रात्रीकालिन बजारको अवधारणा अनुसार धरानमा बिशेष प्रकृतिका होटल (लाउञ्ज एण्ड बार)हरुलाई तोकिएको सर्त पुरा गरेमा राति २ बजेसम्म खोल्न दिने प्रस्ताव गरिएको छ।
धरानको बिहीबार सम्पन्न कार्यपालिका बैठकमा यो प्रस्ताव पेश भएपनि पारित भने भएको छैन। बैठकले मापदण्डमा छुटेका कुरालाई थप गर्ने र सरोकारवाला पक्षसँग समन्वय गरि एक साताभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए। उनका अनुसार मापदण्डसहित प्रस्तुत भएको प्रस्तावमा छलफल पश्चात थप सल्लाह सुझाव लिने र सरोकारवाला पक्षसँग समन्वय गरेर प्रतिवेदन बुझाउन वडा अध्यक्ष रमेश राईको संयोजकत्वमा एक अनुगमन समिति गठन गरिएको छ।
उपमहानगरले विगतमा खगेन्द्र खतिवडाको संयोजकत्वमा बनेको समितिले पेश गरेको प्रतिवनेदको आधारमा मापदण्ड बनाएर यस्तो प्रस्ताव गरेको पनि उपमेयर बेघाले बताए।‘कार्यपालिकाले गठन गरेको समितिले प्रशासनिक र व्यवसायीसँग समन्वय गरेर एक साताभित्र प्रतिवेदन दिनेछ। मापदण्डमा थप गर्नुपर्ने बिषय छन् भने त्यसलाई पनि समेट्नेछ, र त्यसको आधारमा अर्को बैठकबाट परिपक्क बनाएर पारित हुन्छ,’ बेघाले भने।
कार्यपालिका बैठकमा पेश भएको प्रस्तावमा बिशेष प्रकृतिका होटल रेष्टुरेष्ट (लाउञ्ज एण्ड बार) र सामान्य प्रकृतिका होटल तथा रेष्टुरेष्टहरुको लागि पालना गर्नुपर्ने अलग अलग मापदण्ड छन्। लाउञ्ज एण्ड बार बढीमा राती २ बजेसम्म खोल्न पाउने उल्लेख छ। त्यस्ता होटलहरुले ग्राहकको सुरक्षाको लागि सिसिक्यामेरा जडान गर्नुपर्ने, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने, साउण्ड प्रुफ हुनुपर्ने, परिचयपत्रसहित कर्मचारीलाई पहिचान खुल्ने पोशाक र बाउन्सरको व्यवस्था गर्नुपर्ने, ग्राहकलाई मदिरा खुवाउदा होस हवास हराउने गरि वा नियन्त्रण बाहिर हुने नगरि सेवन गराउन नपाउने लगायत मापदण्डहरु उल्लेख छ।
कार्यपालिकामा यो प्रस्ताव पेश भएपछि रात्रीकालिन बजारको माग गर्दै आइरहेको होटल व्यवसायीहरु भने खुशी छन्। बिशेष गरि धरानको वडा नं १५ स्थित बगरकोटका व्यवसायीहरुले यस्तो माग गर्दै आएका थिए। धरानको पर्यटकीय गन्तव्य बन्दै गएको बगरकोटमा करोडौं लगानीमा लाउञ्ज एण्ड बारहरु खुलेका छन्। तर, सुरक्षाको कारण देखाउदै प्रहरीले १० बजेतिर नै बन्द गराउने गरेका छन्। व्यवसायीहरुले लगानी डुब्न लागेको भन्दैसुरक्षाको प्रबन्ध मिलाएर रात्री अबेरसम्म खोल्न छुट दिनुपर्ने माग गर्दै आएका थिए। यस्तै, धरान १० पुतलीलाइनका व्यवसायीहरुले पनि रात्रीकालिन बजारको माग गर्दे आएका छन्। यहाँका निवार्चित वडा अध्यक्ष विवेक राईले आफ्नो चुनावी एजेण्डामा रात्रीकालिन बजार सञ्चालन गर्ने एजेण्डा पनि राखेका थिए।
प्रहरी भन्छ, राति २ बजेसम्म खोल्न सम्भव छैन
कार्यपालिका बैठकमा लाउञ्ज एण्ड बारहरु राती २ बजेसम्म खोल्न दिने प्रस्ताव गएपनि प्रहरीले भने अहिले कार्यान्वयन गर्न सम्भव नभएको प्रतिक्रिया दिएको छ। प्रहरी जनशक्तिको अभाव र पछिल्लो समय अपराधिक घटनाहरुले सुरक्षा चुनौती बढाइरहेको कारण रातभर होटल खोल्न छुट दिन सम्भव नभएको डिएसपी बुद्ध श्रेष्ठले बताए। उनले भने,‘अहिले विभिन्न घटनाहरुले, लागुऔषध कारोबारीले सुरक्षा चुनौती बढेको छ। त्यसैले बिहान २ बजेसम्म होटल खोल्नु सुरक्षाको हिसाबले सम्भव छैन।’
नेपालमा एक प्रहरीले ४१६ जना नागरिकको सुरक्षाको जिम्मेवारीमा पर्छ। धरानमा आवश्यक जनशक्तिभन्दा थोरै संख्यामा मात्र प्रहरी जनशक्ति छन्। डिएसपी श्रेष्ठका अनुसार १६२ जना प्रहरीमध्ये फिल्डमा खटिने प्रहरीको संख्या ६० जना मात्र छन्। अरु प्रहरी भान्से, गार्ड, मुद्दा फाँट, उजुरी, सञ्चारलगायतमा हुन्छन् भने केही प्रहरी दैनिकरुपमा अदालतमा जानुपर्ने, भिआइपी सेक्युरिटीमा खटिनुपर्ने, गस्तीमा खटिनुपर्ने हुन्छन्। ‘जनशक्ति थपियो भने र हाम्रो माथिल्लो निकायबाट आदेश आयो भने मात्र हुनसक्छ। नत्र सिमित स्रोत साधनबाट बिहान २ बजेसम्म खटिएर बिहान ५ बजे उठ्ने गरि प्रहरीबाट सम्भव छैन,’डिएसपी श्रेष्ठले भने।
प्रकाशित: २४ भाद्र २०७९ १२:३२ शुक्रबार