६ वैशाख २०८१ बिहीबार
अर्थ

पर्यटन प्रर्वद्धन गर्न धरानमा ब्लाक हग राइडर्स मिट हुने

पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै आयोजक क्लब।

बुलेट बाइक चढ्ने युवाहरुको गेटअप सामान्य भन्दा केही फरक हुन्छ। समाजले उनीहरुलाई हेर्ने नजर पनि फरक नै छ। आफूलाई समाजले जे जस्तरी हेरे पनि धरानका बुलेट राइडरहरु विगत १० वर्षदेखि रोयल इन्टर्न इन्फिल्डर्स क्लब बनाएर संगठित भएका छन्, र विभिन्न सामाजिक, जनचेतनामुलक काम भने गरिरहेका छन्।

क्लबको आयोजनामा यही भदौ २४, २५ र २६ गते धरान १९ स्थित हरियाली सामुदायिक वनमा तीन दिने ब्लाक हग राइडर्स मिट हुँदैछ। मिटको मुख्य उद्देश्य धरान र आसपासको पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन गर्नु हो। मिटमा नेपाल, भारत, भुटान र आयरल्याण्डबाट पनि गरी करिब २ सय हाराहारीमा बुलेट राइडर्सहरु सहभागी हुने क्लबका अध्यक्ष योगेन राईले जानकारी दिए।

पत्रकार सम्मेलन गर्दे उनले भने, ‘हाम्रो मुख्य उद्देश्य मोटरसाइकलमार्फत् युवाहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने हो। साथै, धरान तथा आसपासको पर्यटन प्रर्वद्धन गर्ने पनि उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।’

सवारी दुर्घटना न्यूनीकरण गर्न साथै युवाहरुमा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना जगाउन पनि कार्यक्रमको उद्देश्य भएको क्लबको भनाइ छ। तीन दिनसम्म सहभागीहरुलाई धरानको परिचय तथा आतिथ्यता अनुभव गराउने, मौलिक संस्कृतिहरु साकेला, च्याब्रुङ र लाखे नाच देखाउने क्लबका सचिव बुद्ध लामाले जानकारी दिए।

यस्तै, सहभागीहरुलाई मौलिक खानाको परिकार पनि चखाइनेछ। धरानको कालो बंगुर चर्चित भएकोले यसैको यसपाली विशेष परिकार चखाइने क्लबको भनाइ छ। कालो बंगुरको पनि प्रर्वद्धनको लागि कार्यक्रमको नाम ब्लाक हग र लागोमा पनि कालो बंगुर राखिएको अध्यक्ष राईले बताए।

सहभागीहरुलाई धरानको प्रमुख धार्मिक पर्यटकीयस्थल विजयपुरका मठमन्दिर घुमाइनेछ भने भेडेटार र इच्छुकहरु बराहक्षेत्रसम्म पनि राइडमा जाने कार्यक्रम संयोजक लक्ष्मण राईले बताए। तीन दिनअवधिभर एडभेञ्चर खेलहरु, सांगीतिक कार्यक्रम, पुरस्कार तथा उपहार वितरण कार्यक्रम पनि गरिनेछ। सांगीतिक कार्यक्रमका संयोजक तथा चर्चित गायक डिल्ली फोम्बोका अनुसार स्थानीय व्याण्डहरुमार्फत् सांगीतिक प्रस्तुति हुनेछ।

कार्यक्रमको लागि २४ लाख ६० हजार आय र २३ लाख २६ हजार ७५० रुपैयाँ खर्चको अनुमान गरिएको छ। तर, मुख्य प्रायोजक एवं सहयोगी दाताहरु नभएकोले क्लबका सदस्यहरुबाट र इन्ट्री फिबाट संकलन भएको पैसाले कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष राईले बताए।

प्रकाशित: २१ भाद्र २०७९ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App