२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

पोखरा–पारो पहिलो उडान मंगलबार

हिमालयको उडान नियमित, तर, यात्रु कम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

भुटान एयरलाइन्सले भुटानको पारो र पोखरालाई जोड्नेगरि मंगलबार (नोभेम्बर १८) बाट चार्टर उडान सुरु गर्ने तयारी गरेको छ। पोखरा र भुटानबीच पर्यटक आउजाउ गराउने उद्देश्यले चार्टर उडानको तयारी भएको हो। पहिलो चरणमा पारो–पोखरा रुटमा लगातार चारवटा चार्टर उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

विमानस्थलका प्रबन्धक सुर्य खत्रीका अनुसार चारवटा चार्टर उडानमध्ये मंगलबार पहिलो उडान हुनेछ। त्यसपछि नोभेम्बर २२, २६ र ३० तारिखमा अरु उडान हुनेछन। चारवटा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट एयरलाइन्सले स्वीकृति पाईसकेको छ। उडान हुने दिन जहाज बिहान ११ बजेर ४० मिनेटमा पोखरा अवतरण हुनेछ भने १२ बजेर २० मिनेटमा पोखराबाट पारोका लागि उडान भर्नेछ।  

‘भुटान एयरलाइन्सले यसअघि नै पोखरामा चार्टर उडान गर्ने भनेको थियो। तर, नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण ढिलाई भएको अनुमान छ,’ उनले भने, ‘पहिलो चरणमा चारवटा चार्टर उडान गर्नेगरि अनुमति पाएको छ। चार्टर उडानपछि नियमित उडानको बाटो पनि खुल्न सक्छ।’

भुटान एयरलाइन्ससँग नेपालमा सहकार्य गरिरहेको यूनिभर्सल टुर्स एण्ड ट्राभल्स (यूटिटि)ले चार्टर उडानको व्यवस्थापन गरेको हो। यसअघि गत सेप्टेम्बर २८ मा पहिलो उडान र अक्टोवर २, ६ र १० तारिखमा अरु तीनवटा उडान गर्ने यसअघिको तालिका थियो। तर पछि उडान तालिका सारेको थियो।

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र पारोलाई जोड्नेगरि प्रारम्भिक तहको उडान हुन थालेको बताए। ‘पोखरा–पारो जोड्ने यो उडानले पोखरा र भुटानबीचको पर्यटनलाई जोड्नेछ,’ उनले भने, ‘दुइवटा पर्यटकीय सहरलाई जोड्नका लागि हवाइमार्गको खाँचो थियो। त्यो अभाव अब पुरा हुँदैछ।’ सांस्कृतिक, धार्मिक र साहसिक पर्यटनलाई जोड्नका लागि यो उडान सहयोगी बन्ने उनले बताए।  

पोखरा आएका तेश्रो मुलुकका विदेशीलाई भुटान पु¥याउन र भुटान आएका पर्यटकलाई पोखरा ल्याउन यो उडानले मद्दत गर्ने उनले बताए। चारवटा चार्टर उडानपछि यात्रुको माग भएमा निरन्तर उडान गर्न सकिने यसअघि नै युटिटिले बताइसकेको छ। उनका अनुसार १२६ सिट क्षमताको जहाजबाट यो रुटमा उडान हुनेछ। चार्टर उडानका क्रममा जहाजले भुटानबाटै पर्यटक पोखरा ल्याउने र उनीहरुलाई घुमाएर स्वदेश फर्काउनेछ।

श्रेष्ठले पोखरा र भुटानलाई जोड्न सके त्यसले पर्यटनमा नयाँपन दिलाउने बताए। ‘भुटान नजिकको पर्यटकीय गन्तव्य हो। तरपनि सिधा हवाई उडानले पोखरालाई जोड्न सकिएको थिएन। पोखरा–पारो चार्टर उडानले पर्यटकको आउजाउमा सहजता थप्नेछ,’ उनले भने, ‘धार्मिक र सांस्कृतिक सहित साहसिक पर्यटनलाई जोड्ने माध्यमको रुपमा उडान हुनेछ।’

सिचुआनको उडान सकियो  

पोखरादेखि चीनको छेन्दुसम्म चार्टर उडान गरिरहेको सिचुआन एयरलाइन्सले १० वटा उडान गरेको छ। चार्टर उडानको नयाँ तालिका अहिलेसम्म तय नभएको विमानस्थलले बताएको छ। विमानस्थलका प्रबन्धक खत्रीले सिचुआनको चार्टर उडानको तालिका सकिएको र नयाँ तालिका नआएको बताए। ‘सेप्टेम्बर–अक्टोवरमा नयाँ तालिका आउने भनिएपनि अहिलेसम्म आएको छैन,’ उनले भने।  

हिमालय एयरलाइन्सले भने अहिले कम यात्रुका बाबजुत पनि उडान गरिरहेको छ। हिमालयले अहिले पोखरा–ल्हासा सेड्युअल उडान गरिरहेको छ। ‘सेड्युअल उडानमा उत्तिसारो यात्रु छैनन,’ विमानस्थलका अर्का एकजना अधिकारीले भने, ‘कम यात्रुका बाबजुत पनि उडान भईरहेको छ।’ ती अधिकारीका अनुसार हिमालयको जहाज सोमबार पोखरा आउने र रात्री बिसानपछि मंगलबार जहाज ल्हासा जाने गरेको छ। ‘जहाजमा निकै नै कम संख्यामा यात्रु छन। तर, नियमित उडान भने भईरहेको छ,’ उनले भने, ‘कम संख्यामा उडान भएकोले निरन्तरता पाउनेमा आशंका गर्न सकिन्छ।’

प्रकाशित: ३० कार्तिक २०८२ १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App