८ वैशाख २०८१ शनिबार
अर्थ

व्याजदर बढाउने निर्णयप्रति उद्योगी आक्रोशित, उद्योग किनेर डिपोजिटमा १५ प्रतिशत व्याज दिन प्रस्ताव

व्याजदर बढाउने निर्णयबारे पत्रकार सम्मेलन गरी आक्रोश व्यक्त गर्दै मोरङका उद्योगी व्यवसायी। तस्बिरः चुमन बस्नेतरनागरिक

व्याजदर नबढाउने भद्र सहमति तोड्दै बैंकहरूले आफूखुसी व्याजदर तोक्ने निर्णयप्रति पूर्वका उद्योगी व्यवसायीले आक्रोश पोखेका छन्। बैंकहरूले मनोमानी गरेर व्याजदर बढाउने निर्णय गर्दा नियामक निकाय नेपाल राष्ट्रबैंकले सहमति जनाएको र सरकारले पनि व्याजदर नियन्त्रणमा चासो नदेखाएको भन्दै पूर्वका उद्योगी व्यवसायीले आक्रोश व्यक्त गरेका हुन्।  

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले जथाभावि ज्याजदर बढाउँदा नेपाली उद्योगहरू धरासायी भई बन्द हुने बताए। उद्योगीहरूले केहि बैंकले निक्षेपको व्याजदर नै १५ प्रतिशत भन्दा बढी पुर्‍याइसकेको अवस्थामा ऋणको व्याजदर अब, १८ प्रतिशत भन्दा बढी हुने भएकाले उद्योगधन्दा सञ्चालन गरिराख्न नसक्ने अवस्था आएको स्पष्ट पारे। भारतको तुलनामा नेपालको औद्योगिक कर्जाको व्याजदर दोब्बर रहेका कारण नेपालबाट हुँदै आएको निर्यात ठप्प हुने उनिहरूको भनाई छ।  

मोरङ व्यापारसंघका अध्यक्ष नविन रिजालले कोभिडबाट भर्खरै तंग्रने तर्खर गरिरहेको नेपाली उद्योग व्यवसाय बैंकको चर्को व्याजका कारण उठ्नै नसक्ने गरी थलापर्ने अवस्था आएको बताए। रिजालले भने‘अब, बैंकको व्याजदर १८ प्रतिशत भन्दा माथि पुग्ने र भारतका प्रतिश्पर्धी उद्योगहरूले ८ प्रतिशतमै औद्योगिक कर्जा पाउने भएकाले नेपाली उत्पादनको निर्यात ठप्प हुने निश्चित छ।’ रिजालले बैंकको चर्को व्याजका कारण स्वदेशमै उत्पादन खपत हुने उद्योगहरूका उत्पादनको मूल्य आकाशिने र भारतबाट चोरी निकासी भई यस्ता बस्तु सस्तो मूल्यमा नेपाल भित्रने दाबी गरे। जसका कारण नेपाली उत्पादनको प्रतिश्पर्धी क्षमता कमजोर भई आन्तरिक बजारबाट पनि नेपाली उत्पादन विस्थापित हुनो उनको भनाई छ। रिजालले भने‘निर्यात त गर्न सक्दैनौं नै देश भित्रसमेत हाम्रा उत्पादनहरू बिस्थापित हुन्छन्। ’  

रिजालले चर्को व्याज तिरेर नेपाली उद्योग सञ्चालन गर्न नसकिने भएकाले बरु बैंक र सरकारले नै आफूहरूको उद्योग किनिदिन प्रस्ताव गरेका छन्। उनले भने,‘ उद्योगहरूलाई चर्को व्याजदरको भार वोकाएर समाप्त पार्नु भन्दा बरु सरकार र बैंकहरूले नै उद्योग किनेर हामीलाई डिपोजिटमा १५ प्रतिशत व्याज दिए हुन्छ ’ रिजालले सरकारको नीति बसी बसी खानु भन्ने भएकाले आफूहरू पनि बसी बसी खान तयार रहेको बताए।  

‘डिपोजिटमा १५ प्रतिशत व्याज दिन स्वीकृति दिनु भनेको सरकारले बसीबसी खानु भनेकाले हामी पनि बसीबसी खान चाहन्छौं’ उनले भने, ‘बैंकहरू र सरकार मिलेर हाम्रो उद्योग किनिदिउन्। ’ रिजालले तत्काललाई उद्योगी व्यवसायीलाई भार परेको देखिए पनि दीर्घकालमा चर्को व्याजदरको मार उपभोक्तले नै बेहोर्नु पर्ने स्पष्ट पारे। चर्को व्याजदरका अलावा त्रुटीगत करका नीतिहरूका कारण स्वदेशी उत्पादनको मूल्य बढी रहेको र सीमापारी भारतीय सहरहरूमा नेपाली उपभोक्ताको चाप परिरहेको रिजालले बताए। उनले नेपाली बस्तुको मूल्य बढ्दा भारतीइ सीमावर्ती शहरमा नेपाली उपभोक्ताको चाप बढेको र चारी निकासीभई ठूलो मात्रामा पैठारी हुन थालेकाले नेपाली उद्योग व्यवसाय थप प्रताडित भएको बताए।  

राष्ट्रबैंकले बैंकहरूलाई मात्रै पोस्ने नीति लिइरहेको उद्योगीहरूको आरोप छ। मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुण्दडाले बैंकहरूले साउनमा मात्रै ९ खर्ब नाफा गरेको समाचार आइरहेको यता उद्योग व्यवसाय र उपभोक्ताको अवस्था भने नाजुग भइरहेको बताए। बजारमा उपभोक्ता मूल्य थेगिनसक्नु गरी बढेको उपभोक्ताको खरिद गर्ने  क्षमतामा ह्रास आएको उनले बताए।

बैंकहरूले व्याजदर बढाउन प्रतिश्पर्धा गरे उद्योग व्यवसाय डुब्ने र नेपालका बैंक पनि बाँकी नरहने उनले चेतावनी दिए।  उनले भने‘एउटा बैंकले १५.३ प्रतिशत व्याजमा निक्षेप लिने निर्णय गरिसकेको र अन्य बैंकहरूपनि निक्षेपको व्याजदर बढाउन प्रतिश्पर्धा गरिरहेकाले चर्को व्याजका कारण उद्योग त डुब्छन् नै बैंक पनि बाँकी रहनेछैनन्।’ उनले उद्योग डुब्नु भन्दा पहिले नै राज्यले किनिदिए आफूहरू आराम गरेर बस्न तायार रहेको स्पष्ट पारे।  

उनले भने, ‘राज्यले उद्योग किनिदेओस्।  हामी आराम गर्छाैं। ’ मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीले बैंकहरूले एक्लै नाफा कमाउने सोच नराखे हुने स्पष्ट पारे। ‘बैंकले एक्लै नाफा कमाउने सोच त्यागे हुन्छ’ उनले भने, ‘उद्योग व्यवसाय नरहे बैंक पनि रहँदैन। उद्योगीहरूले सरकारले बैंकहरूलाई मनोमानी गर्न दिन नहुने बताए। उनीहरूले संस्थागत निक्षेपको व्याजदर ७ प्रतिशतमा झारे समग्र व्याजदर नै घट्ने बताए। मोरङ व्यपार संघमा आबद्ध उद्योगीहरूले  संस्थागत निक्षेपको व्याजदर घटाउन र उद्योगी व्यवसायीलाई सस्तोमा कर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०७९ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App