coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्की र हिमाल आरोहण एकै समयमा गर्दा दुर्घटना हुनसक्ने

विश्वचर्चित अमेरिकी स्की खेलाडी ४९ वर्षीय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा हालै भएको मृत्युले केही प्रश्न उब्जाएको छ। स्की र हिमाल आरोहण एकै समय र नजिकको बाटोबाट गर्ने अनुमति दिंदा यस्ता घटना दोहोरिन सक्ने भन्दै यसबारे पुनर्विचार गर्न सरोकारवालाले सुझाव दिएका छन्। गत असोज १० मा ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल सफल आरोहण गरी स्की खेलेर फर्कने क्रममा वेपत्ता भएकी उनको २ दिनपछि सव भेटिएको थियो।

स्की खेलेर फर्कने क्रममा हिमपहीरोले बगाएर भएको निधनसँगै हिमाल आरोहण गर्दा स्की र हिँड्ने बाटो एउटै नभए पनि रूट एउटै भएको अवस्थामा यसले सम्भावित दुर्घटना निम्त्याउन सक्ने खतरा रहेको सरोकारवालाको बुझाइ छ।

हाल हिमाल आरोहण गर्ने तथा हिमाल आरोहणसँगै स्की खेल्ने एउटै रूट छ। स्की आरोहीहरूले सोही रूटमा स्की खेल्दा हिउका चट्टान भत्कने तथा बिग्रने सम्भावना हुने भएकाले पदयात्रामा समस्या निम्त्याउन सक्ने उनीहरूको तर्क छ। हिमाल चढ्ने र हिमाल सम्बन्धित गतिविधि तथा खेलहरू एकै याममा हुने गर्छन्। आरोहण र खेललाई फरक फरक याममा समावेश गराउने भन्ने पनि सम्भव नभएको अवस्थामा रूट फेर्ने कुरा निकै महँगो हुने भएकाले तल्कालै सम्बोधन हुन सक्दैन। यद्यपि यस सम्बन्धी आवश्यक खोज अध्ययन तथा बहस समयमै गर्नुपर्ने सरोकारवालको भनाइ छ।

पर्यटन विभागका अधिकृत विज्ञान कोइरालाले स्कीसहित आरोहण गर्ने र हिमाल आरोहण गर्नेको पिक टाइम एउटै भएको अवस्थामा थप भिड हुने तथा भिड लामो समयसम्म हुने कुरालाई नकार्न नसकिने बताए। उनले भने ‘यो सूक्ष्म तर निकै संवेदनशील र नजरअन्दाज भएको पक्ष हो। हिलारीको दुर्घटना यसको परिणाम त होइन तर रूट एउटै भएको अवस्थामा यसले भविष्यमा दुर्घटना निम्त्याउन नसक्ला भन्ने ग्यारेण्टी दिन सकिदैन। यसको लागि बहस तथा छलफल आवश्यक छ।’

आरोहीहरू उचाइमा पुगेपछि उचाइको आनन्द लिन केही समय खर्चिन्छन्। हिमाल आरोही पूर्णिमा श्रेष्ठ बताउँछिन्, उनीहरू उचाइ पुगेपछि त्यसको आन्नद लिन र फोटो तथा भिडियो खिच्न चाहन्छन्। उनका अनुसार यही कारण पिक आवरमा भिड हुने गर्छ। उनले हिमाल चढ्ने तथा स्की गर्ने दुवै रूट एउटै भए पनि बाटो फरक भएका कारण तत्कालै प्रत्यक्ष समस्या नआए पनि यसबारे अध्ययन गर्नुपर्ने सुझाव दिइन। ‘आरोही, सरकार तथा सरोकारवाला निकायले सुरक्षित तथा व्यवस्थित हिमाल आरोहणका लागि यसका बारेमा अध्ययन गर्नुपर्छ,’ उनले भनिन्।

स्की खेलका लागि हिमालको एरिया अनुसार अनुमति दिँदै आएको विभागका पवर्तारोहण शाखाका अधिकृत दिपेन्द्र रेग्मीले बताए। उनले यदि कुनै पनि स्की हिमालको चुचुराबाट नै खेल्छ भने उक्त आरोही खेलाडीले हिमाल आरोहण र स्किी आरोहण दुबैको अनुमति लिनुपर्ने बताए।

हाल विभागले हिमलुङ, धैलागिरी, मनास्लु, एभरेष्टलगायतका क्षेत्रमा स्किी अनुमति दिँदै आएको छ। विभागले तोकिएको हिमाल एरियामा स्किी खेल्न फोहरमैला व्यवस्थापन डिपोजिटको लागि पाँच सय डलर र स्किी अनुमतिको लागि एक सय डलर लिँदै आएको छ। यसबाहेक यदि स्किी खेलाडीले सरकारले तोकेको हिमालको क्षेत्रबाहेकका हिमालको शिखरबाट नै स्किी खेल्न चाहन्छ भने हिमाल अनुसारको आरोहण अनुमति लिनुपर्ने हुन्छ। 

प्रकाशित: ३१ आश्विन २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App