साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ।
अघिल्लो दिन आइतबार बढेर बन्द भएको बजारले सोमबार पनि सोही लयलाई निरन्तरता दिँदा परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा पुगेको हो।
परिसूचकसँगै सोमबार कारोबार रकममा पनि सुधार आएको छ। आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार त्यो रकम बढेर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँ पुगेको छ। यस दिन ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता सेयर ७९ हजार ७१४ पटक किनबेच भयो।
सोमबारको बजारमा सेन्सेटिभ इण्डेक्स ७.८४ अंक, फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंकले बढेको छ।
बजार बढेसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन्। यस दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एण्डष्ट्रीजको सेयर मूल्यमा सर्किट लेभलको वृद्धि देखिएको हो।
यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य करिब साढे ८ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको मूल्य ८ प्रतिशतले बढेको छ। यता, कारोबारमा आएको माबिलुङ्ग इनर्जीको सेयर मूल्य भने सबैभन्दा धेरै ४.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोमबार नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे २४ करोड र हिमालयन रि–इन्स्योरेन्सको साढे २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेर हरियाली छाएको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ।
त्यस्तै, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
प्रकाशित: ८ मंसिर २०८२ १५:४० सोमबार





