७ वैशाख २०८१ शुक्रबार
अर्थ

ट्रायलमा ७० अंकको व्यवस्था लागु गर्न सातै प्रदेशका मन्त्री तयार

संघीय सरकार मातहतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका अब मुलुकभरका सातै वटा प्रदेशले कार्यान्वयन गर्ने भएका छन्। यसअघि बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशले लागू गर्न आनाकानी गर्दै आइरहेका थिए।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको नेतृत्वमा सोमबार सिंहदरबारमा सातै प्रदेशमा यातायात मन्त्री र सचिव स्तरीय छलफल कार्यक्रममा सातवटै प्रदेशका मन्त्रीले ७० अंकको ट्रायल लागू गर्न तयार भएका हुन्। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले सातवटै प्रदेशका मन्त्रीले ७० अंकको ट्रायल लागू गर्ने विषयमा सहमति जुटेको जानकारी दिए।

‘संघीय भौतिक पूर्वाधार तथा यातयातको पहलमा सातवटै प्रदेशको मन्त्री तथा सचिव स्तरीय बैठकले ७० अंक ल्याएको ट्रायल परीक्षा सञ्चालन गर्ने सहमति जुटेको छ’, उनले भने– ‘सोमबार बसेको बैठकले ११ बुँदे सहमति गरेको छ।’ प्रवक्ता पोख्रेलले केही समयभित्रै ७० प्रतिशत अंक ल्याएर पास हुने ट्रायल लागू हुने बताए।  

संघीय सरकारले निर्देशिका ल्याएको १४ महिना बित्दासमेत बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशले लागु गरेका थिएनन्। यद्यपि गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर एकले यो प्रावधान लागु गरिसके पनि तीन वटा प्रदेशले भने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेका थिए।  

अहिले चार वटा प्रदेशमा ट्रायलमा ७० अंक ल्याउने व्यक्तिले अहिले सवारी चालक अनुमति पत्र पाइरहेका छन् तर बागमती, मधेश र कर्णाली प्रदेशमा भने यो प्रावधान लागु गरिएको छैन। आधाभन्दा धेरै प्रदेशमा मुलुकभर लागु भएको यो प्रावधान बागमती, मधेश र कर्णाली प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालय केहीले मात्र लागु नगर्नुलाई आर्थिक जोहो गर्ने माध्यमका रूपमा हेरिएको थियो। भौतिक मन्त्रालयले १४ महिनाअघि २०७८ जेठ १ गतेदेखि लागु हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो। यसमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए पास हुने गरी प्रावधान राखिएको छ। 

अब सार्वजनिक बिदा वा कार्यालयबाहेकको समयमा पनि ट्रायल लिन सकिने

बागमती प्रदेश मातहतका यातायात कार्यालयमा अबदेखि सार्वजनिक बिदा वा कार्यालयबाहेको समयमा पनि सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा लिन सकिने भएको छ। मन्त्रालयका प्रवक्ता पोख्रेलले बागमती प्रदेशले सवारीचालक अनुमतिपत्रको ट्रायल दिने सेवाग्राहीको संख्या उच्च भएकाले शनिबार पनि ट्रायल सञ्चालन गर्ने बाटो खुलाएको बताए। ‘हामीले प्रदेश मातहतका यातायात कार्यालयलाई शनिबार पनि ट्रायल सञ्चालन गर्न सक्ने प्रावधान ल्याएका छौं’, उनले भने– ‘मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७८ ल्याएका छौं।  

यो कार्यविधिले सार्वजनिक बिदाको समयमा ट्रायल परीक्षा सञ्चालनको लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेकाले पनि कार्यान्वयन गर्न सहज हुनेछ।’ कार्यविधिमा कार्यालय समयभन्दा बाहेक र सार्वजनिक बिदाका दिनमा परीक्षा सञ्चालनमा खटिने कर्मचारीलाई प्रतिसिफ्ट प्रोत्साहन भत्ताको ५० प्रतिशत थप भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ।  

सो कार्यविधिमा कार्यालय समयभित्र लिइने सबै वर्गको गरी पाँच सय जनाको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनको लागि भने थप भत्ता उपलब्ध गराइने छैन। 

प्रकाशित: २६ श्रावण २०७९ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App