८ वैशाख २०८१ शनिबार
अर्थ

सिन्धुलीमा ड्रागन फ्रुटको व्यवसायिक खेती

सिन्धुलीको कमलामाई नगरपालिका-४ का किसान कैलास भट्टराईले व्यवसायिक रुपम सुरु गरेको ड्रागन फ्रुट खेती।

सिन्धुलीमा व्यवसायिक रुपमा ड्रागन फ्रुट( सिउँडी जातको फल) खेती सुरु गरिएको छ। जिल्लाको कमलामाई नगरपालिका ४ मिलनचोकका एक किसानले यसको खेती सुवात गरेका हुन्।  

मुलुक कोरोना भाइरसले आक्रान्त भएर लकडाउन भएको समयलाई सदुपयोग गर्दै कमलामाई नगरपालिका-४ का  कैलास भट्टराईले व्यवसायिक रुपमै ड्रागन फ्रुट खेती गर्न सुरु गरेका हुन्। भगवती बहुउदेश्यीय कृषि पशुपन्छी तथा माछा फर्म नामक फर्म दर्ता गरी उनले करिब चार सय बोट ड्रागन फ्रुट लगाएका हुन्। २ कठ्ठा जग्गामा ड्रागन फ्रुटको परिक्षणका रुपमा खेती सुरुवात गरिएको भट्टराईले बताए। 

एक निजी विद्यालयका शिक्षक समेत रहेका भट्टराईले  सुरुवातमा करिब पाँच लाख लगानी गरेर खेती सुरु गरिएको र खेतीलाई विस्तार गर्ने चरणमा रहेको जानकारी दिए। । शिक्षक पेशा समेत गर्दै आएका भट्टराईले कोभिड १९ को प्रभावले देशभर लक डाउन भएपछि व्यवसायिक रुपमा फर्म दर्ता गरी खेती गर्न जुटेका हुन्। फल लगाएको करिब डेढ बर्षमा फल दिन सुरु भएको उनले जनाए। फल दिन सुरु गरेको पहिलो बर्ष भएकाले धेरै नफलेको र दोस्रो बर्षबाट फल धेरै लाग्ने उनको विश्वास छ। रातो र सेतो दुई जातको फलको खेती गरेको उनको भनाई छ। राम्रोसँग फल्दा एउटै फल एक केजीको हुन्छ उनले भने, ‘यसको खेतीको संम्भावना छ तर जिल्लामा व्यवसायिकता देखिएन’, उनले भने  

‘मैले खेतीको सुरुवात गरेको छु, यसको माग बढ्दै गएको छ, प्रतिकेजी ६ सय रुपैयाँमा ड्रागन फ्रुट बिक्री गर्दै आएको छु।  ड्रागन फ्रुट खेतीका लागि जिल्लाका धेरै भुभागमा हावापानी अनुकुल भएपनि व्यवसायिक खेती न्यून रहेको छ। हावापानी अनुसार ड्रागन फ्रुट खेतीका लागि सिन्धुलीमा सम्भावना राम्रो भएपनि व्यवसायिकता नभएर घरायसी प्रयोजनका लागि केहि किसानहरुले मात्रै लगाउदै आएका छन्। ‘खेती लगाउन पहिले यसको अध्ययन गर्न जरुरी छ’, किसान भट्टराईले भने, ‘मैले लकडाउनको समयमा मोवाइलमा युटुब हेर्दा यसको खेती गर्न उत्सुकता जागेर खेती गर्ने किसानकामा गएर अध्ययन पश्चात सुरु गरेको हुँ।’

भट्टराईले ड्रागन फ्रुटसँगै कुरिलो खेती गरेका छन्। परम्परागत खेती प्रणालीले किसानलाई जिविकोपार्जन गर्न गाह्रो हुने भएकाले माटो सुहाउँदो नयाँ नयाँ खेती प्रणाली अपनाई व्यवसायिकता तर्फ जानुपर्ने उनको सुझाव छ। ‘मेरो यो फर्मबाट ड्रागन फ्रुट मात्रै नभएर कुरिलो पनि बिक्री हुन्छ’, उनले भने ‘यो दुवै महंगोमा बिक्री हुने फल र तरकारी हो।’

प्रकाशित: ८ आश्विन २०७९ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App