coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रको गुनासोः बैंकको ब्याज दोब्बर भयो, तिर्न सक्दैनौ

पर्यटकीय क्षेत्र पोखरा। फाइल तस्बिरः नागरिक

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बंैक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्याजदर बढाउँदा सकस परेको व्यवसायीको गुनासो छ। ब्याजदर वृद्धिले नयाँ लगानीकर्तालाई समेत प्रभावित र हतोत्साही बनाउने अवस्था आएको व्यवसायीले बताए।  

निक्षेपको ब्याजदर वृद्धिले कर्जाको पनि ब्याजदर बढने भन्दै पर्यटन व्यवसायीले ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरेका छन्। होटल संघले विहीबार विज्ञप्ती जारी गर्दै वित्तीय संस्थाहरुले बढाएको ब्याजदर तत्काल फिर्ता लिन आग्रह गरेको छ। ब्याजदर वृद्धिले नयाँ लगानीकर्ता त्रसित हुने र भईरहेको लगानी पनि रोकिने अवस्था आएको उनीहरुको भनाई छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडको मारबाट उठ्न नपाउँदै वित्तीय संस्थाले ब्याजदर बढाउँदा सकस भएको बताए। वित्तीय संस्थाले निक्षेपमै १५ प्रतिशत ब्याजदर दिन थालेपछि कर्जाको ब्यादरको सिमा निकै नै माथि पुग्ने उनको भनाई छ। आफुले लिएको आठ प्रतिशतको कर्जाको ब्याजको दर अहिले १५ प्रतिशत पुगेको उनले बताए।  

‘झन्डै दोब्बर ब्याजदरको भार बोक्ने क्षमता व्यवसायीमा छैन । पर्यटन क्षेत्र यसै त टाट पल्टेको थियो, त्यही बेलामा ब्याजदर वृद्धिले झनै सकस पार्ने पक्का भयो,’ उनले भने, ‘कोरोनाका कारण बिस्थापितको चरणमा पुगेका व्यवसायीलाई यो ब्याजदरले झनै बिस्थापित गर्ने त्रास बढायो।’ वित्तीय संस्थाले जानकारी नै नदिई ब्याजदर बढाएको पनि उनले बताए। ‘कम्तिमा ऋणिलाई त जानकारी हुनुपर्ने हो, तर वित्तीय संस्थाले ऋणिलाई पनि जानकारी नदिई आफुखुसी ब्याजदर बढाएका छन,’ उनले भने, ‘किस्ता तिर्न जाने बेलामा मात्र ब्याजदर बढेको थाहा हुने गरेको छ।’  

कोभिड महामारीमा परेको अवस्थामा अहिले वित्तीय संस्थाले बढाएको ब्याजदर थेग्न सक्ने अवस्था नभएको उनले बताए। ‘धेरै जना व्यवसायी बिस्थापितको अवस्थामा पुग्ने देखिएको छ। कोभिड अगाडि नै सुस्ताएको पर्यटन क्षेत्रलाई कोभिडले झनै थला पारेको थियो’ उनले भने,‘अब त झनै उठ्न सक्ने अवस्था छैन। पर्यटन क्षेत्र खुला भएपनि व्यवसायीले किस्ता तिर्न सक्दैनन, किनकी व्यवसायीले कमाउनै सकेका छैनन’  

यसअघि सरकारले कोभिडको मारका परेका व्यवसायीलाई पूर्नकर्जा दिँदा व्यवसायीले राहत महसुस गरेका थिए। तर, पुर्नकर्जाले निरन्तरता पनि नपाएको उनले बताए। ‘सामान्य कर्जामा त अहिले ब्याजदर थामिसक्नु भएन। किस्ता तिर्न सक्ने अवस्था छैन,’ अध्यक्ष सुवेदीले भने, ‘भईरहेको लगानी रोक्ने अवस्था आयो। पूर्वाधारमा लगानी गरेका व्यवसायी अन्तिम अवस्थामा पुग्दा सकसमा छन।’  

उनका अनुसार अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका व्यवसायीले कर्जा लिँदा ब्याजदर ९–१० प्रतिशत  थियो। तर, लगानी गरेको पूर्वाधार तयार हुने बेलामा कर्जाको ब्याजदर दोब्बर पारिएको छ। ‘पर्यटन क्षेत्र खुला भईरहेको अवस्थामा त किस्ता तिर्न सक्ने अवस्था छैन भने अब झनै सकस पर्ने देखिन्छ। लगानीलाई पनि अन्योलग्रस्त अवस्थामा पुगेको छ। व्यवसायको तयारी अवस्थामा रहेका लगानीकर्तालाई अन्योलग्रस्त तुल्याएको छ,’ उनले भने, ‘दोब्बर भएको ब्याजदर तिर्न सक्ने अवस्था छैन।’  

वित्तीय संस्थाको ब्याजदर बढेको नभई महंगीले पनि सकस पारेको उनले बताए। ‘हरेक कुरामा महंगी बढिरहेको छ। यही अवस्थामा ब्याजदरमा पनि दोब्बर पुगेको छ, थाम्न सक्ने अवस्था नै छैन,’ उनले भने। संघले विज्ञप्ती निकालेर कर्जाको ब्याजदर वृद्धिले व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था सिर्जना हुने जनाएको छ। ब्याजदर वृद्धि विरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने माग संघले गरेको छ।  

‘ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधारण नागरिक समेत महंगीको मारमा पिल्सिने अवस्था सिर्जना हुनेछ,’ संघको विज्ञप्तीमा भनिएको छ, ‘राहत खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात थप्ने काम भएको छ ब्याजदर वृद्धिले अर्थतन्त्रमा असन्तुलन पैदा गर्ने निश्चित निश्चित छ’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि ब्याजदर वृद्धिले पर्यटन क्षेत्रमा सकस थपिदिएको बताउँछन  बढेको ब्याजदर घटाउन दवाव दिनका लागि राष्ट्रबैंकसम्म पुग्ने तयारी रहेको उनले बताए। 

‘व्यवसायी यो बारेमा निकै नै गम्भिर बनेका छन हामीले बढेको ब्याजदर नियन्त्रणमा ध्यानाकर्षण गराउन राष्ट्रबैंकका गर्भनरलाई समेत भेट्ने तय भएको छ। पर्यटन क्षेत्र निकै नै गम्भिर अवस्थामा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘भूकम्पदेखि पर्यटनमा समस्या बढ्न थालेको हो एउटा समस्या समाधान नहुँदै अर्काे सकस थपिएको छ। कोभिडका बेला दुईवर्ष व्यवसाय बन्द भयो । अहिले व्यवसाय खुलेपनि कमाई छैन’  

अहिले ब्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको उनले बताए। ‘कर्जाको ब्याजदर करिब दोब्बर पुगिसकेको छ। यसले त गाह्रो पर्ने भयो। किस्ता तिर्न सक्ने अवस्था रहेन। व्यापार नै छैन। अप्ठेरा परेको बेलामा सरकारले साथ दिनुपर्छ,’उ नले भने, ‘नत्र व्यवसायी पलायन हुनेछन। पर्यटनमा ठुलो आकारको लगानी भएकोले सरकारले बेलैमा सोचेर सहयोग गर्नुपर्छ।’  

प्रकाशित: ६ आश्विन २०७९ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App