७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतसँग सीमा जोड्ने व्यापारिक सडक एक दशकदेखि बेहाल

सरकारले भारतको सिमाना बेलहियादेखि बुटबलसम्मको २७.५ किलोमिटर सडक विस्तार गर्न थालेको एक दशक बितिसक्यो तर अहिलेसम्म यो खण्डको सडक स्तरोन्नति गर्ने काम सकिएको छैन। सरकारले २०६८/६९ देखि यो सडकखण्डलाई क्रमागत योजनाको रूपमा ठेक्का व्यवस्थापन गर्दै आइरहेको छ। त्यो बेला यो सडक खण्डको विस्तारको लागि ५ अर्ब ९२ करोड रूपैयाँ लागत रहेको थियो।  

बेलहिया–बुटवल सडक योजना प्रमुख दिपककुमार झाले २७.५ किलोमिटरमध्ये अहिलेसम्म साढे तीन किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको बताए। ‘यो सडक खण्डको विस्तार अदालतको स्टेअर्डरको कारणले धेरै वर्षसम्म रोकिएको थियो,’ उनले भने, ‘अहिले अदालतले स्टेअर्डर फुकुवा गरेसँगै सडक विस्तारको काम अघि बढेको छ।’ यो सडकखण्डको स्तरोन्नति सडकको मापदण्ड विवाद र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारणले लामोसमयसम्म रोकिएको थियो। योजना प्रमुख झाले बाँकी रहेको साढे तीन किलोमिटर सडक खण्ड चालु आर्थिक वर्षभित्रै सकिने दाबी गरे। ‘यो सडकखण्ड एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने– ‘सम्भवतः एक वर्षभित्रै सकिनेछ।’ यो आयोजनाको २०६९ असार मसान्तसम्मको अवधिमा ८० प्रतिशत प्रगति भएको काम १० वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन। काम साढे तीन किलोमिटर बाँकी नै छ। यो सडक विस्तारसँगै ९ वटा आकासे पुल निर्माण गर्ने योजना रहेको थियो। ९ वटामध्ये अहिलेसम्म ५ वटा तयार भइसकेका छन्। बाँकी ४ वटा आकासे पुलको निर्माण कार्य जारी छ। वीरगन्ज नाका पछि दोस्रो धेरै सामान आयात हुने नाकाको रूपमा भैरहवा भन्सार नाका यही सडक खण्ड अन्तर्गत पर्दछ। यो सडकको सडक सीमा ५० मिटर रहेको छ।  

सरकारले आव २०७१/७२ मा जटही जनकपुर ढल्केबर सडक ४० किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने योजना अघि सारेको थियो। सडक विभागले आव २०७०/७१ देखि क्रमागत योजना अन्तर्गत ठेक्का विस्तार हुँदै आइरहेको छ। यो सडकखण्डको कुल लम्बाइ ३९.९ किलोमिटर रहेको छ तर यो सडकखण्ड विस्तार भएको आठ वर्ष बित्दासमेत अहिलेसम्म सम्पन्न हुन सकेको छैन। जटही–जनकपुर सडक योजनाका निमित्त प्रमुख राम टहल यादवले ३९.९ किलोमिटरमध्ये चार सय मिटर सडक मात्रै विस्तार गर्न बाँकी रहेको बताए। ‘जनकपुरको बस्ती क्षेत्रमा करिब ४ सय मिटर सडक विस्तार गर्न मात्रै बाँकी छ,’ उनले भने– ‘सडक मापदण्डको विवादको कारणले यो खण्डको काम अवरूद्ध हुँदै आइरहेको छ।’ सडक विभागका अनुसार मधेश प्रदेशको राजधानी जनकपुरलाई भारतको जटही सीमानाका र पूर्वपश्चिम राजमार्गको ढल्केबरसँग जोड्ने हुँदा यो सडकले औद्योगिक तथा व्यापारिक क्षेत्रको प्रवद्र्धन गर्न सघाउ पुर्‍याउने लक्ष्यसहित विस्तार गर्न लागेको हो।

यो आयोजना स्तरोन्नति ६ अर्ब ९१ करोड लागतमा गर्न लागिएको हो। योजनाका निमित्त प्रमुख यादवले यो योजना चालु आर्थिक वर्षको चैत मसान्तभित्र बाँकी रहेका सडकखण्डको निर्माण सकिने बताए। ‘नेपालले यो खण्डमा ६ लेनको सडक लगभग अन्तिम चरणमा पुर्‍याइसकेको छ,’ उनले भने– ‘भारतको जटहीतर्फ भने दुई लेनको सडक मात्रै छ। त्यसैले पनि दुवैतर्फ मात्रै विस्तार गरेका खण्डमा उपयुक्त हुने देखिन्छ।’  

वीरगन्ज पथलैया सडकको आठ किलोमिटरमा विवाद  

सरकारले २०७२/७३ मा नेपालको मुख्य नाका वीरगन्ज–पथलैया सडक ६ लेनको सडक विस्तार गर्ने अभियान सुरूवात गर्‍यो। यो योजना अनुसार बारा–पर्सा हुँदै भारतको रक्सौलसम्म ३९.२८ किलोमिटर सडक स्तरोन्नति गर्ने अघि बढाइएको थियो। ३९.२८ किलोमिटरमध्ये ८ किलोमिटर सडकखण्डको अहिलेसम्म पनि ठेक्का सम्झौता हुन सकेको छैन।  

वीरगन्ज पथलैया सडक विस्तार योजनाका प्रमुख मनिषकुमार साहले करिब ३९.२८ किलोमिटरमध्ये अहिलेसम्म मुआब्जा र क्षतिपूर्तिको विवादको कारणले ८ किलोमिटर सडक विस्तार हुन नसकेको बताए।

प्रकाशित: २४ श्रावण २०७९ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App