coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द हुनुपर्छ: बालेन

काठमाडौं महानगरपालिका र उससँग भगिनी सम्बन्ध भएका विभिन्न महानगरपालिका र नगरपालिकाका प्रमुखहरू भक्तपुर आएका छन्। महानगरसँग भगिनी सम्बन्ध भएका विराटनगर महानगर, जुम्लाको चन्दननाथ नपा, नवलपरासीको रामग्राम नपा, सिन्धुपाल्चोकको मेलम्ची नपा, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरू नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्षद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नपाका प्रमुख प्रशासकीय अधिकृतलगायत ७५ जनाको समूह शनिबार भक्तपुर पुगेको हो। टोलीले दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गरेको छ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएको उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उनीहरूको स्वागतमा एक कार्यक्रम आयोजना गर्‍यो। उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगोअंकित परम्परागत खादा र महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरे।

कार्यक्रममा प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान् जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताए। उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले देखेको सय वर्षपछिको भक्तपुरको आधार निर्माण गरिरहेको पनि सो अवसरमा बताए।

जनप्रतिनिधिबीचको अनुभव आदानप्रदानले एकअर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउँदै उनले जनतासँग नजिक बसेर काम गर्ने स्थानीय सरकारहरूले निर्वाचनका समयमा दिएको वचनअनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए।  

‘आत्मनिर्भरतालाई जोड दिएर विदेशी सहयोग अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार भइरहेका छन्’, उनले भने। उनले जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउँदै निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु विडम्बनाको विषय भएको बताए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको संक्षिप्त प्रस्तुतीकरण देखाउँदै कला र संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्नलायक सहरका रूपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताइन्।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने धारणा राखे। विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनमा अझ सुमधुर रहने विश्वास व्यक्त गरे। मूर्त र अमूर्त सम्पदाहरू काठमाडौं उपत्यकाको विशेषता नै रहेको बताउँदै उनले भक्तपुर र विराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताए। कार्यक्रममा उपप्रमुखका तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि आआफ्नो धारणा राखेका थिए।

भ्रमणमा काठमाडौं महानपाका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नपाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नपाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्षद सदस्य मोहम्मद हुसेन सरिफलगायतको उपस्थिति थियो।

भ्रमण टोलीको स्वागत कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र कर्मचारीहरूको उपस्थिति थियो। भ्रमण टोलीका सदस्यहरूलाई नगर प्रमुख प्रजापतिले प्रसिद्ध मयुर झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७९ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App