coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजनः सोधपुछ मात्र भयो, बुकिङ आएन

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुइवर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्। कोरोना संक्रमण केही घट्नासाथ पर्यटन क्षेत्रमा थोरै चहलपहल बढ्ने र संक्रमण बढ्नासाथ पर्यटन क्षेत्र पुनः सुस्ताउने गर्दैगर्दा यो अवधि बित्यो। कोरोनापछिका अधिकांश सिजन खुल्ने र सुस्ताउनेमा सिमित बने।

यतिबेला पर्यटन क्षेत्रमा फेरि सिजन सुरु भएको छ। यो बेला कोरोना संक्रमण केही कम भएको छ। संक्रमणको त्रास घटेपछि हिडडुलमा सहजता पनि थपिएको छ। पर्यटकीय गतिविधिमा हुने गरेको आउजाउमा पछिल्लो समय केही सहजता थपिँदै गएपनि पर्यटन व्यवसायीले तेश्रो मुलुकका पर्यटकको आगमनको संकेत भने अझै सोचेअनुरुप पाएका छैनन। यो सिजनमा तेश्रो मुलुकका विदेशी पाहुना आउने प्रतिक्षामा रहेका व्यवसायी फेरि पनि आन्तरिक पाहुनामै निर्भर रहनुपर्ने संकेत देखेका छन्।

सिमित होटलले अग्रिम बुकिङ राम्रो भएको बताइरहँदा ठुला होटलले भने तेश्रो मुलुकका विदेशीको अग्रिम बुकिङ सोचेजस्तो अब्बल हुन नसकेको बताउँछन्। पर्यटन व्यवसायी भन्छन्, ‘कोरोना संक्रमण कमजोर हुँदै गर्दा यो पटकको सिजनका लागि ‘ग्रिन सिग्नल’ देखिएको भएपनि सोचे अनुरुप हुन सकेन। हामीले सिजनबाट ठुलै प्रगतिको अपेक्षा गरेका थियौ। तर, सोचेजस्तो हुने देखिएको छै।’

व्यवसायीका अनुसार सेप्टेम्बरदेखि पर्यटनको मुख्य सिजन सुरु हुन्छ। अझ सेप्टेम्बर मध्यदेखि त झनै पर्यटनको मुख्य सिजन सुरु हुने व्यवसायीले बताउँदै आएका छन्। यो सिजन मार्चसम्म चल्छ। बीचमा डिसेम्बरमा सिजन केही कमजोर हुने भएपनि कोरोना अघिको समयमा पर्यटन क्षेत्रमा मार्चसम्मै पाहुना पर्याप्त हुने गरेका थिए। तर, अहिले भने मुख्य सिजनले पनि सोचेजस्तो पाहुनाको आकार नभेट्ने संकेत व्यवसायीले देखिसकेका छन्। उत्साहजनक सिजनको पर्खाइमा रहेका व्यवसायी विदेशीपाहुनाको चहलपहल नदेख्दा दोधारमा छन्।  

पोखरा ग्राण्डका मार्केटिङ म्यानेजर कमल शेरचन भन्छन्, ‘यो सिजनप्रति पर्यटन क्षेत्रको ठुलो अपेक्षा थियो, तर, त्यो अनुसार संकेत मिलेको छैन। जुनरुपमा अग्रिम बुकिङको आउनेमा हामी आशावादी थियौ, त्यो हुन सकेन।’ अहिले आन्तरिक र भारतीय पाहुनासहित गोष्ठि, सेमिनारका कारण ठुला होटलको अकुपेन्सी दर केही बढि देखिएपनि तेश्रो मुलुकका विदेशी पाहुनाको आगमन भने निकै नै कम रहेको उनले बताए।

‘अहिले पनि पहिलेजस्तो सेतो अनुहार आउने संकेत देखिएको छैन,’ पाँचतारे होटल, पोखरा ग्राण्डका म्यानेजर शेरचनले भने, ‘अहिले आन्तरिक र भारतीय पाहुनाको भरमा होटल चलायमान त भएको छ। तर, तेश्रो मुलुकका विदेशीको आगमन भने छैन। पाहुनाको सोधपुछ राम्रो हुँदा हामी आशावादी थियौ, तर, हुन सकेन।’

पोखराका ठुला होटलले चिनियाँ पाहुनाबाट ठुलो राहत खेप्दै आएका थिए। तर, पछिल्लो समय चिनियाँको आगमन छैन। अरु मुलुकका विदेशी पाहुना पनि सोचेअनुरुप नआउँदा पर्यटन क्षेत्रले सिजनबाट उत्साहि हुन नसकेको उनले बताए। ‘एडभान्स बुकिङ छैन। ट्राभल एजेन्सीबाट बुकिङ नै आए। आन्तरिक र भारतउी पाहुनाको भरमा अहिले ५० प्रतिशत अकुपेन्सी भएपनि यो नै पर्याप्त होईन,’ शेरचनले भने, ‘यो सिजनका लागि पाहुनाको सोधपुछ निकै नै राम्रो थियो। तर, पाहुना सोधपुछमा मात्र सिमित रहे।’

अझ चिनियाँ पाहुना नआएपछि त होटललाई सहज हुनै नसक्ने उनले बताए। ‘आन्तरिकको भरमा चलेका छौ। अबका केही महिना चाँडबाँडका कारण आन्तरिक पाहुना आउनेछन। आन्तरिकको त्यही आगमनमा भारतीय पाहुना पनि थपिँदा व्यवसाय चलायमान हुन्छन्, तर, सोचेजस्तो व्यवसाय हुन सक्दैन,’ उनले भने, ‘अबको केही समय पनि आन्तरिकको भरमा मात्र टिक्नुपर्नेछ। तेश्रो मुलुकका विदेशी अपेक्षाकृत आउने संकेत छैन।’ कोरोना संक्रमण अघिको अभ्यासमा अक्टोबरका लागि सेप्टेम्बरसम्मै फुल बुकिङ आउनेपर्नेमा यो पटक त्यो हुन नसकेको उनले बताए।  

