७ वैशाख २०८१ शुक्रबार
अर्थ

केरा आयात नरोकिए आन्दोलनको चेतावनी

चितवनका किसानले उत्पादन गरेका केरा बजारमा लैजाने तयारी गरिँदै । तस्बिर : वसन्त/नागरिक

चितवनको खैरहनी नगरपालिका–३ का इन्द्र सुवेदीले दसैंमा उत्पादन गर्ने लक्ष्यका साथ १८ बिघामा केरा खेती गरेका थिए। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका सुवेदी यतिखेर केरा नबिकेर चिन्तित छन्।

‘दसैंतिहारलाई लक्षित गरेर केरा खेती गरियो। अहिले १५० वटा कोसा भएको घरी सय रूपैयाँमा पनि बिक्दैन,’ उनले भने, ‘अहिले केरा बिक्री नभएर बारीमै पाकेका छन्।’ सात वर्षदेखि केरा खेती गर्दै आएका सुवेदी पहिलोपटक केरा नबिकेर समस्यामा छन्। उनले केरा खेतीका लागि प्रतिबिघा ४ लाख रुपैयाँ खर्च गरेका छन्।

लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता उनमा छ। ‘विगतमा साढे ५ रुपैयाँ कोसा बगानबाटै बिक्री गरेको थिएँ,’ उनले भने, ‘अहिले एक रूपैयाँमा लैजानू भने पनि मान्दैनन्।’ केरा बिक्री नभएपछि कृषकले भारतीय केरा आयात रोक्न माग गरेका छन्। उनीहरूले आगामी दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन्। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले छठ पर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरेका छन्।

‘छठ पर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौं,’ उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ।’ उनले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताए। दुई महिनाका लागि आवश्यक पर्ने ३ देखि ४ मेट्रिक टन केरा किसानका बगैंचामा तयारी अवस्थामा रहेको उनले बताए। यतिखेर नेपालमा दैनिक रूपमा केरा आयात हुँदै आएको छ। ‘भारतबाट आज पनि काठमाडौंमा सात गाडी केरा गएको छ,’ उनले भने, ‘भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन,’ अध्यक्ष पन्तले भने।

तत्काल भारतीय केरा आयात नरोके बगानमै सडेर जाने अवस्था रहेको उनको भनाइ छ। भारतीय केरा रोक्न सके जिनाइन ३६ रुपैयाँ दर्जन र मालभोग ४८ रुपैयाँ दर्जनमा दिन सकिने उनले बताए। ‘हाम्रो उद्देश्य यहाँको मूल्यवृद्धि गर्ने होइन, सर्वसुलभ बनाउने हो,’ उनले भने, ‘यसरी हामीले केरा बेच्न सक्यौं भने बजार मूल्य पनि कायम हुन्छ भन्ने विश्वास लिएका छौं।’ अहिले किसानले लागत पनि उठाउन सकेका छैनन्।

भारतीय केरा नल्याउन नेपालमा रहेका फलफूल व्यवसायीलाई समेत उनले अनुरोध गरेका छन्। ‘बारीभरि केरा पाकेका छन्। भारतीय केरा आयात तत्काल नरोकिए किसान आन्दोलित हुनेछन् र केरा खोसेर फाल्नेछन्,’ उनले भने, ‘व्यापारीलाई पनि भन्छौं, भारतबाट केरा नल्याउनुहोस्।’

नेपाल केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायीले चरणबद्ध आन्दोलन गर्ने बताए। ‘सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ।

यहाँ विभिन्न नाकाबाट बिनाएलसी भारतीय केरा अवैध रूपमा भित्रिएका छन्,’ उनले भने, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन्।’

भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउँछन्। ‘चितवनको केरामा गुणस्तर कम छ। त्रिवेणी क्षेत्रको केरा राम्रो छ,’ उनले भने, ‘किसानले भनेजस्तो होइन।’ चितवनको केराको गुणस्तर कम हुँदा बुटवल, काठमाडौंमा यहाँको केरा बिक्री नभएको उनले बताए। अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उनको भनाइ छ।  

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन्। नेपालको उत्पादन ३ लाख ८ हजार ३८८ मेट्रिक टन छ। यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

उनका अनुसार ४० प्रतिशत केरा भारतबाट निर्यात हुँदै आएको छ। देशभर केराको कुल माग ५ लाख १४ हजार ५० मेट्रिक टन रहेको छ। यहाँ २१ हजार ६३३ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। त्यसमध्ये चितवनमा २ हजार ७६ हेक्टर क्षेत्रमा केरा खेती हुन्छ। त्यसमा ४३ हजार १९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ।

नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ। चितवन, कैलाली, कञ्चनपुर, परासी, झापा, बारा, मोरङ, सुनसरी, रौतहट, बाँके, बर्दियामा केराको राम्रो उत्पादन हुँदै आएको छ।

प्रकाशित: २४ भाद्र २०७९ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App