८ वैशाख २०८१ शनिबार
अर्थ

मलको हाहाकार: बिचौलिया हावी भएको किसानको गुनासो

मल पाउनुपर्ने माग गर्दै कृषि सामग्री कम्पनीको सिन्धुलीस्थित कार्यालयमा पुगेका किसान। कार्यालयमा कडा सुरक्षा दिएर मल भण्डारण गरिएको छ। तस्बिर: अनिल/नागरिक

सिन्धुलीमा ६ महिनापछि युरिया मल आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडमा ६ महिनापछि युरिया मल आएको हो। गत फागुनबाटै वैधानिक रूपमा युरिया मल नआएपछि किसानहरू हैरान थिए। ६ महिनापछि आएको मल पनि पाउन नसकेको भन्दै किसानले कम्पनीको गेटमै नाराबाजी गरेका छन्।

लामो समयपछि आएको युरिया मल कडा सुरक्षाका बीच कृषि सामग्री कम्पनी सिन्धुलीमा गोदाम गरिएको छ। किसानहरू कम्पनीबाट सिधै मल पाउनुपर्ने भन्दै गेटमा पुगेपछि मल जफत हुने डरले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले सुरक्षा दिएर मल गोदाम गरिएको हो। मल सहकारी मार्फत मात्रै किसानले लैजान सक्ने भन्दै कृषि सामग्रीले किसानलाई मल नदिएको किसानहरूको गुनासो छ।

हामीलाई मल दिइएन, स्थानीय किसान कृष्ण अधिकारीले भने-मलमा बिचौलिया हावी भएका छन्। उनले मलको हाहाकार भएको समयमा थोरै आएको मल सहकारी मार्फत वितरण गर्ने भन्दै बिचौली मार्फत किसानलाई दिने तयारी गरिएको आरोप लगाए। ‘यहाँभन्दा सहकारीमा महँगो पर्छ’, उनले भने-‘हामीलाई यहींबाट दिने व्यवस्था गरियोस्।’ 

किसानहरू मल पाउनुपर्ने भन्दै कम्पनी परिसरभित्र गएपछि सुरक्षाकर्मीले किसानलाई गेट बाहिर निकालेका थिए। कम्पनीले १० हजार बोरा मल कम्पनीमा आउने र त्यसमध्ये ६३ सय बोरा युरिया मल आइसकेको र बाँकी आउने क्रम जारी रहेको बताएको छ।

कम्पनीका कार्यालय प्रमुख नवराज महतका अनुसार गत फागुनदेखिनै युरिया मल आएको थिएन तर अहिले दश हजार बोरा युरिया मल आएको छ। उनले सरकारको नियमअनुसारनै स्थानीय तहको सिफारिसमा कृषि सहकारीमार्फत मल वितरण हुने प्रक्रियामा रहेको र सोही अनुसार कार्यालयले व्यवस्था मिलाएको बताए। उनले किसानको माग र आवश्यकता भन्दा निकै कम मल आएकाले समस्या भएको बताए।

कम्पनीको गोदाममा भण्डारण गरिएको मल स्थानीय तहको सिफारिसका आधारमा विभिन्न कृषि सहकारीलाई उपलब्ध गराइने र सहकारीमार्फत किसानले पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। ‘कृषि सामग्री केन्द्रबाट वितरण गर्न सम्भव हुँदैन’, उनले भने-‘मल निकै कम आएको छ त्यसैले आवश्यकतालाई प्राथमिकीकरण गरेर सहकारीमार्फत वितरण हुनेछ।’ किसानहरूले भने कृषि सामग्री केन्द्रबाट सिधै मल पाउनुपर्ने माग राखेको थिए। कृषि सामग्री केन्द्रको कार्यालय र कमलामाई नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए।

कृषि सामग्री केन्द्रको सिन्धुलीस्थित कार्यालय मार्फत सिन्धुली रामेछाप र दोलखामा मल वितरण हुने कार्यालयले जनाएको छ। सोही अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाले पाउनुपर्ने जति मल आवश्यकताका आधारमा नगरपालिका भित्रका सहकारीमा पठाउने निर्णय भएको जानकारी कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले दिए।

युरिया मल कृषि सामग्री कम्पनीमा १६ हजार ९ सय ४० रूपैयाँ प्रतिमेट्रिकटन पर्ने र सहकारीमार्फत किसानहरूले ढुवानी खर्च र थप प्रतिबोरा ५० रूपैयाँ कार्यालय सञ्चालन खर्च थपिने भएकाले सोही अनुसार हुने कार्यालयले जनाएको छ। स्थानीय निकायबाट सिफारिस भएका सहकारीले मात्रै मल वितरण गर्न पाउने व्यवस्था रहेको कार्यालय प्रमुख महतले जनाए। 

प्रकाशित: ८ भाद्र २०७९ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App