२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

पर्यटकको बसाई अवधि बढाउनै सकस

विदेशी पर्यटकको नेपाल बसाई अवधि औसतमा १३ दिन

पोखरा आएका विदेशी पाहुना। नेपालमा विदेशी पाहुनाको बसाई अवधि बढ्न सकेको छैन। तस्बिरः नागरिक

कोरोना संक्रमणको प्रभाव रहिरहँदा सन् २०२१ मा नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि सबैभन्दा बढी थियो। त्योवर्ष विदेशी पाहुनाले औसतमा १५.५ दिन नेपालमा बिताउँथे। सरकारले पर्यटकको बसाई अवधिको तथ्यांक राख्न थालेदेखिको त्यो नै सर्वाधिक बसाई अवधि थियो। त्यसअघिको वर्ष सन् २०२० मा नेपालमा विदेशी पाहुनाको बसाई अवधि औसतमा १५.१ दिन थियो।  

तर, सन् २०२२ पछि नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि ओरालो लाग्न थालेको थियो। २०२२ मा विदेशी पाहुनाको नेपाल बसाई अवधि औसतमा १३.१ दिन थियो। त्यो अवधि सन् २०२३ मा १३.२ दिन र सन् २०२४ मा १३.३ दिन थियो। कोरोना संक्रमणपछिका वर्ष बसाई अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाई अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाई अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।  

पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने भन्छन, ‘पर्यटकको बसाई अवधि बढ्नै सकेको छैन। यसले गर्दा पर्यटन क्षेत्रले लाभ लिन सकेको छैन।’ उनका अनुसार कोरोना संक्रमणको बेला नेपालमा साहसिक गतिविधिका पाहुना भित्रिएको हुनाले बसाई अवधि बढि भएको हो। किनकी पदयात्रा र हिमाल आरोहणमा भित्रिने पाहुनाको बसाई अवधि स्वतः बढी हुन्छ। कोभिडका बेला घुमघाम र धार्मिक उद्देश्यले भित्रिने पाहुना कम थिए।

‘हिमाल आरोहणका पाहुनाको बसाई अवधि स्वतः बढी हुन्छ। आरोहण पुरा गर्न पर्याप्त समय लाग्न सक्छ । अरुखालका पाहुना त्यो बेला कम थिए। आरोहणकै पाहुना भित्रिएको हुनाले कोरोनाको बेलाको बसाई अवधि बढि देखिएको हो,’ उनले भने।  

लामिछानेका अनुसार नेपालमा भित्रिने पाहुनामध्ये करिब ६३ प्रतिशत पाहुनाको बसाई अवाधि औसतमा ५ दिन रहेको छ। ती घुमघामका पाहुना हुन। छोटो अवधिको घुमघाममा आउने पाहुनाहरु काठमाडौं, पोखरा र चितवन क्षेत्र घुमेर फर्किन्छन। नेपालमा धार्मिक दृष्टिले भित्रिने पाहुना करिब १३ प्रतिशत रहेका छन। ती पाहुना बढिमा सातदिनसम्म मात्र नेपालमा बस्छन। पदयात्रा र पर्वतारोहणका पाहुनाको बसाई अवधि बढी हुन्छ। हाराहारीमा २४ प्रतिशत पर्यटक पर्वतारोहण र पदयात्रा रहेको उनले बताए। पदयात्रा अवधि र पर्वतारोहणका पाहुना कम्तिमा पनि १० दिन नेपालमा बस्छन। सबैभन्दा बढी समय बस्ने पाहुना नै आरोहणका लागि भित्रिएका पाहुना हुने उनले बताए।  

‘नेपालमा विदेशी पाहुनाको बसाई अवधि बढ्नै सकेको छैन। बाटो पुगेकोले कतिपय पदयात्रा अवधि छोटिएको छ, त्यसले बसाई अवधि घटाउँदै लगेको छ,’ उनले भने, ‘पर्याप्त खर्च गर्ने हैसियत राख्ने पाहुना हेलिकप्टर लिएर घुमघाममा जान्छन। कम समयमा धेरै ठाउँ घुम्ने र पुग्ने प्रचलन बढेकोले पनि उनीहरुको बसाई अवधि कम देखिन्छ।’  

