७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘अर्थतन्त्र सुधारमा साना तथा मझौला उद्योग अपरीहार्य’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्र सुधारको लागी स्थानीय स्तरमा रहेका साना तथा मझौला उद्योगहरूको भूमिका अपरिहार्य रहेको बताएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको सहजीकरणमा दार्चुलाका तीन जना अल्लो उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री बडूले उद्योगको क्षेत्रमा स्थानीय घरेलु तथा साना उद्योग र कृषिको उत्पादन बढाउनुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको बताए । ‘मुलुकको अर्थतन्त्रसँग जोडिएको उत्पादन घट्दो अवस्थामा छ’, मन्त्री बडूले भने– ‘उत्पादन नबढ्दा आत्मनिर्भर अर्थतन्त्र हुन सकेको छैन, निकासी बढाउनुपर्ने आवश्यकता रहेकोमा उत्पादन समेत बढ्न सकेको छैन।’  

चालु आर्थिक वर्षदेखि नेपाल सरकारले उत्पादन अभिवृद्धिका लागि विशेष अभियान सञ्चालन गरिएको मन्त्री बडूको भनाइ थियो। उनले उद्योग मन्त्रालयमार्फत प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा अभिवृद्धि कार्यक्रम सञ्चालन गरेर उत्पादनको क्षेत्रमा १० वर्षे विशेष अभियान थालनी गर्ने योजना रहेको र देशको अर्थतन्त्र बलियो बनाउन साना, घरेलु र मझौला उद्योगहरूलाई बलियो बनाउनु जरूरी रहेको बताए।

दार्चुलाका उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गर्दै उनले भने ‘साना तथा मझौला उद्योगहरू ठूला उद्योगका निम्ति मेरूदण्ड हुन्। साना उद्योगहरूको विकास गर्न सके मुलुकको समग्र अर्थतन्त्रको जरामा पानी हालेजस्तै हुनेछ।’ सरकारले उत्पादन र निकासी दुबैलाई बढाउनुपर्ने आवश्यकता महसुस गरेको छ, मन्त्री बडूले थपे– निकासी प्रवद्र्धनका लागि उत्पादन राम्रो र गुणस्तरको हुनु आवश्यक छ। पराम्परागत ढंगले चलिरहेका उद्योगहरूलाई प्रविधिसँग जोड्न सकियो भने अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने हुन्छ। दार्चुलाको अल्लो उत्पादनले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पाउन सकोस् भन्ने उद्देश्यले उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको मन्त्री बडूको ठहर छ।

प्रकाशित: २५ श्रावण २०७९ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App