कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । लगातार पाँचौं दिन बढ्ने क्रममा बिहीबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले बढेपछि नेप्सेमा सुधार देखियो ।
बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सामान्य घटेको छ। बिहीबार ३३३ स्टकको ८६ हजार १७० पटकको कारोबारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार नेप्सेमा ६ अर्ब ६९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ भने हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४० करोड १७ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो।
बिहीबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
प्रकाशित: ११ मंसिर २०८२ १५:४५ बिहीबार





