६ वैशाख २०८१ बिहीबार
अर्थ

भरतपुर महानगरद्वारा दूधमा ९ करोड बढी अनुदान

भरतपुर महानगरपालिकाले दूधमा नौ करोड बढी अनुदान रकम वितरण गरेको छ। दूधको उत्पादनको आधारमा अनुदान दिँदै आएको महानगरपालिकाले पाँच वर्षको अवधिमा किसानलाई नौ करोड २४ लाख ६ हजार ३८३ रुपैयाँ वितरण गरेको हो।

दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यका साथ महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ सालबाट अनुदान दिँदै आएको छ। सुरुवाती दुई वर्ष प्रति लिटर २५ पैसा अनुदान दिँदै आएको महानगरपालिकाले आव २०७६/०७७ र २०७७/०७८मा किसानलाई एक रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो।

गत आव २०७८/०७९देखि अनुदान रकम बढाएर महानगरपालिकाले  प्रतिलिटर तीन रुपैयाँ पुर्‍याएको छ। महानगरले सहकारी तथा कृषक फर्ममाफर्त् रकम उपलब्ध गराउँदै आएको छ। गत आवमा ५४ सहकारी र १३ वटा निजी व्यवसायिक फर्ममार्फत् आठ हजार ७४८ किसानलाई अनुदान रकम उपलब्ध गराइएको भरतपुर महानगरका पशु शाखा प्रमुख मेघराज ढकालले जानकारी दिए।

उनका अनुसार, गत आर्थिक वर्ष पाँच करोड ३८ लाख ६८ हजार १७७ रुपैयाँ किसानले अनुदान पाएका छन्। सो आवमा एक करोड ७९ हजार ५६ हजार ५९ लिटर दूधमा किसानले अनुदान पाएको उनले बताए। अघिल्लो आव २०७७/०७८मा एक करोड ५८ लाख ६७ हजार ८४८ रुपैयाँ अनुदान रकम वितरण गरिएको थियो।

पहिलो वर्ष ३३ लाख ९९ हजार ४७३ रुपैयाँ अनुदान रकम दिएको महानगरपालिकाले दोस्रो वर्ष अर्थात २०७५/०७६मा घटेर ३१ लाख ६२ हजार ४० रुपैयाँमात्र किसानले रकम प्राप्त गरेका थिए। सो वर्ष किसानको संख्या र दूधको उत्पादन समेत घटेको थियो। २०७४/०७५ मा एक करोड ३५ लाख ९७ हजार ८९२ लिटर दूध उत्पादन भएकोमा आव २०७५/०७६मा १ करोड २६ लाख ४८ हजार लिटर मात्रै दूध उत्पादन भएको शाखा प्रमुख ढकालले बताए।

दूधमा अनुदान रकम लिने किसानहरु समेत बढ्दै गएका छन्। उत्पादन वृद्धि गरी आत्मनिर्भर हुने र निकासी गर्ने लक्ष्यका साथ राखिएको कार्यक्रम प्रभावकारी समेत भएको उनले बताए। 'एक जना किसानले एक लाख १५ हजार रुपैयाँसम्म अनुदान पाउनुभएको छ, सरदरमा हेर्दा ४० देखि ६० हजार रुपैयाँ अनुदान रकम बुझ्ने किसानहरु धेरै हुनुहुन्छ,’ ढकालले भने, ‘साना र ठुला दुवै किसानलाई यो कार्यक्रम एकदमै फाइदाजनक छ।’

महानगरले दूधमा अनुदानका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आएको छ। तर, उत्पादनका आधारमा दूधमा अनुदान पाएपछि किसानहरु समेत खुशी छन्। भरतपुर–१३की किसान विष्णु बस्नेत अनुदान रकमले आफूहरुलाई उत्साहित बनाएको बताइन्। ‘चार वर्षअघि दूधमा त्यति फाइदा थिएन। दुई वटा गाई मात्र पालेका थियौँ। अहिले ९ वटा गाई  पुगेका छन्,’ उनले भने, ‘अनुदान रकमले केही राहत मिलेको छ। यो वर्ष तीन वटा गाई थप्ने सोच बनाएका छौँ।’

उनले गत वर्ष १४ लाख ५७ हजार रुपैयाँको दूध बेचेको सुनाइन्। ‘१९ हजार लिटर दूध बिक्रि गरिएको थियो। महानगरपालिका र प्रदेश सरकारले दिने अनुदान मात्रै ८८ हजार रुपैयाँ आएका छ,’ उनले भनिन्, ‘हामीलाई अनुदानले प्रोत्साहन गरेको छ।’ बागमती प्रदेश सरकारले दूधमा प्रतिलिटर एक रुपैयाँ ६३८ पैसा र भरतपुर महानगर पालिकाले ३ रुपैयाँ अनुदान दिँदै आएको छ। भरतपुर महानगरपालिका दूधमा आत्मनिर्भर छ। यहाँ दैनिक ९५ हजार दूध उत्पादन हुन्छ।

त्यसमध्ये ५२ प्रतिशत दूध आधिकारिक च्यानलमार्फत् बिक्री हुँदै आएको पशु शाखा प्रमुख ढकालले बताए। बाँकी दूध स्थानीय डेरी पसलमार्फत् होटल, पसल तथा घरहरुमा बिक्री हुँदै आएको छ। आधिकारीक च्यानलमा संकलित हुने दूधमध्ये ५० देखि ६० प्रतिशतसम्म काठमाण्डौँ र पोखरामा दूध निकासी हुने उनले जानकारी दिए। अनुदानलाई वृद्धि गर्दै लगेपछि महानगरपालिकामा दूध उत्पादनसमेत बढी हुँदै आएको छ। 

प्रकाशित: २५ श्रावण २०७९ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App