८ वैशाख २०८१ शनिबार
अर्थ

धनगढीमा थाले डा. केसीले सत्याग्रह

स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनको मुद्दा लिएर डा. गोविन्द केसीले धनगढीमा पुनः सत्याग्रह सुरु गरेका छन्। सोमबार काठमाडौंबाट जहाज चढेर धनगढी ओर्लेका डा. केसीले बेलुकी ५ बजेदेखि कृष्ण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका हुन्।  

सरकार आफैंले पटक पटक गरेका सम्झौता कार्यान्वयन नगरेको र स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका सुधारका मागमा बेवास्था गरेको भन्दै २०औं सत्याग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश धनगढी आइपुगेको उनले बताए। तीन साताको समयसीमा दिएर भदौ १२ गते अनशन बस्ने भनेकामा सरकारी पक्षले केही समय पर्खन भनेपछि थप दुई हप्ता समय दिएको बताएका उनले भने, ‘हिजो बेलुकीसम्म म सरकारको जवाफको प्रतीक्षामा कुरेर बसेको थिएँ, सरकारी तवरबाट कुनै ‘रेस्पोन्स’ नै नआएपछि आजै बिहान सत्याग्रहका लागि धनगढी हिँडेको हुँ।’

शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्ने संविधानमै उल्लेख भए पनि माफियासँग सबै दलका नेताहरू मिलेका कारण गरिब जनताले शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु परेको उनको भनाइ थियो। गरिबले तिरेको करबाट नेताहरूले विदेशमा गई महँगो अस्पतालमा उपचार गर्ने, तर तिनै नेतालाई भोट दिने र कर तिरेर उनीहरू उपचार नपाएर मर्नुपर्ने यो अवस्थाको अन्त्य होस् भन्ने आफ्नो माग रहेको उनले बताए। ‘शिक्षा र स्वास्थ्यमा नेता तथा उनकै कार्यकर्ताको लगानी भएका कारण माफियागिरी चलिरहेको छ,’ उनले भने, ‘त्यही माफियाकरणविरुद्ध आफूले आवाज उठाउँदा उल्टै केही नेताहरूले मलाई नै दोष लगाउने दुष्प्रयास गर्ने गरेका छन्।’

माफियाहरूसँग मिलेर निजी अस्पतालमा नेताहरूले नै लगानी गरेका कारण अहिलेसम्म सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरू सञ्चालन हुन नसकिरहेको उनले बताए। स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि पटक पटक सम्झौता गरेर पनि कार्यान्वयन नगर्नुको कारण पनि नेताहरू माफियाहरूको चंगुलमा परेको प्रष्ट देखिएको उनले बताए। धनगढीमा सत्याग्रह बस्नुको मुख्य कारण देउवा सरकारमै रहेको र उनको गृह प्रदेश पनि भएकाले आफू यही आएको उनले जानकारी दिए। यस पटकको सत्याग्रहमा सरकारसँग ७ बुँदे माग रहेको बताउँदै उनले भने, ‘आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्।’

विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरिनुपर्ने उनले बताए। उनले भने, ‘चिकित्सा शिक्षा ऐन अनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आऊन् र यसअघि हामीसँग सम्झौता भएबमोजिम डडेल्धुरा, इलाम र उदयपुरमा पनि सरकारी मेडिकल कलेजको काम अगाडि बढाइयोस्।’ स्वास्थ्य सेवा सुधारका लागि तोकिएको दरवन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइनुपर्ने उनी बताउँछन्।

जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण स्तरोन्नति तथा गुणस्तरवृद्धि सुनिश्चित गर्नुपर्ने उनको माग रहेको छ। ‘सरकारी अस्पतालमा टिकट, ल्याव, परीक्षण र एक्स–रेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्छ,’ उनले भने, ‘सरकारले तोकेका सूचीअनुसार सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नुपर्छ।’  

स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिनुपर्ने माग आफ्नो रहेको उनले पत्रकारसामु बताए। ‘सरकारी स्वास्थ्य संस्थाका वरिपरि च्याउँझैं खुलेका, तर मापदण्ड नपुर्‍याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरू बन्द गरेर दोषीहरूलाई दण्डित गरियोस्,’ उनले भने, ‘सार्वजनिक पदमा बसेकाहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।’

प्रतिष्ठान र विश्व विद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने उनको अर्को माग गरेको छ। सत्याग्रह बस्नु अघि धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै डा. केसीले भने, ‘भागबन्डाका आधारमा अनियमिततापूर्वक हालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्ति तत्काल सच्चाइनुपर्ने, प्रतिष्ठानका उपकुलपतिलगायत भ्रष्ट पदाधिकारीलाई बर्खास्त गरी कारबाही गरिनुपर्छ।’ 

चिकित्सा शिक्षा ऐनबमोजिम २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गरिनुपर्ने, मापदण्ड नपुगेका नर्सिङ कलेमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्रिपरिषद्बाट पारित गरिनुपर्ने, निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत् सम्बन्धित विश्व विद्यालय वा प्रष्ठिानमा पठाउने व्यवस्था गरिनुपर्ने र जलवायु परिवर्तनको मार र खनिज, ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरिनुपर्ने आफ्ना माग रहेको उनले बताए।

बोल्दा बोल्दै भक्कानिए डा. केसी

धनगढीको कृष्ण मन्दिरमा रहेको धर्मशालामा सत्याग्रह बस्नुपूर्व पत्रकारसँगको कुराकानीमा डा. केसी भावुक बन्दै एक पटक भक्कानिए। नेताहरू गरिब जनताले तिरेको करबाट विदेशको महँगो अस्पतालमा उपचार गर्न जाने गरे पनि गरिब जनताले उपचार नपाएर मर्नुपरेको प्रसंग जोड्दै गर्दा उनी भक्कानिएका थिए। उनी भक्कानिएर बोल्न नसकेपछि एकाएक माहोल सुनसान बनेको थिए।

प्रकाशित: २८ भाद्र २०७९ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App