६ वैशाख २०८१ बिहीबार
अर्थ

वर्षाले बिथोल्दा पर्यटन क्षेत्रलाई नोक्सान

होटल बुकिङ गरेका पाहुना पनि आउन सकेनन्ः व्यवसायी

पोखरा घुम्न आएका पाहुना। दसैंको बिदामा घुम्न आउने पाहुना यो पटक झरिका कारण रोकिँदा पर्यटन क्षेत्रलाई मार परेको छ। तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्तरिक पाहुनाको पर्खाइमा थियो। तर, लगातारको झरिले गर्दा पाहुनाको हिडडुल रोकिँदा त्यसको मार पर्यटन क्षेत्रले भोग्नुपरेको छ।  

आन्तरिक पाहुना आउन नपाउँदा यो बेला पोखराका मात्र नभई आसपास क्षेत्रका धेरैजसो होटल रित्तै रहे। अरुबेला दसैंको लामो बिदामा आन्तरिक पाहुना आउँदा पर्यटकीय क्षेत्रका होटल–रेस्टुँरा भरिभराउ हुन्थे। पदयात्रा क्षेत्रमा त बास पाउनै समस्या हुन्थ्यो। छोटो दूरीका पदमार्गमा आन्तरिक पाहुना खचाखच हुन्थे। अघिल्ला दुइवर्षमा कोरोना संक्रमणको त्रास रहँदारहँदै पनि पदयात्रा क्षेत्रमा पाहुना अभाव थिएन। तर, यो पटक कोरोनाको अप्ठेरो कम भएपनि मौसमी अवरोधले गर्दा पर्यटन क्षेत्रमा मार खेप्नुपरेको व्यवसायीको भनाई छ।  

यो पटक लगातारको झरिले गर्दा पाहुनाको हिडडुल रोकिएको र त्यसको असर पर्यटन क्षेत्र पूर्णरुपमा परेको व्यवसायीले बताए। लेकसाइडस्थित क्विन्स पार्क होटलका म्यानेजर तुलसी लामिछानेले दसैंको टीको दिनदेखि सुरु भएको झरिले गर्दा यो पटक पोखराले आन्तरिक पाहुनाको ठुलो हिस्सा गुमाएको बताए। होटल बुकिङ गरेका पाहुना पनि आउन नपाएको उनले बताए। ‘वर्षादले गर्दा यो पटक पर्यटन क्षेत्रलाई ठुलो क्षति पुगेको छ। बिदामा घुम्न आउने पाहुना घरबाटै निस्कन पाएनन,’ लामिछानेले भने, ‘यो पटक आन्तरिक पाहुनाबाट पोखराले ठुलो अपेक्षा गरेको थियो। तर, वर्षाले गर्दा पर्यटकीय गन्तव्यसम्म पाहुना पुग्नै सकेनन्।’

कोरोना संक्रमणले गर्दा विदेशी पाहुना आउन नपाउँदा यो बेला पोखरा जस्ता पर्यटकीय सहरले आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा गरेको थियो। तर, आश गरेका पाहुना नै भित्रिन नपाएको उनले बताए। ‘जो जहाँ रह्यो, उहिँ नै रोकिए। कतिपय पाहुना जसोतसो गन्तव्यमा पुगेको भएपनि घरसम्म फर्किन पाएनन,’ उनले भने, ‘घर छाडेका पाहुनाले घुम्न पनि पाएनन। फर्किन पनि सकेनन, निकै नै सकस खेप्नुप¥यो। कतिपय पाहुनालाई त गन्तव्यसम्म पुग्न निकै नै सकस भयो।’ लामिछानेका अनुसार यो पटक दसैंको बिदामा पर्यटकीय क्षेत्रले आन्तरिक पाहुना पर्खेको भएपनि पाहुना आउन नपाउँदा होटलका कोठा नै रित्तै रहे।  

सामान्य अवस्थामा टीका थापेर घुमघाममा निस्कने पाहुना यो पटक झरिले गर्दा घरभित्रै थुनिएको उनले बताए। ‘सबैतिरका पर्यटकीय क्षेत्रले यो पटक मार खेप्नुपरेको छ। भारतीय पाहुना पनि आउन सकेनन। दसैंको टीका थापेर घुम्न निस्कने पाहुना वर्षाका कारण घरैमा रोकिए,’ उनले भने, ‘आन्तरिक पाहुना प्रभावित भयो भने पदयात्रामा गएका पदयात्री पनि रोकिए। पदयात्रा रुट पुरै सुनसान भए।’ 

पर्यटकीय क्षेत्रले पछिल्लो समय आन्तरिक पाहुनाबाट ठुलो राहत खेपेको भएपनि वर्षाका कारण यो पटक ठुलो नोक्सान बेहोर्नुपरेको उनले बताए। ‘होटलका कोठा खालि रहे। कोठा बुकिङ गरेका पाहुना पनि तोकिएको बेला गन्तव्यमा पुग्न सकेनन,’ उनले भने, ‘अब त बिदा पनि सकियो। आएका पाहुना पनि फर्किने बेला भयो।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार दसैंको बिदामा यो बेला पोखराका होटलका अकुपेन्सी करिब ८० प्रतिशत पुग्दथ्यो। कोरोना अघि त विदेशीको पनि सिजन पर्ने हुँदा पाहुनालाई बास पाउनै सकस हुन्थ्यो। तर, कोरोना संक्रमणकै बीचमा पनि आन्तरिक पाहुनाले गर्दा पर्यटन क्षेत्र निकै नै चलायमान हुने गरेको थियो। तर, यो पटक भने पर्यटन क्षेत्र निकै नै मारमा परेको उनले बताए। उनले सकसका साथ भित्रिएका पाहुनाबाट पनि पोखराको अकुपेन्सी करिब ६० प्रतिशत हाराहारीमा उक्लेको बताए।  

