पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जीतपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
स्थानीय स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले आफ्नै लगानीमा निर्माण गरेको उक्त स्टेशन सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
हरित ऊर्जा प्रवर्द्धन र वातावरणमैत्री पारवाहनलाई प्रोत्साहित गर्ने उद्देश्यसहित करिब ७५ लाख रुपैयाँभन्दा बढी लागतमा स्टेशन निर्माण गरिएको सहकारीले जनाएको छ।
सहकारीका व्यवस्थापक सागर घिमिरेका अनुसार स्टेशनमा दुईवटा अत्याधुनिक चार्जर मेसिन जडान गरिएको छ।
८० केभी क्षमताको ‘फास्ट चार्जर’ जडान गरिएको उक्त स्टेशनमा एकैपटक चारवटा सवारी साधन चार्ज गर्न सकिने व्यवस्था छ। व्यवस्थापक घिमिरेले स्टेशनबाट दैनिक ५० भन्दा बढी विद्युतीय सवारी साधन सहज रूपमा चार्ज गर्न सकिने जानकारी दिए।
नवनिर्मित चार्जिङ स्टेशनको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पन्थीले सहकारी क्षेत्रले प्रविधिमैत्री ऊर्जा सेवामा हातेमालो गर्नु सकारात्मक भएको बताए। उनले यस्तो कार्यले स्वदेशमै उत्पादित विद्युत् खपतमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, बाणगंगा नगरपालिकाका नगरप्रमुख अर्यालले चार्जिङ स्टेशन निर्माणले स्थानीय क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई थप प्रोत्साहन गर्ने बताए।
सहकारीका अध्यक्ष घनश्याम घिमिरेले संस्थाको सेवा विस्तार तथा दिगो ऊर्जा प्रवर्द्धनका लागि यो स्टेशन निर्माणलाई एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।
प्रकाशित: ८ मंसिर २०८२ २१:४७ सोमबार





-600x400.jpg)