coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडक स्तरोन्नतिका लागि रकम अभाव

भदौ ४ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगन्जको जमुनाहदेखि राँझासम्म अस्फाल्ट सडक ओभर लेको शिलान्यास गरे।सडक मर्मत कार्यको रूपमा लिइने ओभर लेको पनि शिलान्यास गरिएको भन्दै मन्त्री राईको चर्काे आलोचना भयो।

उनका आलोचकले उक्त कार्यलाई चुनावी फण्डाका रूपमा अहिले पनि अथ्र्याइरहेका छन् भने, कतिपयले मन्त्री राईमा शिलान्यास र शिलापत्र मोह हाबी रहेको टिप्पणी गरिरहेका छन्। तर, त्यसभन्दा गम्भीर कुरो उक्त ओभर ले योजनाका लागि हालसम्म बजेट सुनिश्चित हुन नसकेको पाइएको छ।

सार्वजनिक खरिद नियमावलीको नियम ६, उपनियम १ मा भनिएको छ, ‘सार्वजनिक निकायले खरिदका लागि आवश्यक बजेट व्यवस्था नभइ खरिद कारबाही सुरु गर्नुहुँदैन।’ नियमावलीको उक्त नियमको पालना नै नगरी अस्फाल्ट ओभर लेको लागि सडक डिभिजन नेपालगन्जले टेण्डर आह्वान पनि गरिसकेको छ।

अब टेण्डरको म्याद केही दिन मात्रै बाँकी छ। तर, उक्त सडकको अझै स्रोतको सुनिश्चित हुन सकेको छैन। बजेट सुनिश्चित नहुँदै मन्त्री राईले शिलान्यास गरेर नियमावलीको मजाक उडाएको नेपालगन्ज १२ का एक व्यक्तिले बताए। जमुनाहदेखि राँझासम्म अस्फाल्ट ओभर लेका लागि करिब २७ करोड लागत लाग्ने अनुमान गरिएको छ।

उक्त रकम सडक बोर्डको सडक मर्मतअन्तर्गतको बजेटबाट व्यवस्था गरिने सडक डिभिजन नेपालगन्जका इञ्जिनियरहरु बताउँछन्। इञ्जिनियर टोपेन्द्र खड्काका अनुसार सडक बोर्डसँग बजेटका लागि माग गरिएको छ।

सडक डिभिजन कार्यालयमा केही दिनअघि सरुवा भएर आएका डिभिजन प्रमुख निरज शाक्य अहिले काठमाडौँमा स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढाउन प्रयास गरिरहेका छन्। इञ्जिनियर खड्काले सडक मर्मतका लागि आउने बजेट सडक बोर्डअन्तर्गत नै आउने गरेको र नेपालगन्जको सडक ओभर लेका लागि पनि बोर्डबाट बजेट आउने निश्चित भए पनि औपचारिक प्रक्रिया मात्रै पूरा नभएको बताए।

सडक बोर्डले नेपालगन्जको सडक ओभर लेका लागि आफ्नो योजनमा बजेट समावेश गरेमा स्रोत सुनिश्चित हुने उनले बताए। टेण्डर आह्वानको म्याद सकिसकेपछि करिब २५ दिनभित्रमा ठेक्का जिम्मा लगाइने इञ्जिनियर खड्काले बताए।

स्रोत सुनिश्चित नभएमा ठेक्का प्रक्रिया नै पूरा हुन नसक्ने उनको भनाइ छ। सडक डिभिजन प्रमुख निरज शाक्यले भने बजेटका लागि सडक बोर्डको पत्र प्राप्त भइसकेको बताए। कुन मितिमा पत्र प्राप्त भयो? भन्ने प्रश्नमा उनले भने, ‘अहिले म काठमाडौँ छुँ। त्यहाँ आएपछि भन्छुँ।’

प्रकाशित: २७ भाद्र २०७९ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App