रुपाकोट रिसोर्टका म्यानेजर गुप्त गिरी पनि सिजनले उत्साही बनाउन नसकेको बताउँछन्। समयको हिसाबले पर्यटकीय सिजन लागेपनि त्यो अनुरुप पाहुनाको आगमन र चाँसो नदेखिएको उनले बताए। ‘सिजन लागेको हो, तर, खासै चहलपहल छैन। यूरोपियन इकोनोमीले गर्दा असर पारेको हुन सक्छ। सोचे अनुसार पाहुनाको आगमन छैन,’ उनले भने,‘बरु कोभिडको डरका बीच पनि मान्छे हुत्तिएर आएका थिए। अहिले छेकबार त छैन, तर, आर्थिक रुपमा पाहुना नै कमजोर बने । जसले पाहुनालाई घुमघामबाट रोकेको छ।’

विश्वव्यापी रुपमा महंगी बढ्नु, आर्थिक गतिविधि चलायमान नहुनु, विभिन्न मुलुकबीच द्वन्द्व हुनुले पर्यटनमा असर पारेको उनको अनुमान छ। ‘अन्तर्राष्ट्रिय बजारमै महंगी बढेको छ। कोरोनाले थलिएको अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन। त्यसको प्रभाव पर्यटनमा पनि पर्ने नै भयो,’ उनले भने। उनका अनुसार अहिले पनि सिजन अनुसारको अकुपेन्सी हुन सकेको छैन। अग्रिम बुकिङ नै निकै कमजोर रहेको उनले सुनाए। ‘सोधपुछ निकै नै राम्रो थियो। तर पाहुना आउने संकेत छैन। किनकी अहिलेसम्म बुकिङले उत्साही बनाउन सकेको छैन,’ गिरीले भने, ‘ट्राभल एजेन्सीको बुकिङ पनि उत्ति आशावादी देखाएन। बजार अझै आशावादी देखिन सकेको छैन।’

ल्याण्डमार्क होटलका मार्केटिङ म्यानेजर पुष्पराज चालिसेले पनि सोचेजस्तो सिजन नदेखिएको बताउँछन्। ‘सेतो छाला आगमन छ। तर, आक्कल झुक्कल मात्र छ, पर्याप्त हुन सकेन,’ चालिसेले भने, ‘अहिले भारतीय र आन्तरिकको भरमा पर्यटन क्षेत्र थेगिएको छ। भारतीय पाहुना समुहमा आउँदा व्यवसायमा राहत मिलेको भएपनि तेश्रो मुलुकका पाहुनाको आगमन भने उत्तिसारो हुन सकेन।’ उनका अनुसार जापानी, कोरियन लगायतका मुलुकका पाहुना त आउनै छाडेका छन्। चिनियाँ पाहुना झनै निस्केका छैनन्। ‘तेश्रो मुलुकका विदेशीको आगमन अझै पनि सोचे अनुरुप हुन सकेको छैन,’ उनले भने, ‘अर्काे महिनासम्म केही बढ्नेमा आशावादी छौ।’  

व्यवसायीका अनुसार आगामि महिनाका लागि तेश्रो मुलुकका पाहुनाको अग्रिम बुकिङ अनुपात अझै कमजोर छ। त्यो बुकिङले केही आकार बढाउनेमा व्यवसायी आशावादी भएपनि पर्याप्त पाहुना आउनेमा भने उनीहरुको आशंका छ। अहिलेसम्मको अवस्थामा आगामि महिनाको अग्रिम बुकिङले व्यवसायीलाई उत्साही नबनाउने उनीहरु बताउँछन।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘सिजनको बुकिङ र पाहुनाको चहलपहल हेर्दा  राम्रो संकेत छैन। यूरोपियन पाहुना आर्थिक मन्दि, द्वन्द्व, उर्जा संकटका कारण प्रभावित भएका छन। ती मुलुकका पर्यटक आउने अवस्था छैन । उनले सेप्टेम्बर मध्यको बुकिङ कमजोर रहेको बताए।

‘अक्टोवर नोभेम्बरमा पनि हामीले आशा गरे अनुसार पाहुना आउने अवस्था देखिन्न। किनकी अहिलेसम्मको बुकिङले आकार कमजोर छ,’ पराजुलीले भने, ‘भारतीय र आन्तरिक पाहुनाको भरमा आगामि केही दिन चहलपहल बढेपनि व्यवसायीले कमाउने तेश्रो मुलुकका पाहुनाबाट हो। अहिले तेश्रो मुलुकका पाहुना आउने देखिएन।’  

यूरोपियन मुलुकका पर्यटकको नेपालको सिजन यहीबेला भएपनि उनीहरुको आगमन निकै नै कम रहेको उनले बताए। ‘साच्चै ती मुलुकका पर्यटकको आगमन हुने हो भने यतिबेला पोखराका ठुला होटलको आगामि महिनाको अकुपेन्सी ६०/७० प्रतिशत हुनुपर्ने हो, तर, २०–२५ प्रतिशतमा सिमित छ,’ उनले भने, ‘त्यो आकार नबढेसम्म पर्यटनले लाभ लिन सक्दैन।’  

प्रकाशित: ३० भाद्र २०७९ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App