‘काठमाडौं–पोखराको दूरी दुइसय किलोमिटर हो। तर यो दूरी पार गर्न १४ घण्टासम्म लाग्यो। वर्षादले गर्दा ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि हिडडुल नै सकसपूर्ण बन्यो,’ पराजुलीले भने, ‘सामान्य अवस्थामा पोखरा–काठमाडौं यात्रा अवधि ६ घण्टाको भएपनि अहिले दोब्बर भन्दा बढी समय लगाएर यात्रुले यात्रा गरेका छन्। यस्तो सकसपूर्ण यात्राले पर्यटनमा लाभ हुँदैन।’  

आगामि दिनमा पूर्वाधार सुधार्न चाँसो नदिने हो भने पर्यटन क्षेत्रले सामान्य वर्षा हुँदा पनि राजमार्गमा सास्ती खेप्नुपर्ने उनले बताए। ‘पूर्वाधार सुधार्नमा चाँसो दिएनौ भने आगामि दिनमा पर्यटन क्षेत्रका लागि सकसपूर्ण दिन आउनेछ,’ उनले भने, ‘पर्यटन व्यवसायीले यही अवस्थाको पूर्वाधारमा भर पर्नुपर्ने हो भने आन्तरिक पाहुनाको हिस्सा पनि गुमाउनेछौ। विदेशीको त अहिले नै गुमाएका छौ।’

पराजुलीका अनुसार दसैंका बिदामा ३÷४ दिनसम्म पर्यटकीय क्षेत्र निकै नै चलायमान हुन्थ्यो। बिदाको सदूपयोग गर्न आन्तरिक पाहुना टीका थापेर परिवारै घुमघाममा निस्कन्थे। केही युवापुस्ताका पाहुना पदयात्रामा जान्थे। परिवार सहितका पाहुनाको घुमघाम पोखरा, चितवन जस्ता सहरमा हुन्थ्यो। तर, यो पटक दसैंसँगैको वर्षाले गर्दा पाहुना घुमघाममा निस्कनै नपाएको उनले सुनाए।

‘होटल बुकिङ गरेपनि पाहुना आउन सकेनन। विदेशी पर्यटक नआएको बेला आन्तरिक पाहुनाबाट पर्यटनबाट यो बेला निकै नै ठुलो अपेक्षा गरेको थियो। तर, वर्षादले गर्दा राजमार्गमा अवरोध हुँदा पाहुनाको हिडडुल नै रोकियो,’ उनले भने, ‘पर्यटन क्षेत्र चलायमान हुन पाएनन। पदयात्रामा रहेका पर्यटक पनि रोकिए। कतिपयले त पदयात्रा पुरा नै नगरि स्वदेश फर्केका छन्।’  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माका अनुसार यो बेला भारतीय र आन्तरिक पाहुना आउने व्यवसायीको अनुमान थियो। तर, सबैजसो पाहुनालाई निरन्तरको झरिले घरभित्रै थुनेको उनले बताए। ‘पर्यटन क्षेत्र अति नै डिस्टर्व भयो। पाहुनाको आगमन न्यून हुन पुग्यो,’ शर्माले भने, ‘पोखरामा मात्र नभई आसपासका सबैजसो गन्तव्यमा पाहुना पुग्न सकेनन। गन्तव्यमा पुगेका पाहुना पनि घर फर्किन सकेनन।’ उनका अनुसार पाहुना आउन नपाउँदा पोखराका अधिकांश होटलका कोठा रित्तै रहे।  

‘पाहुनालाई हैरानी पनि उत्तिकै भयो । मान्छे बास बस्ने ठाउँसम्म पनि पुग्न सकेनन। घर छाडेका पाहुना पनि राजमार्गको अवरोधमा फँसे। लामो समयसम्म गन्तव्यमा पुग्न नसक्दा पाहुनाको घुमफिर नै हुन सकेन,’ शर्माले भने, ‘जसोतसो गन्तव्यसम्म पुगेका पाहुना पनि घुमघाममा निस्कनै पाएनन। निरन्तरको झरिले गर्दा घरबाहिर निस्कन सक्ने अवस्था रहेन।’ चाँडबाँडको यो लामो बिदामा पाहुना आउने भएकोले पर्यटन क्षेत्रले निकै नै लाभ पाउने गरेकोमा यो पटक भने वर्षाले गर्दा सकस परेको उनले बताए।  

‘यो बेला भारतीय र आन्तरिक पाहुनाको सिजन हो। तेश्रो मुलुकका पाहुना कोरोनाका कारण रोकिएको बेला भारतीय र आन्तरिकलाई भने मौसमी अवरोध रह्यो,’ उनले भने, ‘होटल भरिभराउन हुनुपर्ने हो, तर, त्यो हुन सकेन। आन्तरिकले मात्र पनि यो बेला होटल भरिभराउन हुनुपर्नेमा सबैतिर सुनसान बन्न पुग्यो।’  

प्रकाशित: २२ आश्विन २०७९ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App