गन्तव्यसम्मको पहुँच सहज बन्दै गएकोले पनि पर्यटकको बसाई अवधि बढाउन सकिएको छैन। पहुँच सहज भएसँगै छोटो समयमा धेरै ठाउँमा पुग्न सकिने हुँदा पनि बसाई अवधि बढाउन नसकेको उनले बताए। बसाई अवधि बढाउन नसक्दा पर्यटन क्षेत्रले लाभ लिन नसकेको उनले सुनाए।  

लामिछानेले पर्यटकको बसाई अवधि बढाउनका लागि नयाँ बजार रणनीति बनाउनुपर्ने बताउँछन। पाहुनाका बसाई अवधि बढाउनका लागि खर्च गर्ने खालका पर्यटक भित्र्याउने गरि रणनीति बनाउनुपर्ने उनले बताए। बढी भन्दा बढी संख्यामा खर्च गर्न सक्ने क्षमताका पाहुना भित्र्याउने गरि पर्यटन बोर्डले रणनीति बनाईरहेको पनि उनले बताए।

‘यसमा व्यावसायीको भूमिका पनि रहन्छ। पर्यटकको बसाई अवधि बढाउने हो भने व्यावसायीले नयाँनयाँ गन्तव्य पहिचान गर्नुुपर्छ , त्यसबाहेक पर्यटक भुलाउने र रमाउने गतिविधि बढाउनुपर्छ। पर्यटकका लागि घुम्ने ठाउँ नयाँ पहिचान गराएर पहुँच पुर्याउन सकेको खण्डमा पाहुनाको बसाई अवधि थपिन्छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ लामो समयदेखि पर्यटकको बसाई अवधि बढ्न नसकेको बताउँछन। ‘पर्यटकको बसाई अवधि कमजोर हुँदा पर्यटनले लाभ लिन सकेको छैन। पर्यटकको बसाई कम हुनु भनेको आम्दानी गुमाउनु हो,’ उनले भने। नयाँनयाँ गन्तव्यको पहिचान गर्ने र ती गन्तव्यमा पाहुना पठाउन थाल्ने हो भने बसाई अवधि बढाउन सकिने उनले बताए।  

‘पर्यटन क्षेत्रले गन्तव्य पहिचानमा प्रयास गर्नुपर्छ। सरकारले ती गन्तव्यको प्रवर्द्धन गर्न सघाउने हो भने लाभ पर्यटन क्षेत्रमा हुन्छ,’ उनले भने, ‘पुरानै गन्तव्यको भरमा मात्र अब पर्यटन क्षेत्र चल्दैन। पदमार्गको अवधि पनि घटिरहेको छ।’ नयाँनयाँ गन्तव्य भेटिए पनि प्रवर्द्धन हुन नसक्दा पाहुना पठाउन नसकेको उनले बताए। ‘नेपालमा धार्मिक पर्यटकको बसाई अवधि बढाउन सकिन्छ। तर, व्यावसायीमा इमान्दारीताको खाँचो छ। पर्यटकलाई हतार गरेर मुस्ताङ लैजाने र हतारमै फर्काउने गरिएको छ। यसले बसाई अवधि कमजोर तुल्याएको छ,’ उनले भने।  

धार्मिक पर्यटकलाई हतारमा मुस्ताङ लगेर फर्काउदा उनीहरुको बसाई अवधि नै बढाउन नसकेको उनले बताए। ‘उच्च हिमाली भेगसम्मको गन्तव्यमा हतारको यात्राले ज्यानको जोखिम पनि बढेको छ। त्यसबाहेक पाहुनाको बसाई अवधि बढ्न नसक्दा लाभ पनि लिन सकिएको छैन,’ उनले भने, ‘पर्यटकलाई मुस्ताङमा बास बस्नैपर्ने गरि तालिका बनाउने र पोखरामै बास बस्ने खालको यात्रा गराउने हो बसाईको केहीदिन अवधि थपिन्छ।’ पर्यटकका लागि नयाँ र आकर्षक कार्यक्रम गरेर भएपनि आगामि दिनमा बसाई अवधि बढाउने गरि योजना बनाउनुपर्ने उनले बताए।  

प्रकाशित: ८ मंसिर २०८२ १७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App