coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विद्युतीय सवारी विशेष: पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नुपर्छ

पूर्वाधार निर्माणमा सहुलियत चाहियो

राजनबाबु श्रेष्ठ,

सिप्रदी ट्रेडिङ

करिब ४/५ वर्षअघि ग्राहकमा विद्युतीय सवारीसाधन किन्ने कि नकिन्ने भन्नेमा धेरै द्विविधा देखिन्थ्यो। त्यो बेला विद्युतीय सवारीसाधनले काम गर्छ कि गर्दैन भन्ने धेरै नै आशंका र चिन्ता देखिन्थ्यो। विगतमा विद्युतीय सवारीसाधन चढ्दा बाटोमै चार्ज सकिएर अलपत्र पार्ने हो कि भन्नेलगायत यावत् प्रश्न र आशंका कायमै देखिन्थ्यो। इभीका साधन पानीमा डुबे भने के हुन्छ? भन्ने खालका धेरै प्रश्न जनतामा उब्जिने गर्थ्यो। तर अहिले विद्युतीय सवारीसाधनप्रति जनताको आमधारणा धेरै हदसम्म परिवर्तन भइसकेको छ।

अहिले विद्युतीय सवारीसाधन सम्बन्धित पर्याप्त पूर्वाधारको अभाव छ। अर्काेतर्फ विद्युतीय सवारीसाधन सम्बन्धित इको सिस्टम नै तयार पार्नुपर्ने हुन्छ। विद्युतीय सवारीसाधनको मर्मतसम्भार, सेन्टर, चार्जिङ स्टेसन र मर्मतसम्भारका अत्यावश्यक उपकरण, ब्याट्री व्यवस्थापन, सिस्टम लगायत अत्यावश्यक पूर्वाधार तयार पार्नुपर्ने हुन्छ। विद्युतीय सवारीसाधन सम्बन्धित सबै कुरालाई एकै साथ अगाडि नबढाउँदासम्म यसको व्यवस्थित ढंगले प्रवद्र्धन तथा विकास गर्न सम्भव छैन।

अहिले निजी क्षेत्रले विद्युतीय सवारीसाधनको भविष्य देखेर लगानी गर्दै आइरहेका छन्। अहिले जुन विद्युतीय सवारीसाधन सम्बन्धी पूर्वाधार बनेका छन् ती पूर्वाधारले सानो संख्यामा होइन, हजारौं विद्युतीय सवारीसाधन आयात गर्दा पनि व्यवस्थापन गर्न सकिने वातावरण तयार भएको छ।

अहिले ग्राहक आफैंले पनि विद्युतीय सवारीसाधन चलाउँदै अनुभव हासिल गरेकाले त्यसतर्फ रुचि बढिरहेको छ। अहिले विद्युतीय सवारीसाधनको प्रवद्र्धनका काम पनि तीव्र गतिमा हुँदै आइरहेका छन्। सर्वसाधारणले पहिलो पटक नेपालमा विद्युतीय सवारीसाधन भित्रिँदादेखि नै चासो देखाउँदै आइरहेका छन्। अहिले मिडियाका माध्यमबाट पनि विद्युतीय सवारीसाधनका ग्राहकमा धेरै नै जनचेतना आएको छ।

अर्काेतर्फ इन्टरनेटलगायत माध्यमबाट पनि ग्राहकले विद्युतीय सवारीसाधनबारे धेरै ज्ञान गर्नसक्ने भएका छन्। यो निकै सुखद पक्ष हो। यो जागरणले पक्कै पनि विद्युतीय सवारीसाधन प्रवद्र्धन र संरक्षणमा ठूलो अर्थ राख्ने काम गर्छ।

विगतमा ग्राहकको पहिलो रोजाइ पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन पर्ने गथ्र्याे। दोस्रो रोजाइमा मात्रै विद्युतीय सवारीसाधन हुन्थ्यो। तर, अहिले यो अवस्था फेरिएको छ। अहिले ग्राहकको पहिलो रोजाइमा विद्युतीय सवारीसाधन पर्न थालेका छन्। मुलुकको कनेक्टिभिटीको आधार भनेको नै सडक हो।

सरकारले पक्षपाती र नीति सुधार्नुपर्छ

आकाशविक्रम थापा,साइमेक्स इन्क 

अहिले संसारभरि नै अटोमोबाइल क्षेत्रमा विद्युतीय सवारीसाधन (इभी)को लहर आइरहेको छ। त्यो हुनुको मुख्य कारण जलवायु परिवर्तनको प्रभाव पनि हो। पेट्रोलियम पदार्थहरू जस्तै डिजेल, पेट्रोल र ग्यास नवीकरणीय ऊर्जाका स्रोतहरू होइनन्। यी स्रोतका भण्डार जुनसुकै बेला पनि सकिन सक्छन्। त्यसैले पनि नवीकरणीय ऊर्जाको स्रोतमा जानुपर्ने आवश्यकता देखिएको छ। अहिले संसारका केही कुनामा लडाइँ भइरहेको छ, त्यसको कुनै न कुनै रूपमा संसारभरि असरस्वरूप महँगी बढिरहेको छ।

