७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रधानमन्त्रीद्वारा छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन, मेला ६ गतेसम्म चल्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार छैठाैं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्द्घाटन गरेका छन्। नेपाल महिला उद्यमी महासंघले मेलाको आयोजना गरेको हो।  

ललितपुरको हेरिटेज गार्डेनमा बिहीबारबाट सुरु भएको उक्त मेलामा नेपालसहित भारत, बंगलादेश, फ्रान्स, अमेरिकालगायतका देशका महिला उद्यमीहरुको सहभागीता छ। उक्त मेला भदौ ६ गतेसम्म संचालन हुनेछ।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। गणेश बन्धना नृत्यबाट सुरु भएको उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री देउवाले दिप प्रज्वलन गरेर औपचारिकता दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरे। उनले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको बताए। प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘अर्थतन्त्रमा नीजि क्षेत्रका योगदान महत्वपूर्ण छ। निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना गरेको हो’, उनले भने।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय तथा सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताए। उनले व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए।

‘स्वदेशी उत्पादनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार छ’, उनले भने। देउवाले जम्ला, हुम्ला, डडेल्धुरा जस्ता विकट जिल्लाहरुबाट पनि उद्यमशील महिलाहरु सहभागी भइ आफ्ना उत्पादनहरु प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुसी लागेको बताए।  

‘यस्ता व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक छ। यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ। यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ’, उनले भने। मेलामा प्रधानमन्त्री देउवाले उत्कृष्ट ३ माहिला उद्यमीलाई सम्मान गरेका छन्। उद्यमशीलताको क्षेत्रमा पर्यटन, सामाजीक र हस्तकला क्षेत्रबाट देशको आर्थीक वृद्धिका लागि योगदान पुर्‍यार्उने अम्बिका श्रेष्ठ, बसु माया तामाङ र सर्मिला लामालाई सम्मान गरिएको हो। साथै प्रधानमन्त्री देउवाले महासंघले २०११ साल देखि निकाल्दै आइरहेको इन्टरप्राइजिङ नेपाल म्यागजिनको ११ औं संस्करण विमोचन गरेका छन्।

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरू रायमाझी खत्रीले सातै प्रदेशका महिला उद्यमीहरुलाई एकीकृत गराई उनीहरुले उत्पादन गरेको सामग्री यस मेलामा प्रदर्शन गर्न पाउँदा गर्व लागेको बताइन्। उनले दार्चुला, कैलाली, हुम्ला खोटाङ, जुम्ला जस्ता अन्य दुर्गम जिल्लाका महिला उद्यमीहरुले निकै चुनौती भोग्नु परेको बताइन्।  

‘केही महिना अघिदेखि नै हामीले यसको आयोजना गर्ने सिलसिलामा धेरै दौडधुप र प्रयास गरेका थियौं। कम लागत, कम ज्ञान, कम सीप, कम प्रविधिमा बनाइएका भएपनि मेलामा सबै उच्च स्तरीय कै सामानहरु छन्। यस्ता उत्पादनलाई अझ गुणस्तरीय बनाउन सकियो भने स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातको संभावना छ। यसलाई आत्मसाथ गर्न क्षमता अभिवृद्धि र बजार व्यवस्थापनको ठूलो खाँचो छ’, उनले भनिन्।

खत्रीले उद्यमीहरुको उत्पादनलाई अझ बढी गुणस्तर बनाउन र ठूलो मात्रामा उत्पादन गर्न, बजार व्यवस्थापन गर्न नेपाल सरकार र निजी क्षेत्रहरु नजिक भएर काम गर्न आवश्यक रहेको बताइन्। उनले महिला उद्यमीहरुलाई बजार व्यवस्थापनका लागि एक स्थायी भवन र जग्गा आवश्यक रहेको प्रधानमन्त्री देउवालाई जानकारी गराएकी थिइन्।

उनले महासंघको उद्देश्य देशका हरेक क्षेत्र र हरेक जिल्लाका उत्पादनहरुलाई प्रदर्शन, बिक्री वितरण गर्न, सबैलाई एउटै छाता मुनि ल्याएर त्यसको प्रसार गर्ने र विभिन्न ठाउँबाट घुम्न आउने पर्यटनलाई हस्तकला सामग्री उपलब्ध गराउने रहेको बताइन्।

नेपाल महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले मेलाको उद्देश्यमाथि प्रकाश पार्दे भनिन्, ‘यो मेला राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुलाई उत्पादनका लागि प्रयाप्त अवसर प्रदान गर्न, संजाल निर्माण गर्न, सिपको आदान प्रदान गर्न तथा उत्पादनलाई प्रोत्साहन गर्न एउटा प्ल्याटफर्म तयार गर्ने उद्देश्यले गरिएको हो।’ उनले नेपालमा उत्पादन भएका वस्तु, हस्तकलाको आन्तरिक बजार, यस्ता वस्तु तथा सामग्रीहरुको निर्यात र प्रवर्द्धन गर्ने महिला उद्यमी महासंघको प्रमुख उदेश्य रहेको बताइन्।

प्रथम उपाध्यक्ष ज्ञवालीले मेलामा ढाकाका सामानहरु, स्वदेशी तथा बिदेशी खानेकुराहरु, कृषि जन्य उत्पादनहरु, पुष्प सामग्रीहरू, जडिबुटि, सजावटका सामानहरु लगायत अन्य आकर्षण रहेको जानकारी दिइन्। उनका अनुसार सातै प्रदेशका जिल्लाहरूका उत्पादन, उनीहरुको सिप, सिर्जनालाई आगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिगो पहिचान बनाउने भूमिका महासंघले निर्वाह गर्दै आएको छ।  

पाँच दिनसम्म चल्ने मेलामा २ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको ज्ञवालीले जानकारी दिइन्। ‘मेला ५५ हजार सर्वसाारणले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलाले महिलाहरुको दिगो विकासको लागि अन्तराष्ट्रिय देशहरुमा पनि सम्पर्क बढउने अपेक्षा गरिएको छ।

मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको पनि सहभागिता छ। मेलामा हस्तकलाका सामानहरू, प्राकृतिक रेशाजन्य वस्तु, ढाका, हाते कागजका वस्तुहरू, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरू, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू प्रदर्शनीमा राखिएको छ।

एक सय ९ स्टल रहेको मेलामा नेपालका उद्यमीसहित भारत, बंगलादेश, पाकिस्तानका महिला उद्यमीहरू सहभागी छन्। नेपाल महिला उद्यमी महासंघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको सामूहिक प्रयासको प्रतिनिधित्व गर्ने उद्देश्यले खोलिएको गैर नाफामुखी संस्था हो। यो सन् १९८९ मा ललितपुरमा स्थापना भएको हो। महासंघले यसअघि पनि यस्ता मेलाको आयोजना गर्दै आएको छ। मेलामा ५९ जिल्लाका महिलाहरु सहभागि थिए।

प्रकाशित: २ भाद्र २०७९ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App