२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

एमसिसी परियोजना: १८ किलोमिटर प्रसारण लाइन र बुटवल सब स्टेसन निर्माण सुरु

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)अन्तर्गत १८ किलोमिटर विद्युत् प्रसारण लाइन र एक सब स्टेसन निर्माणको काम सुरु भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट(एमसिए) नेपालले बुधवारबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रसारण लाइन र न्यु बुटवल सबस्टेशनको निर्माण सुरु गरेको हो।

विशेष कार्यक्रमका बिच अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले दुवै योजनाको काम सुरु गरेका हुन्। सँगै एमसिसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को  र एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट पनि कार्यक्रममा सहभागी थिए। 

एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबिच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्ने एमसिए नेपालले विश्वास गरेको छ। 

कार्यक्रममा अर्थमन्त्री खनालले निर्माण सुरु भएका पूर्वाधारले स्वच्छ ऊर्जामा पहुँचको विस्तार र क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धिमार्फत दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग दिने बताए। उनले भने, ‘यसले एमसिसी र एमसिए नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै छौँ भन्ने देखाएको छ।’

कार्यक्रममा अमेरिकी राजदूत थम्पसनले नेपालमा थप भरपर्दो ऊर्जा प्रणाली निर्माणमा एक प्रतिबद्ध साझेदारका रूपमा उभिन पाउँदा अमेरिकालाई गर्व लागेको बताए। ‘प्रसारण लाइन तथा सब स्टेसन जस्ता आयोजनाले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ। यो कार्यक्रम हामी सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो,’ उनले भने। 

नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले बताए। उनले भने, ‘यी दुई पूर्वाधारले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउनमा नयाँ अवसरहरू सिर्जना गर्नेछन्।’ 

४०० केभी क्षमताको १८ किमी प्रसारण लाइनले न्यु बुटवल सब स्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ। करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने दुवै पूर्वाधारले आगामी दशकभित्र १० हजार मेगावाट बिजुली निर्यात गर्ने नेपालको लक्ष्यलाई सघाउने विश्वास छ। 

प्रकाशित: १० मंसिर २०८२ १७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App