१९ मंसिर २०७९ सोमबार
अर्थ

आयात घट्यो, व्यापार घाटामा सुधार

मुलुकमा व्यापार घाटा बढेर डलर सञ्चितिमा चाप परिरहेको बेला विदेशबाट आयात हुने वस्तुमा कमी आएको छ। नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयातमा कडाइ गरेपछि चालु आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटामा सुधार आएको छ।

हरेक वर्ष आयात बढ्दै गएको भए पनि चालु आर्थिक वर्ष ०७९÷८० को साउन महिनामा आयात १३ प्रतिशतले घटेको छ। आयातमा कमी आएसँगै मुलुकको व्यापार घाटामा सुधार आएर केही राहत भएको छ।

भन्सार विभागले मंगलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड रूपैयाँको वस्तु आयात भएको छ। यो पोहोरको तुलनामा १२.९० प्रतिशतले कमी हो। गत वर्षको सोही अवधिमा विदेशबाट १ खर्ब ५० अर्ब ७३ करोड रूपैयाँका वस्तु आयात भएको थियो।  

नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्ने नीति लिए पछि आयातमा कमी आएको हो। आयात घटेर अर्थतन्त्रलाई केही राहत पुगेको छ तर निर्यात भने सुधार हुन सकेको छैन। पोहोरको तुलनामा चालु आवको पहिलो महिनामा निर्यात २८.६८ प्रतिशतले घटेको छ। चालु आवको साउनमा १४ अर्ब ८० करोड रूपैयाँको वस्तु निर्यात भएको छ। गत वर्षको साउन महिनामा २० अर्ब ७६ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो।  

त्यस्तै गत वर्षको तुलनामा यो वर्ष व्यापार घाटा पनि कम भएको छ। साउन महिनामा नेपालले १ खर्ब १६ अर्ब ४७ करोड रूपैयाँ व्यापार घाटा रहेको छ। गत वर्षको सोही अवधिमा १ खर्ब २९ अर्ब ९६ करोड रूपैयाँ व्यापार घाटा थियो। मुलुकको एक महिनाको वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड रूपैयाँ छ।

धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। एक महिनामा ८ अर्ब ९८ करोड रूपैयाँको डिजेल, ६ अर्ब ३८ करोडको पेट्रोल, ५ अर्ब २७ करोड ८० लाख रूपैयाँको एलपीजी ग्यास आयात भएको छ। त्यसैगरी ६ अर्ब १९ लाख रूपैयाँको कच्चा भटमासको तेल, ४ अर्ब १६ करोड रूपैयाँको कच्चा पाम तेल आयात भएको भन्सार विभागले जनाएको छ।

गत वर्ष १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा पोहोर आयात २८.७ प्रतिशतले बढेको थियो। धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पन्ज आइरन, सुन, विलेट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तु छन्।

नेपाल राष्ट्र बैंकले विदेशबाट आयात हुने विलासिताका वस्तुको आयातमा कडाइ गरेकाले आयातमा गिरावट आएको हो।

स्वदेशमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको उत्पादन बढाउन सके व्यापार घाटा अझै घट्न सक्ने विज्ञहरू बताउँछन्। विदेशी विनिमय सञ्चिति घटेपछि राष्ट्र बैंकले गत वर्षदेखि नै आयातमा कडाइ गरेको थियो। कोभिडपछि विदेशी मुद्रा सञ्चिति घटेर लगातार ओरालो लागेपछि अर्थतन्त्रमा समस्या देखिएको थियो। राष्ट्र बैंकले केही वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन र केहीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। यही कडाइले अहिले आयातमा कमी देखिएको छ। चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्सा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था छ।

औद्योगिक प्रयोजनका लागि प्रयोग हुने कच्चा पदार्थ, स्वदेशमा उत्पादन नहुने वस्तु आयात गरे पनि यहाँको खेतबारीमा उत्पादन हुने कृषिजन्य वस्तु आयात घटाउन सके व्यापार घाटा अझै घट्न सक्छ। गत वर्ष एक वर्षको अवधिमा ३ खर्ब ४१ अर्ब रूपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको थियो। यो वर्ष पनि कृषिजन्य वस्तुको आयातमा निरन्तरता छ।

नेपालीको भान्सामा पाक्ने चामलदेखि माछा–मासु, तेल, प्याज, आलुदेखि धनियासम्म विदेशबाट आयात हुन्छ। कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि ५ वर्षको अवधिमा कृषि तथा पशुजन्य वस्तुको आयात दोब्बर बढेको छ। आर्थिक वर्ष ०७८÷७९ मा मात्र ३ खर्ब ४१ अर्ब ५१ करोड रूपैयाँको वस्तु आयात भएको छ। मन्त्रालयका अनुसार चामल मात्र ४७ अर्ब ५७ करोड रूपैयाँको आयात भएको छ।  

सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिँदैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण नहुँदा कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ। यसले पनि व्यापार घाटा बढाएको छ।

खेतबारीमा फल्न सक्ने धान, मकै, गहुँ, आलु, केरा, स्याउ लगायतका वस्तु विदेशबाट आयात भैरहेको छ। उच्च हिमाली क्षेत्रमा आलु उत्पादन गर्न सकिने भए पनि ८ अर्ब १९ करोडको आलु आयात भएको छ। तरकारी, फलफूल, चिया, कफी, प्याज, अदुवा, लसुन, बेसार, अलैंची तेलहन बालीअन्तर्गत मसुरो, चना, रहर, मास, भट्टमास लगायतका बालीले पनि राम्रो उत्पादन दिन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था छ। 

प्रकाशित: ८ भाद्र २०७९ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App