coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अत्यधिक बर्सातले कृषिबाली तहसनहस,किसानलाई बाढी पीडा

कैलारी गाउँपालिकाको बसौटी गाउँमा बाढीका कारण डुबानमा परेको किसानको धानबाली। तस्बिरः पुष्पराजरनागरिक

लगातारको बर्सातका कारण सुदूरपश्चिम प्रदेशमा किसान पीडामा रहेका छन्। उनीहरूले लगाएको बर्खेबाली तहसनहस भएको छ। बाढी तथा पहिरोले गर्दा सुदूरपश्चिम प्रदेशको कृषियोग्य भूमि बगाउनुका साथै बर्खेबालीमा क्षति पुगेको छ। जसले गर्दा किसान पीडामा परेका छन्।  

अत्यधिक बर्सातका कारण कैलाली, कञ्चनपुर, डडेल्धुरा तथा दार्चुलामा कृषियोग्य भूमि नासिनुका साथै कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। बाढी र पहिरोले धनजनको क्षति हुनुका साथै कृषिमा ठूलो क्षति पुगेको कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेयले बताए। उनले भने ‘सुदूरपश्चिमको अन्नभण्डार मानिने कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिनमा केही क्षति पुग्नुका साथै लगाइएका धानबाली समेत नष्ट भएको छ।’  

पानी खेप्न सक्ने धानबाली पनि अत्यधिक बर्सातले गर्दा समस्यामा परेको उनले बताए। ‘पानी खेप्न सक्ने बालीलाई पनि अत्यधिक पानी भएपछि समस्या हुन्छ,’ उनले भने– ‘अत्यधिक बर्सातले बाला डुब्नुका साथै खेतमा पानी जमिराखेमा धानका नल (डाँठ) कुहिएर धान ढल्नुका साथै बाला कुहिन जान्छ।’  

बर्सातले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा किसानले लगाएको धानबालीमा क्षति पुग्नुका साथै पानीले डुबान गरेको थियो। खेतमा अत्यधिक पानी जम्दा हिलो तथा लेदोका कारण धानका बालाहरूमा लागेकाले धान कुहिने सम्भावना बढी हुने गरेको उनले बताए। उनले भने ‘लेदोले धानका बाला कुहिने सम्भावना बढी हुन्छ। यही बेला एक पटक भए पनि हल्का बर्सात् भइदिए धानमा लागेको हिलो पखालिनुका साथै धान सप्रिन सक्छ तर बर्सात् नभएमा धानका बालामा लागेको हिलोले समस्या हुन्छ।’  

यस्तै धान खेती हुने अछामको कमलबजार नगरपालिकामा पहिरो जाँदा खेतीयोग्य जमिन बग्नुका साथै बर्खेबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालयले जनाएको छ। यस्तै मकैको राम्रो उत्पादन हुने अछामकै तुर्माखाँद गाउँपालिकामा पनि पहिरोले गर्दा खेतीयोग्य जमिन बगाएको छ। अत्यधिक बर्सातले धान, मकैका साथै भटमास उत्पादनमा समेत ह्रास आउन सक्ने कृषिविज्ञहरू बताउँछन्।  

‘पानी सहन नसक्ने बाली मध्येको भटमासलाई अत्यधिक बर्सातले नोक्सानी पुर्‍याएको छ,’ पाण्डेयले भने– ‘यो बर्सातले भटमास खेतीलाई समस्या हुन्छ।’ यस्तै पहाडी क्षेत्रमा राम्रो धान फल्ने क्षेत्र डडेल्धुराको जोगबुडामा पनि पहिरो जानुका साथै खेतीयोग्य जमिन रंगुन खोलाले कटान गरेको उनले बताए। ‘अत्यधिक बर्सातले रंगुन खोलामा आएको बाढीका कारण सिमलखेत बगाएको छ,’ उनले भने– ‘सिमलखेत डडेल्धुराको अधिक अन्न उत्पादन हुने क्षेत्र हो।’  

अत्यधिक बर्सातले बर्खेवालीसँगै माछापालन व्यवसायमा पनि ठूलो धक्का लागेको छ। कैलालीमा मात्रै भएको अधिक बर्सातले आएको बाढीले करिब १५ करोड बढीका माछा बगाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार तटीय क्षेत्रमा रहेका प्राकृतिक तथा कृतिम तालहरूमा पालिएका माछा बगेका छन्। ‘कैलालीमा मात्रै करिब २ सय हेक्टर भन्दा बढी क्षेत्रफलभित्रका तालमा पालिएका माछा बगेका छन्,’ उनले भने– ‘जसले गर्दा करिब १५ करोड बढीको क्षति पुगेको छ।’  

बर्सातले दुध उत्पादनमा पनि कमी हुन थालेको उनी बताउँछन्। ‘बर्सातले गर्दा घाँस र पराल पनि कुहिएपछि दुध उत्पादनमा समस्या हुने संकेत देखिएको छ,’ उनले भने– ‘जनावरलाई दिइने दाना तथा आहारा नष्ट भएका कारण दुध उत्पादनमासमेत कमी आउन थालिसकेको छ।’ पशु आहाराका लागि चाहिने घाँसपात तथा दाना पनि अत्यधिक बर्सातका कारण कुहिनुका साथै बगाएपछि कैलालीको भजनी, जोशीपुर, जानकी, कैलारी, घोडाघोडी, लम्कीचुहा लगायतका पशुपालक किसान मर्कामा परेको उनले बताए।  

बर्सातकै कारण सुदूरपश्चिम प्रदेशमा ४ हजार पाँच सय ४ घरमा क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार कैलालीमा ४ हजार ५० घर, कञ्चनपुरमा ४ सय २० घर र अछाममा ३४ घरमा आंशिक तथा पूर्ण क्षति पुगेको हो। यस्तै बर्सातका कारण सुदूरपश्चिम प्रदेशमा २५ जनाको मृत्यु, १ जना बेपत्ता र ११ जना घाइते भएका थिए। बाढीले कैलालीमा ३ जना र पहिरोका कारण अछाममा २२ जनाको मृत्यु भएको थियो भने अछामा १ जना बेपत्ता भएका थिए। 

प्रकाशित: ५ आश्विन २०७९ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App