coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।

विभागले यही भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरेकोमा भदौ १५ गतेसम्ममा १६४ जना पर्यटकले आरोहण अनुमति लिइसकेको विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताए। उनले हालसम्म ६ वटा हिमाल आरोहण खुला गरेकामा सगरमाथा, धवलागिरी, मनासलु, हिमलुङ, सरिबुङ र न्युप्से हिमाल रहेको जनाए।  

विभागको तथ्याङ्क अनुसार ३५ महिला र १३२ जना पुरूषले हिमाल आरोहणको अनुमति लिएका छन्। जसमा सबैभन्दा बढी हिमाल आरोहण अनुमति लिनेमा अमेरिका पहिलो स्थानमा छ। तथ्याङ्क अनुसार कुल ३३ जनाले आरोहण अनुमति लिएकोमा २५ जना पुरूष र ८ जना महिला रहेका छन्।  

महानिर्देशक लुइटेलले सरकारले सबै पर्यटकहरू राष्ट्रका लागि उत्तिकै समान र महत्वपूर्ण भए तापनि हिमाल आरोहण गर्ने पर्यटकहरूले मुलुकको राजस्वमा थप योगदान दिने बताए। उनले भने ‘अन्य पर्यटकको तुलनामा हिमाल आरोहण गर्ने पर्यटकहरू खर्चिलो हुन्छन्। उनीहरूबाट संकलन हुने रोयल्टीले मुलुकलाई आर्थिक रूपमा थप बलियो बनाउँछ भने पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना गरेको छ।’

यस्तै अमेरिकापछि अर्जेन्टिना हिमाल आरोहण अनुमति लिनेमा दोस्रो स्थानमा रहेको छ। तथ्याङक अनुसार हालसम्म १४ पुरूष २ महिला गरी जम्मा १६ जनाले हिमाल आरोहण अनुमति लिएका छन्। यसपश्चात क्रमशः स्पेन, चीन, भारत, अरब लगायतका राष्ट्रहरूका नागरिकले बढी हिमाल अरोहणको अनुमति लिएका छन्।  

विभागको पर्यटन शाखा अधिकृत विज्ञान कोइरालाले कोभिडपछि हिमालहरूमा पर्यटकहरूको चासो बढेको बताउँदै हिमाल अनुमति लिनेको संख्याको आधारमा यो सिजनमा अघिल्लो सिजनभन्दा बढी पर्यटकहरू हिमाल चढ्ने बताए। उनले भने ‘पर्यटकहरूको हिमालप्रतिको मोह कोभिडपछि फेरि जुर्मुराएको छ। यसले थलिएको पर्यटन क्षेत्रलाई राहत पुग्ने संकेत दिएको छ।’  

विभागको तथ्यांक अनुसार गत वर्ष यस सिजनमा नेपालसहित ६७ देशका ८१ टिमले हिमाल आरोहणको अनुमति लिएका थिए। जसमा १ हजार २ सय १९ जनाले हिमाल आरोहण गर्नेमध्ये ६ सय ४७ जना स्वदेशी तथा ५ सय ६६ जना विदेशी नागरिक थिए। विभागको तथ्याङ्क अनुसार आरोहण गर्ने विदेशीमध्ये ५३२ जना पुरूष तथा ११५ जना महिला रहेका थिए।

विभागले वर्षमा दुई पटक हिमाल आरोहण गर्न अनुमति दिने गरेको छ। मार्च, अप्रिल, मे महिनामा पर्ने बसन्त र सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनामा पर्ने शरद ऋतुमा सरकारले हिमाल आरोहण खुला गर्नेगर्छ। यससँगै हिमाल शरद सिजनको हिमाल आरोहण रोयल्टी पहिलो हप्तामै २ करोड १३ लाख संकलन भइसकेको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App