नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ।
अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रियाबाट चिनियाँ कम्पनीले उक्त नोट छाप्ने टेन्डर पाएको हो।
राष्ट्र बैंकले नोट छपाइका लागि ‘चाइना बैंक नोट मिन्टिङ एन्ड प्रिन्टिङ कर्पोरेसन, बेइजिङ’ सँग सम्झौता गरेको छ। यो कम्पनी चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ को सहायक कम्पनी हो।
चिनियाँ कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो।
यसअघि राष्ट्र बैंकले सेप्टेम्बर २५ मा ‘प्रि–बिडिङ’ बैठक राख्दै २१ अक्टोबरसम्म बोलपत्र पेस गर्न समय तोकेको थियो। विभिन्न प्रक्रिया पूरा गरी चिनियाँ कम्पनी छनोट भएको हो।
राष्ट्र बैंकका अनुसार अहिले छाप्न लागिएको एक हजार दरका ४३ करोड थान नोटले करिब सवा तीन वर्षको बजार माग धान्ने आंकलन गरिएको छ।
यसअघि पनि राष्ट्र बैंकले हजार दरका नोट सोही चिनियाँ कम्पनी (चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ) बाटै छपाएको थियो। त्यतिबेला अमेरिकी डलरको विनिमय दर करिब १०८ रुपैयाँ हुँदा प्रतिनोट छपाइ लागत ३ रुपैयाँ ३७ पैसा परेको थियो।

प्रकाशित: १३ मंसिर २०८२ २२:०८ शनिबार