अहिले लडाइँका कारणले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ। लडाइँका कारण मूल्य बढेको हो। भोलि गएर आपूर्तिका कारण पनि मूल्य बढ्न सक्छ। यो महँगी कहिलेसम्म थेग्ने? अहिले हरेक व्यक्तिका लागि सवारीसाधन अत्यावश्यक जस्तै भइसकेको छ। सवारीसाधनमध्ये विद्युतीय सवारीसाधन अहिले सबैका लागि उपयुक्त साधनका रूपमा स्थापित हुँदै छ। नेपालमा विद्युत् उत्पादनका हिसाबले हेर्ने हो भने उच्च क्षमता छ। पछिल्लो समय नेपालमा जलविद्युत् उत्पादन क्षमता बर्सेनि बढ्दै आइरहेको छ। हामीले केही वर्षअगाडि लोडसेडिङ खेप्दै आइरहेका थियौं। तर, अहिले अवस्था फेरिइसकेको छ। अहिले उत्पादन बढेकाले लोडसेडिङ हुने अवस्था छैन।

अहिले नयाँ-नयाँ जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा जोडिने क्रम बढेको छ। जलविद्युत् हाम्रो आफ्नै देशको नवीकरणीय ऊर्जाको स्रोत हो। त्यसले हाम्रो जस्तो मुलुकका लागि इभी सवारीसाधनको महत्त्व झनै धेरै छ।

विद्युतीय सवारीसाधनतर्फ ग्राहकको रोजाइ पनि वृद्धि भइरहेको छ। नेपाली बजार र उपभोक्ताको रोजाइ अचम्म खालको छ। नेपाली ग्राहकले जुनसुकै नयाँ खालका ब्रान्डलाई सजिलै अपनाउँदै आइरहेका छन्। यही प्रवृत्तिले पनि विद्युतीय सवारीसाधनलाई नेपाली जनताले सहजै स्विकार्दै आइरहेका हुन्। ग्राहकले इभी आएको छ, प्रयोग गरौं न त भन्ने भावनाले प्रयोग गर्न थाल्नुभएको हो।

 मान्छेले इभीको प्रयोग गरिसकेपछि त्यसको फाइदा देखेर नै यसको प्रयोग बढिरहेको छ। विद्युतीय सवारीसाधनको मूल्य र यसले दिने फाइदाका कारणले नै उपभोक्ताको रोजाइ बन्न पुगेको हो। विद्युतीय सवारीसाधनप्रति जनताको आमधारणा पनि विगतको तुलनामा धेरै राम्रो पाइएको छ। तर, विद्युतीय सवारीसाधनप्रति सरकारी दृष्टिकोण अझै पनि राम्रो भएको देखिन्न। सवारीसाधनले नेपालको राजस्व संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।

इभीमा स्थिर नीति आवश्यक

दीपक थपलिया,लक्ष्मी इन्टरकन्टिनेन्टल

अहिले विश्वव्यापी रूपमै विद्युतीय सवारीसाधन (इभी) को स्विकार्यता बढ्दै आइरहेको छ। पेट्रोलियम पदार्थको इन्धनको भण्डार जुनसुकै बेला पनि सकिने भएकाले नवीकरणीय ऊर्जामा जानुपर्ने हुन्छ। तर, हामी यसका निर्णयकर्ता होइनौं। नवीकरणीय ऊर्जामा जानु अहिलेको परिप्रेक्ष्यमा निकै व्यावहारिक योजना हो। पहिला विद्युतीय सवारीसाधन एउटा विकल्प मात्रै थियो। तर, अहिले विद्युतीय सवारीसाधन उपभोक्ताको आवश्यकता जस्तै बनिसकेको छ। पछिल्लो समय ग्रिन हाइड्रोजन लगायत आएका छन्। तर, त्योभन्दा पनि विद्युतीय सवारीसाधन अझै व्यावहारिक र भरपर्दाे देखिँदै आएको छ।

विद्युतीय सवारीसाधनलाई सर्वसाधारणको छिट्टै स्विकार्यता बढ्दै आइरहेको छ। हामीले अहिले पनि ७०/८० प्रतिशत विद्युतीय सवारीसाधन बिक्री गर्दै आएका छौं। सन् २०१९ को अपवादबाहेक सरकारले विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क दर घटाउँदै आइरहेकाले केही हदसम्म यसप्रति आकर्षण बढ्न गएको हो। सरकारले भन्सार तथा अन्तःशुल्कको दर केही कम गरेसँगै विद्युतीय सवारी साधनमा जान्छु भन्नेका लागि केही सहज र सरल भइरहेको छ।

हाम्रो देशका लागि पनि शतप्रतिशत रूपमै जलविद्युत्बाट उत्पादन भएको बिजुलीबाट विद्युतीय सवारीसाधन चल्ने भएकाले यसतर्फ जनताको आकर्षण बढेको हो। यो प्राकृतिक र आर्थिक दुवै हिसाबले फाइदाजनक देखिन्छ। विद्युतीय सवारीसाधनको प्रयोगले एकातर्फ स्वदेशमै उत्पादन भएको बिजुली खपत हुन्छ भने अर्काेतर्फ विदेशबाट पेट्रोलियम पदार्थको आयातमा निरुत्साहित गर्नेछ। विद्युतीय सवारी साधनका प्रयोगले विदेशी मुलुकबाट आयात गर्ने पेट्रोलियम पदार्थमा खर्चिने रकममा समेत कमी आउनेछ।

