७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रजापति प्यानलसहित चुनावी मैदानमा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार पवनकुमार प्रजापतिले प्यानल घोषणा गरेका छन्। संघको अध्यक्षमा यसअघि नै सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका प्रजापतिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर संघको नया नेतृत्वका लागि प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २४ र २५ गते पोखरामा हुने ३४ औं महाधिवेशनले नया नेतृत्व चयन गर्दैछ। संघको नया नेतृत्वका लागि अध्यक्षमा प्रजापतिसँगै अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। प्रजापतिले प्यानल घोषणा गरेपनि पोखरेलले प्यानल घोषणा गरिसकेका छैनन्।संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापति वर्तमान बरिष्ठ उपाध्यक्ष हुन्। १० वर्षअघि सदस्यबाट संघको कार्यसमितिमा प्रवेश गरेका प्रजापती कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन्।

प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डित, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला र उप–महासचिवमा शोभा गौतमले उम्मेदवारी दिने भएका छन्। प्रजापति प्यानलको पदाधिकारी घोषणा गरिएपनि सदस्यहरु भने घोषणा गरिएको छैन। सदस्यमा दश जनाको मात्रै उम्मेदवारी दिनुपर्ने भएपनि आकांक्षी बढी भएकाले मिलाउन सकश हुँदा प्यानलमा सदस्यको उम्मेदवार घोषणा गर्न नसकिएको अध्यक्षका उम्मेदवार प्रजापतिले बताए।

प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका कार्की वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन्। त्यस्तै, उद्योगतर्फका उपाध्यक्ष पण्डित यसअघि दुई कार्यकाल कार्यकारिणी सदस्य भइसकेका उद्योगी हुन् भने वाणिज्य तर्फका उपाध्यक्ष बुद्धाचार्य वर्तमान कार्यकारिणी सदस्य हुन्। यसैगरी महासचिवमा उम्मेदवार बनेका बलराम आचार्य वर्तमान कोषाध्यक्ष हुन्। उप–महासचिवको उम्मेदवार बनेकी शोभा गौतम वर्तमान कार्यकारिणी सदस्य हुन्।

यसैबीच, प्रजापति समूहले चुनावी प्रतिबद्धतापनि सार्वजनिक गरेको छ। 'संघको जिवन्तताः व्यवसायीक विकासको अभियन्ता' नारासहित प्यानल घोषणा गरेको प्रजापति समूहले व्यावसायीक वातावरण निर्माण र उद्योगी÷/व्यवसायीहरुको सम्मान अभिवृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यस्तै डाटा बैंक स्थापना तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना, रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायको पुनरुत्थानका लागि बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने, नया व्यवसाय सञ्चालन गर्नेलाई आवश्यक परामर्श र तथ्याङ्क उपलब्ध गराउने, नवप्रवर्तन र महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर त्यसका लागि आवश्यक प्रविधि, पुँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र खोल्ने अध्यक्षका उम्मेदवार प्रजापतिले बताए।

अन्र्तराष्ट्रिय सहर सुहाउँदो संघ बनाउनका लागि आर्थिक रुपमा अब्बल बनाउने विभिन्न कार्यक्रम सञ्चालन, नियमित आम्दानी आउने वातावरण, बहुउद्देश्यीय भवन निर्माण गर्ने, सचिवालयलाई प्रविधिमैत्री बनाउँदै संघका सम्पूर्ण सदस्यलाई घरमै आवश्यक सूचना र सहयोग पुग्ने प्रणालीको विकास गर्ने, संघलाई साना, मझौला र ठूला उद्योगी तथा महिला व्यवसायीहरुको साझा संस्था बनाउने प्रजापति समूहको प्रतिबद्धतामा उल्लेख छ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अर्जुन पोखरेलले भने प्यानल बनाईसकेका छैनन्। यसअघि प्यानल नबनाउने घोषणा गरेका पोखरेल अहिले प्यानल निर्माणमा जुटेका छन्। यद्वपी उनले केहि पदमा प्रजापति प्यानलकै उम्मेदवारलाई समर्थन गर्दै आंशिक उम्मेदवार सहितको प्यानल निर्माण गर्ने तयारी गरिरहेको बुझिएको छ।

प्रकाशित: ६ भाद्र २०७९ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App