७ वैशाख २०८१ शुक्रबार
अर्थ

बोर्डमा एनएचपिसीको निवेदन,पश्चिम सेती जलविद्युत्

भारतीय कम्पनी एनएचपिसीले पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको लागि लगानी बोर्डको कार्यालयमा मंगलबार निवेदन पेश गरेको छ। कम्पनीका पदाधिकारीले मंगलबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निवेदन पेश गरेका हुन् ।

यस अघि दुबै कम्पनीबीच भएको समझदारीपत्र अनुसार भारतीय कम्पनीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन दिनुपर्ने प्रावधान राखिएको थियो।  

सोही प्रावधान अनुसार एनएचपिसीले मंगलबार बोर्डको कार्यालयमा निवेदन पेश गरेको हो। एनएचपिसी लिमिटेडको अफिसियल ट्विटर ह्यान्डलबाट ट्विट गर्दै पश्चिम सेती आयोजनाको लागि लगानी बोर्डको कार्यालयमा सर्वेक्षण अनुमतिपत्रको लागि निवेदन दिएको जनाएको छ ।

‘एनएचपिसीले आज पश्चिम सेती जलविद्युत् आयोजनाको सर्भे इजाजत पत्र लगानी बोर्डको कार्यालयमा तोकिएको मितिभन्दा अगाडि बुझाएको छ। गत भदौ २ गते राजधानीमा आयोजित एक कार्यक्रमबीच ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमतिपत्रको अध्ययन गर्न लगानी बोर्डको कार्यालय र भारतीय कम्पनी एनएचपिसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।  

भारतीय कम्पनी एनएचपिसीले दुवै जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र देहायका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने उल्लेख गरिएको छ। सो समझदारी पत्रमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष, परियोजनाको अप्टिमाइजेसन सम्बन्धमा, परियोजनालाई जलाशय वा अर्धजलाशय वा संयुक्त रूपमा वा छुट्टाछुट्टै निर्माण गर्ने उल्लेख  

गरिएको थियो। त्यसैगरी परियोजनाको अनुमानित लागत अनुमान र अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना अघि बढाउनुपर्ने उल्लेख  गरिएको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र एनएचपिसी कम्पनीका सिएमडी एके सिंहले एमओयुमा हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री देउवाको अध्यक्षतामा साउन २३ गते बसेको लगानी बोर्डको ५२ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी ६ जलविद्युत् आयोजना अध्ययनको लागि भारतीय कम्पनी एनएचपिसीलाई दिने निर्णय गरेको थियो ।

बैठकले दुवै जलविद्युत् परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसी लिमिटेड र लगानी बोर्डसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ। पश्चिम सेती जलविद्युत् आयोजनाबाट पनि नेपाललाई २१.९ प्रतिशत निःशुल्क ऊर्जा प्राप्त हुनेछ। यसअघि अष्ट्रेलियन कम्पनी र चिनियाँ कम्पनीले लामो समयसम्म यो आयोजना होल्ड गरेर राखेका थिए। पश्चिम सेती आयोजना अहिले भकुन्डो जस्तो भएको छ। बारम्बार कम्पनी फेरिने तर निर्माण नहुने समस्या यी आयोजनाले बेहोरिरहेको छ।  

यो आयोजना भारतीय कम्पनीले पनि निर्माण गर्नेमा आशंका कायमै छ। सरकारले पश्चिम सेती जस्तो गेम चेञ्जर आयोजनाको निर्माण कार्य अघि नबढाउँदा मुलुकले आर्थिक रूपमा ठूलो क्षति बेहोर्दै आइरहेको छ ।

प्रकाशित: १३ आश्विन २०७९ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App