अहिलेको सन्दर्भमा मैले नेपाल इभीमा जानु अत्यन्तै राम्रो र हितकर हुने देख्छु। सरकारले विद्युतीय सवारीसाधनमा स्थिर खालको नीति नअपनाउँदा व्यवसायीले बेलामौकामा समस्या भोग्दै आइरहेका छन्। सरकारले एउटा वर्ष विद्युतीय सवारीसाधनको कर बढाउने, अर्काे वर्ष करको दर हेरफेर गर्ने नीतिले गर्दा विद्युतीय सवारीसाधनको आयात गर्ने व्यवसायीमा धेरै नै अन्योल सिर्जना हुँदै आइरहेको छ। इभीमा जानुमात्रै ठूलो कुरा होइन।

इभीसम्बन्धी इको सिस्टम नै तयार पार्नुपर्ने हुन्छ। एउटा चिजले मात्रै इभीले सफलता पाउन सक्दैन। त्यसैले इभीसम्बन्धी सबै सिस्टमको विकास गर्न जरुरी हुन्छ।

चार्जिङ स्टेसन बने इभीले बजार लिन्छ

दीपक थापा,सिजी मोटर्स

हामी आयातकर्ता इभी गाडी मात्र ल्याएर बिक्री गर्न सक्दैनौं। यसमा मुख्य चार्जर हो। अहिले उपभोक्ता निकै सचेत बनेका छन्। इन्टरनेटमा सर्च गरेर गाडीबारे सबै जानकारी लिएर आएका हुन्छन्। सस्तोमा गाडी ल्याएर नाफा खायो भन्ने उपभोक्ताको बुझाइ छ। धेरै नाफा खायो भने राजस्वले छापा मार्छ। उपभोक्ताले विदेशको मूल्य हेर्छन् तर त्यस्ता मुलुकमा सरकारले केकस्ता सुविधा दिएको छ भन्ने हेर्दैनन्। जस्तै, बैंककमा इभी सवारीसाधनमा कर फ्री छ। त्यहाँ स्वभावैले मूल्य सस्तो हुने भयो। उपभोक्ताले यो बुझ्दैनन्। विदेशमा सस्तो छ, यहाँ किन महँगो भन्छन्।

सरकारले विद्युतीय सवारीबारे खासै सोचेको छैन। तैपनि उपभोक्ता आकर्षित छन्। विद्युत् खपत बढाउनका लागि सरकारले प्रोत्साहित गर्ने नीति ल्याउनुपर्छ। सरकारले कति वर्षमा कति विद्युत् खपत बढाउने हो भन्ने विषयमा सोच्नुपर्छ। प्रयोगकर्ता विद्युतीय सवारीमा आकर्षित भए पनि उपत्यकाबाहिर जाँदा चार्ज गर्ने विषयमा समस्या छ। भ्यालीबाहिर जस्तै भैरहवा जानुप¥यो भने कहाँ चार्ज गर्ने भन्छन्। केही ठाउँमा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदीले चार्जर स्टेसन बनाएको छ। इभी सवारीसाधनलाई प्रवद्र्धन गर्ने हो भने सबै कम्पनीले सबै कम्पनीका गाडीलाई चार्ज गर्न दिएर सहयोग गर्नुपर्छ।

अहिले जेजस्तो अवस्था भए पनि गाडी लन्च गरेपछि प्रयोगकर्ताको चाप बढेको छ। मागको आधारमा तुरुन्त गाडी उपलब्ध गराउन सक्ने अवस्था छैन। सरकारले केही सोचेको छैन। बंगलादेशमा विद्युत् बेच्छु भन्छ। तर, स्वदेशमा कसरी खपत बढाउने भन्ने नीति लिएको छैन। डेढ महिनादेखि चीनसँगको केरुङ नाका बन्द हुँदा गाडी रोकिएका छन्। सरकारलाई केही मतलब छैन।

सरकारले विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन भटाभट बनाउने हो भने इभीको बजार बढ्छ। यसले इन्धन खपत घट्छ र ऊर्जाको खपत बढ्छ। यसले मुलुकलाई पनि फाइदा हुन्छ। बिजुली खपत बढाउँछु भनेर सरकारले काम गर्नुपर्छ। अहिले निजी क्षेत्रको लगानीमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाएको छ। भोलि नीति मिलेन भनेर हटायो भने लगानी जोखिममा पर्छ। सबै निजी क्षेत्रले १९/२०  लाख रूपैयाँ खर्च गरेर चार्जिङ स्टेसन राख्न सक्दैनन्। विदेशमा चार्जिङ स्टेसन बनाउन सरकारले लगानी गरेका छन्। 

प्रकाशित: ७ आश्विन २०७९ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App