उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक संरचनागत परिवर्तनका क्रममा वित्तीय स्रोतको व्यवस्थापनबारे विराटनगरमा छलफल गरिएको छ । उद्योग संगठन मोरङको समन्वयमा नेपाल बैंकर्स एशोसिएशन र जिआइजेड नेपालले संयुक्त रुपमा छलफल गरेका हुन् ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले ऊर्जा दक्षता परियोजनामा लगानीका नीति, प्रक्रिया र जोखिम मूल्यांकन प्रणालीबारे जानकारी दिएका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता उद्योगको दीर्घकालीन स्थायित्वसँग सम्बन्धित विषय भएको बताउँदै निजी क्षेत्र र वित्तीय संस्थाबीच सहकार्य आवश्यक रहेको बताए ।
वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानीका लागि स्पष्ट नीति, जोखिम मूल्यांकन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने बताए । उनले बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक भएको र त्यसका लागि उद्योग प्रतिष्ठानले उर्जा अडिट गरी संरचनागत परिवर्तनका लागि आवश्यक देखिएको स्थानमा वित्तीय संस्थाबाट आवश्यक प्रकृया पुरागरी लगानी व्यवस्थापन गर्नसक्ने गरी तयारी भईरहेको जानकारी दिए ।
जीआईजेड/रिपका प्रोग्राम म्यानेजर डा. संजय गोर्खालीले नेपालमा ऊर्जा दक्षता सुधारका लागि वित्तीय संयन्त्रको अत्यावश्यक वोध गरी जीआईजेडले निजी क्षेत्र र बैंकहरूबीचको सहकार्यलाई सुदृढ पार्न नीति तथा प्राविधिक सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा उद्योगी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू र चार्टर्ड एकाउन्टेन्टहरूको सहभागिता रहेको थियो ।
प्रकाशित: २० कार्तिक २०८२ १९:२० बिहीबार



-600x400.jpg)

