो विश्व कपका ठूला संरचना बनाउनु थियो। विश्व कपमार्फत आफ्नो विकास पनि विश्वभर देखाउनु थियो। त्यसैले अन्य देशबाट कामदार भित्रायो र सस्तो मूल्यमा रात/दिन कामदार खटायो पनि। कतारले यो विश्व कप आयोजनाका लागि दक्षिण एसियाका राष्ट्र नेपाल, भारत, बंगलादेशका साथै फिलिपिन्सबाट गरी ३० हजार श्रमिक लगाएको थियो। तर तीमध्ये ६ हजार ५ सय श्रमिकको कतार विश्व कपका रंगशाला निर्माण गर्ने क्रममा निधन भएको रिपोर्ट बाहिरियो।

द गार्जियनले त्यो तथ्यांक प्रकाशित गरेपछि कतारले विश्वभरबाट आलोचना खेप्नुपर्‍यो। त्यो रिपोर्टअनुसार मर्नेको संख्यामा १ हजार ६ सय ४१ नेपाली थिए। गार्जियनले त्यो रिपोर्ट त्यहाँ रहेका सम्बन्धित देशको दूतावासको सहयोगमा बनाएकोे दाबी गरेको छ। कतारले ती सबै आरोप झुटा बताउँदै युरोपको फोहोरी राजनीतिको संज्ञा दिँदै आएको छ। कतारले विश्व कप तयारीमा ३७ जना कामदारको मात्र निधन भएको र त्यसमा पनि अधिकांश ‘नेचुरेल डेथ’ रहेको दाबी गरेको छ। कतारले यो विश्व कपमा अर्बौ रकम भ्रष्टाचार गरेको आरोप पनि खेप्नुपर्‍यो। यसबीच कतारले छिमेकी मुलुकबाट तीन वर्षको आर्थिक नाकाबन्दीको सामना पनि गर्‍यो। त्यो तथ्यांक बाहिरिएसँगै कतार लगातार आलोचित बन्यो।

विश्व कपमा सहभागी केही देशले त यो आयोजना नै बहिष्कार गर्ने धम्की दिए र फिफालाई त्यहाँबाट विश्व कप हटाउन आग्रह गरे। युरोप र इङ्ल्यान्ड विश्वकै चर्चित फुटबल लिग हुने गर्छ, जहाँ हरेक दिन कतार विश्वकप आयोजनाको विपक्षमा आवाज उठिरहन्थ्यो। तर पनि लगातार विरोध, आलोचनाको शृंखलाका बाबजुद २० वर्षपछि पुनः एसियामा गत मंसिर ४ गते विश्व कप फर्कियो। कतार विश्व कप आयोजना गर्ने पहिलो अरब राष्ट्र बन्यो। अरबकै राष्ट्रसँग पनि कतारको सम्बन्ध त्यति राम्रो छैन। त्यसैले अरब भूमिमा विश्व कप आयोजना भइरहँदा पनि छिमेकी अरबी मुलुकले त्यसलाई उत्सवका रूपमा मनाएनन्। तर विश्व कप आयोजना सुरु भइसकेपछि भने केही मात्रामा कूटनीतिक सम्बन्धमा सुधार भए। कूटनीतिक रूपमा कतारले इजरायललाई चिन्दैनथ्यो। तर, विश्वकपकै लागि भनेर फिफाको पहलमा पहिलो पटक इजरायलबाट दोहाका लागि व्यावसायिक हवाई उडान भयो, त्यो पनि प्यालेस्टाइनको नागरिकसहित। इजरायलका एक परराष्ट्र अधिकारीले त्यसलाई ऐतिहासिक क्षणको संज्ञा दिएका थिए। यही विश्व कपका कारण खराब सम्बन्ध रहेका अरबी राष्ट्रबीच थोरै भए पनि सम्बन्ध सुधारको पहल भयो।

यो विश्वकपका लागि करिब १५ लाख मानिस कतार आउने अपेक्षा थियो। तर त्यो सबै कतारमा नै राख्ने क्षमता ऊसँग थिएन। त्यसैले धेरैजसो मानिस कतारबाट ४५० किलोमिटर टाढा संयुक्त अरब इमिरेट्स (युएइ) मा बसे। त्यहाँबाट उनीहरू दैनिक हवाई उडान मार्फत कतार विश्व कपका लागि पुग्ने गरेका छन्। कतारले आठवटा रंगशालामा ६.५ बिलियन डलर खर्च गरेको छ। समग्रमा कतार विश्व कपको इतिहासकै महँगो हो, जहाँ २ सय २० बिलियन डलर (२८६ खर्ब, ५७ अर्ब नेपाली रुपियाँ) खर्च भएको छ । कतारले नयाँ मानवनिर्मित आइसल्यान्ड, होटेल, मेट्रो, विश्वस्तरीय होटेलदेखि रंगशाला निर्माणमा खर्च गरेकाले यो विश्व कप महँगो बन्न पुग्यो। त्यो लागत समर्थकबाट उठाउन लागि कतारमा हरेक कुरा महँगो गरिएको भन्दै उसले आलोचना पनि बेहोर्नुपरेको छ।

सन् १९३० देखिको इतिहास बोकेको विश्व कप जहिल्यै गर्मी महिनामा हुने गर्छ। तर कतारमा प्रचण्ड गर्मी हुने कारण यसपटक जाडो महिनामा विश्व कप भइरहेको छ। तर पनि रंगशालाभित्र एसी जडान गरिएको छ। विश्व कप उद्घाटनको केही दिनअगाडि मात्र कतारले पेय पदार्थ खरिद, छोटो र टाइट लुगा लगाउने र यौन व्यवसायमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यससँगै कतारले व्यापक विरोध सामना पनि गर्नुपर्‍यो। किनकि पश्चिमा मुलुक यी कुरामा रमाउँथे।

१५ लाख अपेक्षा थियो तर कतारसँग १ लाख १५ हजार मात्र रुम थिए। त्यस कारण एउटा देशमा खेल अर्को खेलमा बासको अवस्था भयो। यो विश्व कपमा ३२ राष्ट्रले खेलिरहेको जहाँ एसियाली राष्ट्र साउदी अरेबिया र जापानले विश्व कप फुटबलका शक्तिशाली राष्ट्र एवम् विश्व कप विजेता क्रमशः अर्जेन्टिना र जर्मनीलाई हराउँदै सनसनी मच्चाए। यसले एसियाली भूमिमा रहेका मानिसलाई केही उत्साह पनि थपिदियो। यो आयोजनाले समग्रमा कूटनीतिक सम्बन्धमा सुधारका साथै विश्व फुटबलमा कमजोरी एसियाली राष्ट्रलाई प्रोत्साहित पनि गर्ने आशा गरिएको छ। साथै कमै मात्र ओलम्पिक र अन्य ठूलो आयोजना पाउने एसियाली राष्ट्रका लागि यो एउटा ठूलो अवसर पनि हो। कतारमा आयोजना भए पनि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने भावना दक्षिण एसियाली मुलुकहरूमा पनि यसले फैलाएको छ।  

प्रकाशित: ११ मंसिर २०७९ ००:३७ आइतबार

Download Nagarik App
Download Nagarik App